२१ औँ शताब्दी ज्ञान, प्रविधि र नवप्रवर्तनको युग हो । संसार तीव्र गतिमा बदलिँदै गएको समयमा व्यक्तिको सोच, व्यवहार र सिपमा पनि गहिरो परिवर्तन आवश्यक छ । आजका नेपालका धेरै विद्यालय अझै पनि परम्परागत पठनपाठन प्रणालीमा सीमित छन् । जहाँ विद्यार्थी केवल पाठ्यपुस्तकका ज्ञान सिक्छन्, रटन्ते अभ्यास गर्छन् र परीक्षामा राम्रो अङ्क ल्याउनलाई मात्र तयार हुन्छन् । यस्तो शिक्षाले विद्यार्थीलाई सिर्जनात्मक सोच, समस्या समाधान गर्ने क्षमता, नवप्रवर्तनशीलता र सामाजिक–भावनात्मक साक्षरतामा अभाव पु¥याउँछ । यसले भविष्यका चुनौती सामना गर्न सक्ने नागरिक तयार गर्न सक्दैन । त्यसैले अबको शिक्षा प्रणालीमा आमूल परिवर्तन आवश्यक छ, जसले विद्यार्थीलाई केवल ज्ञानको सञ्चयमा सीमित नराखी जीवनोपयोगी सिप, अनुभव र व्यावहारिक ज्ञान प्रदान गरोस् ।
शिक्षा प्रणालीलाई परीक्षा केन्द्रितबाट जीवन केन्द्रित, शिक्षक केन्द्रितबाट विद्यार्थी केन्द्रित र विषय केन्द्रितबाट अनुभव केन्द्रित बनाउनु आवश्यक छ । यो परिवर्तनले मात्र विद्यार्थीलाई वर्तमान र भविष्यका विविध चुनौतीका लागि तयार पार्न सकिन्छ । विद्यालयले विद्यार्थीको रुचि, क्षमता र सम्भावनालाई पहिचान गर्ने वातावरण बनाउनु पर्छ । नेतृत्व विकास, अनुसन्धान परियोजना, क्लब गतिविधि, सामाजिक उत्तरदायित्वसम्बन्धी कार्यक्रममार्फत विद्यार्थीलाई बहुआयामिक सोच र दीर्घकालीन लक्ष्य निर्धारण गर्न उत्प्रेरित गरिनु पर्छ । विद्यार्थीले जीवनमा प्रयोग गर्न सक्ने सिप–जस्तै सार्वजनिक बोलचाल, उद्यमशीलता, अनुसन्धान र परियोजना आधारित अभ्याससहित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विद्यार्थी विनिमय कार्यक्रम पनि आवश्यक छन् । आत्मचिन्तन, स्वमूल्याङ्कन र व्यक्तिगत लक्ष्य निर्धारणमा आधारित स्वअनुशासन र दीर्घकालीन सिकाइ बानी विकास गर्न परामर्श र शिक्षक विद्यार्थी संवादलाई पनि बलियो बनाउनु पर्छ । व्यावहारिक शिक्षामा जोड दिँदै केवल सैद्धान्तिक ज्ञान होइन तर वास्तविक जीवनमा लागु गर्न सकिने सिप पनि विद्यार्थीलाई सिकाउनु पर्छ । प्रयोगात्मक अभ्यास, केस स्टडी, अनुसन्धान आधारित शिक्षाले यथार्थ जीवनसँग जोडिएको सिकाइ सम्भव बनाउँछ । इनोभेसन ल्याब, फिल्ड वर्क, रोबोटिक्स, एआई र स्टिम कार्यक्रम कक्षा ५ देखि सुरु गर्नु पर्छ भने शिक्षकलाई डिजिटल प्रविधिमा तालिम दिन आवश्यक छ ।
