यज्ञप्रसाद सापकोटा
गुलरिया (बर्दिया), साउन ३० गते । बढैयाताल गाउँपालिका–६ भित्र रहेका पाँच वटा सहकारीले एकै पटक मल वितरणका लागि गत साउन २७ गते सूचना जारी गरे । बुधबार राति २ बजेदेखि कृषक मल खरिद गर्न लाइनमा बसे । प्रतिकिसान २५ किलोग्राम मल उपलब्ध गराउने सूचना जारी गरिएको भए पनि अत्यधिक चाप भएपछि मल वितरण नै गरिएन । आधा रातदेखि लाइनमा बसेका किसान रित्तो हात फर्कन बाध्य भए ।
किसानलाई तोके अनुसार मल उपलब्ध गराउन नसक्ने भएपछि अर्को सूचना नआउँदासम्म मल वितरण गर्न बन्द गरेको मैनापोखर भविष्य साना किसान कृषि सहकारी संस्थाका अध्यक्ष विष्णु लम्सालले बताउनुभयो ।
“आधा रातदेखि मलका लागि लाइन बसे पनि रित्तो हात फर्कनु पर्यो,” बढैयाताल गाउँपालिका–६, मैनापोखरका जगतु थारूले भन्नुभयो, “आज मल लगेर खेतमा हाल्छु भन्ने ढुक्क थिएँ, सपना नै भयो ।”
दिनभर लाइनमा बसेर सहकारीबाट छ किलोग्राम युरिया पाएकी मधुवन नगरपालिका–७, शुक्र बस्तीकी शान्ति अधिकारीले बेग्लै व्यथा पोख्नुभयो । एक बिघा १० कट्ठा खेतमा धान लगाएकी उहाँले भन्नुभयो, “यति मल कता हाल्ने हो ? यसपालि त धानै नफल्ने हो कि भन्ने चिन्ता छ ।”
तीन हजार आठ सय कृषक सेयर सदस्य भएको ताराताल साना किसान कृषि सहकारी संस्थामा धानका लागि ३६८ बोरा मात्र युरिया आयो । युरिया माग गरेका किसानबिच बराबर भाग लगाउँदा छ किलोग्राम मात्र युरिया दिन सकिएको ताराताल साना किसान कृषि सहकारी संस्थाका प्रबन्धक राजन थापाले बताउनुभयो ।
गुलरिया नगरपालिका–३ मा रहेको कल्पतरु कृष्णसार कृषि सहकारी संस्थामा चार सय कृषकका लागि ५२ बोरा युरिया आएको अध्यक्ष चिन्तामणि कँडेलले बताउनुभयो । एक बोरा मल पाँच जना कृषकले बाँडेर लगेको बताउँदै प्रहरी नै परिचालन गरेर मल वितरण गरेको तितो अनुभव सुनाउनुभयो ।
बर्दिया जिल्लामा जताततै रासायनिक मलको हाहाकार भएको छ । किसान रासायनिक मलको खोजीमा भौँतारिइरहेका छन् । मागभन्दा निकै कम मल प्राप्त हुँदा कतिपय सहकारीले मल नै लैजान आनाकानी गर्ने गरेका छन् । “नल्याऊँ कृषकले त्यही पनि पाउँदैनन्, ल्याऊँ भने वितरणमै विवाद हुने गरेको छ,” अध्यक्ष कँडेलले भन्नुभयो ।
रासायनिक मलको अभावसँगै यस वर्ष बर्दिया जिल्लामा धान उत्पादन घट्ने निश्चित भएको एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यालय बर्दियाका प्रमुख सागर ढकालले बताउनुभयो । बर्दिया जिल्लामा करिब ५१ हजार हेक्टरमा धान खेती हुने गर्दछ । प्रमुख ढकालका अनुसार बर्दिया जिल्लामा वार्षिक १२ हजार मेट्रिक टन युरिया, सात हजार मेट्रिक टन डिएपी र एक हजार मेट्रिक टन पेटासको माग हुँदै आएको छ, जसमध्ये ५० प्रतिशत मल मात्र बर्दियामा उपलब्ध हुँदै आएको छ ।