गोरखापत्र समाचारदाता
काठमाडौँ, साउन ३० गते । नेपालमा दर्ता भएर व्यावसायिक सञ्चालनमा रहेका दुईबाहेक सबै वायु सेवाको उडान सुरक्षा प्रणाली र गुणस्तरमा सुधार देखिएको छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले यस वर्ष गरेको वायुयानको उडान सुरक्षा प्रणाली (एसएमएस) र गुणस्तर व्यवस्थापन प्रणाली (क्युएमएस) को विस्तृत अध्ययनले सौर्य एयरलाइन्स र मुस्ताङ हेलिकोप्टरबाहेक सबै हवाई कम्पनीले समग्र हवाई सुरक्षामा अभिवृद्धि गरेको देखाएको हो ।
प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले भन्नुभयो, “प्राधिकरणले वार्षिक रूपमा गर्दै आएको वायु सेवाप्रदायक कम्पनीको सम्परीक्षण अनुसार यो वर्ष दुई कम्पनीबाहेकको उड्डयन सुरक्षा ६० प्रतिशतभन्दा बढी पुगेको छ । वार्षिक तीन लाख हाराहारी उडान हुने नेपालमा वायु सेवाको समग्र उडान सुरक्षा व्यवस्थापन, गुणस्तर प्रणाली र कार्यान्वयन दरमा सुधार हुँदै गएको देखिएको छ ।”
प्राधिकरणले अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओ) ले प्रतिपादन गरेको मापदण्ड र सुझाव अनुसार हरेक वर्ष गर्ने वायु सेवाको उडान सुरक्षा व्यवस्थापन प्रणाली अन्तर्गत जोखिम विश्लेषण, पहिचान र न्यूनीकरणबारे विस्तृत परीक्षण गर्दै आएको उहाँले जानकारी दिनुभयो ।
जस अनुसार गत वर्ष ६० प्रतिशतभन्दा कमजोर उड्डयन सुरक्षा अवस्था रहेर उडान अनुमति निलम्बनमा परेको अन्नपूर्ण हेलिकोप्टरले भने यो वर्ष हवाई सुरक्षामा उल्लेख्य सुधार गरेर उडानमा फर्किएको उहाँले बताउनुभयो ।
उडान सुरक्षालाई चुस्त बनाउन प्राधिकरणले गत वर्ष कमजोर हवाई सुरक्षा भएका सौर्य एयरलाइन्स, मुस्ताङ र अन्नपूर्ण हेलिकोप्टरको उडानमा रोक लगाएको थियो । वायु सेवा कम्पनीको विस्तृत परीक्षणको रिपोर्ट युरोपेली सङ्घ र आइकाओको विशेष सम्परीक्षणले समेत हेर्ने गरेको छ ।
प्राधिकरणले उडान सुरक्षा प्रणालीभित्र वायु सेवा कम्पनीको सुरक्षा नीति, उद्देश्य, सुरक्षा जोखिम व्यवस्थापन, सुरक्षा सुनिश्चितता र सुरक्षा प्रवर्धनलगायतका विषयमा अध्ययन गर्ने गरेको छ । हवाई दुर्घटना नियन्त्रणको प्रमुख उद्देश्यसहित हुने विस्तृत अध्ययन सबै हवाई जहाज र हेलिकोप्टमा गरिन्छ ।
पछिल्लो समय नेपालको उडान सुरक्षा मापदण्ड परिपालना दरमा सुधार आई ७०.१ प्रतिशत पुगे पनि सन् २०१३ को डिसेम्बर ५ देखि युरोपेली सङ्घले नेपालमा दर्ता भएका सबै वायु सेवालाई कालो सूचीमा राख्दै युरोपको आकाशमा उड्न लगाएको प्रतिबन्ध कायमै छ ।