• २ भदौ २०८२, सोमबार

सानी चरीको गीत लोकार्पित

blog

पुस्तक लोकार्पण कार्यक्रममा अतिथिहरू ।

गोरखापत्र अनलाइन

काठमाडौँ, साउन २९ गते । सानी चरीको गीत नामक चिनियाँ बाल परीकथा सङ्ग्रह लोकर्पण भएको छ । यहाँस्थित सिद्धार्थ वनस्थली इन्च्टिच्युटको तेम्बाछिरी हलमा चिनियाँ साहित्यकार लेउ तिहोङ्ग, नेपालीमा अनुवाद गर्नुभएका डा. सर्वाेत्तम श्रेष्ठ, अरनिको समाजका अध्यक्ष डा. सुशिल प्रजापति लगायतले संयुक्त रूपमा लोकर्पण गर्नुभयो ।  

चिनियाँ साहित्यलगातका विषयवस्तुलाई नेपाली पाठकमाझ ल्याउन अनुवादनको भूमिका निर्वाह गर्नुभएका डा. श्रेष्ठको यो सातौँ अनुवादित पुस्तक हो । विगतमा प्रकाशित ६ वटा पुस्तकभन्दा यो विशुद्ध बालबालिकालाई लक्षित छ ।

भावना प्रधान यस परीकथामा २२ वटा विभिन्न शीर्षकका कथाहरू छन् । सानी चरीको गीत, छिँकुवा छावा पीपी, माछा र झिँगे माछाको लुकामारी, हात्ती आमा, भ्यागुते बाजा, भूत कोठाको खेल, डरलाग्दो बन्दुकको नाल, उड्न चाहने रुख, गीत गाउन चाहने बाँसको झाडी, तालकी छोरी लगायतका शीर्षकहरू यस सङ्ग्रहमा सङ्ग्रहित छन् ।

कार्यक्रमका प्रमुख अतिथि लेउ तिहोङ्गले आफूले लेखका बाल कथा नेपालीमा अनुवाद हुनु चीन र नेपालबिचको अटुट सम्बन्ध, मित्रता र जनताबिचका पारस्परिक हित भएको बताउनुभयो ।

नेपाल र चीन छिमेकी देशसँगै समान रूपमा प्राकृतिक भू बनोट भएकाले समान प्रकारकै कथाहरू रहेका कारणले आफ्ना कथाहरू नेपाली बालबालिकालाई मनपर्ने खालको रहेको उहाँले प्रकाश पार्नुभयो ।

अनुवादक डा. श्रेष्ठले यस्ता साहित्यिक अनुवादले नेपाल र चीनबिचको साहित्यिक आदन–प्रदानसहित जनता जनताबिचको सम्बन्ध प्रगाढ भएको बताउनुभयो । सिद्धार्थ वनस्थली इन्स्टिच्युटका प्रधानाध्यापक रूपक राजवंशी र अरनिको समाजका अध्यक्ष डा. सुशिल प्रजापतिले चिनियाँ साहित्यको अनुवादले चिनियाँ विचार, समाज, संस्कृति, रहनसहन आदिको बुझ्न सजिलो हुने विश्वास व्यक्त गर्नुभयो ।