आजका विश्वका जटिल र बहुआयामिक समस्या समाधान गर्न अन्तरविषयगत सोच विकास गर्नुपर्ने आवश्यकता बढेको छ । त्यसैले पाठ्यक्रममा विज्ञान, प्रविधि, गणित, समाजशास्त्र, भाषा र कला विषयबिचको अन्तर्सम्बन्ध झल्काउने परियोजना र विषय शिक्षकबिच समन्वययुक्त योजना लागु गर्नु पर्छ । परियोजना आधारित अध्ययन, आलोचनात्मक सोच र नवप्रवर्तनलाई प्राथमिकता दिँदै शिक्षालाई पुनर्संरचना गर्नु पर्छ । प्रत्येक शिक्षकले वार्षिक कम्तीमा २४ घण्टा व्यावसायिक विकास तालिम अनिवार्य रूपमा लिनु पर्छ । विद्यार्थीको मानसिक सन्तुलनका लागि सामाजिक–भावनात्मक सिकाइलाई पाठ्यक्रमको अभिन्न अङ्ग बनाउन आवश्यक छ । विद्यालय शिक्षा स्वतन्त्र सोच, अनुसन्धान र अन्वेषणमा आधारित हुनु पर्छ जसले विद्यार्थीलाई जिम्मेवार नागरिक बनाउँछ । यो परिवर्तन शिक्षण संस्था, शिक्षक, अभिभावक र नीतिनिर्माताबिच साझा प्रतिबद्धताबाट मात्र सम्भव हुन्छ । अहिले यी सुधारका कदम चालियो भने नेपाल वैचारिक, नवप्रवर्तनशील र विश्वस्तरमा प्रतिस्पर्धी राष्ट्र बन्न सक्छ ।
नेपालको शिक्षामा गुणस्तर वृद्धि र पहुँच विस्तार सँगसँगै विद्यार्थी केन्द्रित सिकाइ र व्यावहारिक शिक्षामा जोड दिनुपर्ने समय आएको छ । त्यसका लागि शिक्षक प्रशिक्षणलाई नियमित र गुणस्तरीय बनाउनु पर्छ । प्राविधिक सुविधा र पूर्वाधार सुधारले विद्यार्थीको सिकाइ अनुभवलाई समृद्ध बनाउँछ । साथै राष्ट्रिय स्तरमा शिक्षा नीतिहरूलाई प्रयोगात्मक र परियोजना आधारित शिक्षातर्फ झुकाउने आवश्यकता छ । विद्यालयले विद्यार्थीलाई आफ्ना रुचि अनुसार विषय छनोट गर्ने र वास्तविक जीवनका चुनौतीसँग परिचित हुने अवसर दिनु पर्छ । सामाजिक उत्तरदायित्व र समुदायमा सक्रिय सहभागिता शिक्षालाई जीवनसँग जोड्ने महत्वपूर्ण माध्यम हो । विद्यार्थीले जीवनका विविध पक्षमा सफल हुन आत्मविश्वास र नेतृत्व विकास आवश्यक छ । यसका लागि विद्यालयले बहुआयामिक कार्यक्रम सञ्चालन गर्नु पर्छ, जसले विद्यार्थीको समग्र विकासमा योगदान पु¥याउँछ ।
डिजाइन थिङ्किङ, क्रिटिकल थिङ्किङ, एआई, नेतृत्व र प्रभावकारी सञ्चार जस्ता सिप अहिलेको विद्यालय शिक्षामा अपरिहार्य बन्दै गएका छन्, किनभने यी सिपले विद्यार्थीलाई समस्याको गहिरो विश्लेषण गर्न, प्रयोगकर्ता वा परिस्थितिको आवश्यकता बुझेर नवप्रवर्तनशील समाधान निकाल्न, कृत्रिम बुद्धिमत्ता जस्ता आधुनिक प्रविधिहरूको सही प्रयोग गर्न, समूहमा नेतृत्व लिन र स्पष्ट तथा प्रभावकारी ढङ्गले विचार अभिव्यक्त गर्न सक्षम बनाउँछन् । यस्तो शिक्षा प्रणालीले विद्यार्थीलाई केवल पाठ्यपुस्तकको ज्ञानमा सीमित नराखी जीवनमा आवश्यक व्यावहारिक क्षमता, भावनात्मक बुद्धिमत्ता र बहुआयामिक सोच प्रदान गर्छ, जसले उनीहरूलाई भविष्यको जटिल, प्रविधिमुखी र प्रतिस्पर्धी संसारमा सफल हुन तयार पार्छ ।
मूल्याङ्कन प्रणालीलाई पनि पुनः संरचना गर्नु पर्छ– सिर्जनशीलता, अनुसन्धान क्षमता, टिमवर्क, समस्या समाधान र जीवन सिपमा आधारित पोर्टफोलियो मूल्याङ्कन प्रणाली लागु गर्दै, केवल वार्षिक परीक्षामा अङ्कका आधारमा विद्यार्थीको योग्यता मापन गर्ने अभ्यास समाप्त गर्नु पर्छ । पूर्वाधारका दृष्टिले, प्रत्येक विद्यालयमा आधुनिक प्रयोगशाला, अद्यावधिक पुस्तकालय, डिजिटल स्रोत केन्द्र, नवप्रवर्तन प्रयोगशाला र हरित (एको फ्रेन्ड्ली) क्याम्पस निर्माण प्राथमिकता हुनु पर्छ, किनभने वातावरणमैत्री परिसरले विद्यार्थीलाई वातावरणीय सचेतना र दिगो विकासका मूल्यहरू पनि सिकाउँछ । सामाजिक–भावनात्मक सिकाइलाई पाठ्यक्रममा अनिवार्य रूपमा समावेश गर्नु पर्छ, जसले विद्यार्थीको मानसिक स्वास्थ्य, आत्मविश्वास र सहानुभूति विकासमा सहयोग पु¥याउँछ ।
नेपालका ग्रामीण क्षेत्रका विद्यालयमा पहुँच र गुणस्तरको ठुलो अन्तर देखिन्छ, त्यसैले सरकारले र निजी क्षेत्रले साझेदारीमा डिजिटल सिकाइ, मोबाइल लर्निङ युनिट, र शिक्षक अदला–बदली कार्यक्रम ल्याएर ग्रामीण–सहरी शिक्षा खाडल घटाउनु पर्छ । शिक्षकको भूमिका अब केवल पढाउने नभई सिकाइको सहसञ्चालकको हुनु पर्छ, जसका लागि उनीहरूलाई नेतृत्व, अनुसन्धान, प्रविधि र अन्तर्राष्ट्रिय शिक्षा प्रवृत्तिको जानकारी दिनुपर्ने हुन्छ । सरकारी नीतिले पनि अब शिक्षा क्षेत्रमा लचिलो, परियोजना–केन्द्रित, उद्यमशीलता–मुखी र जीवन सिपमा केन्द्रित पाठ्यक्रम अनिवार्य बनाउनु पर्छ, जसमा विद्यालयले विद्यार्थीलाई आफ्नै रुचि र लक्ष्य अनुसार विषय छनोट गर्ने स्वतन्त्रता दिन सकून् । नेपालले भविष्यमा अन्तर्राष्ट्रिय प्रतिस्पर्धी स्नातक उत्पादन गर्न विश्वस्तरीय मान्यता प्राप्त कार्यक्रम सञ्चालन गर्नु पर्छ, जसले विद्यार्थीलाई अन्तर्राष्ट्रिय स्तरको शैक्षिक अनुभव दिलाउँछ । यसका लागि शिक्षा मन्त्रालय, विश्वविद्यालय, निजी विद्यालय सङ्घ संस्थाबिच दीर्घकालीन सहकार्य आवश्यक हुन्छ ।
शिक्षा सुधार केवल पाठ्यक्रम, शिक्षक वा पूर्वाधारसम्म सीमित छैन, यो एक सांस्कृतिक रूपान्तरण हो– जहाँ सम्पूर्ण समुदायले शिक्षालाई राष्ट्रको दीर्घकालीन विकासको आधार मान्छ र त्यसमा समय, स्रोत र श्रम लगानी गर्न तयार हुन्छ । उदाहरणका लागि, प्रचलित स्कुलले स्टिम/एआई प्रयोगशाला, अन्तर्राष्ट्रिय शिक्षक आदानप्रदान, विद्यार्थी नेतृत्व कार्यक्रम र बहुभाषिक सिकाइलाई आफ्नो पाठ्यव्रmममा समावेश गर्दै गुणस्तर सुधार र ब्रान्ड निर्माणमा महत्वपूर्ण प्रगति गरेको छ, जसबाट देखिन्छ कि स्पष्ट दृष्टि, योग्य नेतृत्व र प्रतिबद्ध टोली भएमा नेपालमै विश्वस्तरीय शिक्षा सम्भव छ । भविष्यतर्फ हेर्दा, हामीले २०३० सम्मका लागि स्पष्ट कार्ययोजना बनाउनु पर्छ– जसमा सबै विद्यालयमा न्यूनतम डिजिटल पूर्वाधार र इन्टरनेट पहुँच, १०० प्रतिशत शिक्षक डिजिटल दक्षता, सबै विद्यार्थीको सामाजिक–भावनात्मक सिकाइ मूल्याङ्कन, ग्रामीण क्षेत्रमा मोबाइल ल्याब, अन्तर्राष्ट्रिय मान्यता प्राप्त कार्यक्रमको प्रसार, शिक्षा र उद्योगबिचको सहकार्य बढाउने लक्ष्य समावेश हुनु पर्छ ।
सबै सुधार हालैदेखि नै सुरु गरियो भने, नेपाल १५ वर्षभित्र उच्च गुणस्तरीय, नवप्रवर्तनशील र विश्वस्तरीय प्रतिस्पर्धी स्नातक उत्पादन गर्ने राष्ट्र बन्न सक्छ । यसका लागि शिक्षा क्षेत्रमा कार्यरत सबै सरोकारवाला–शिक्षक, विद्यालय सञ्चालक, अभिभावक, विद्यार्थी, नीति निर्माता र निजी क्षेत्र– सबैले साझा दृष्टि, योजना र कार्यान्वयनमा हातेमालो गर्नु पर्छ । आज हामीले लिएको निर्णय र सुधारका कदम नै भोलिको नेपाललाई बौद्धिक रूपमा धनी, आर्थिक रूपमा सबल र नैतिक रूपमा दृढ राष्ट्रको रूपमा स्थापित गर्ने आधारशिला हुने छ र त्यस यात्रामा शिक्षा नै हाम्रो सबैभन्दा ठुलो लगानी र गर्वको विषय हुने छ ।
शिक्षाको मूल उद्देश्य केवल ज्ञान हस्तान्तरण मात्र होइन तर विद्यार्थीलाई भविष्यका लागि सक्षम, जागरूक र जिम्मेवार नागरिक बनाउनु हो । यसका लागि आवश्यक छ कि हामीले सिकाइलाई विद्यार्थी केन्द्रित, अनुभव आधारित बनाउने दिशामा योजना र कार्यान्वयन गरौँ । नयाँ युगका विद्यार्थीलाई चुनौती सामना गर्ने, आफ्नै सोच विकास गर्ने र समाजमा सकारात्मक परिवर्तन ल्याउने पात्र बनाउन यसरी शिक्षा प्रणालीमा आमूल सुधार आवश्यक छ । शिक्षा क्षेत्रका सबै सरोकारवालाले यसमा साझा भूमिका निर्वाह गर्नुपर्ने देखिन्छ, किनभने आजको सुधार नै नेपालको उज्ज्वल भविष्यको आधारशिला हुने छ ।