पत्रकारिताको प्रमुख उद्देश्य नै समाजको हित प्रवर्धन गर्नु हो । यसले मूलतः तथ्यको पूर्ण जाँच र घटना वा अवस्थाको सन्तुलित चित्रणमार्फत सामाजिक उत्तरदायित्व निर्वाह गरेको ठहर्छ । प्रेसको सामाजिक उत्तरदायित्त्वको सिद्धान्तमा सूचनात्मकता, सत्यता, वस्तुपरकता, सन्तुलन र शुद्धता कायम हुने गरी सञ्चार माध्यम समाजप्रति जिम्मेवार हुनुपर्ने कुरा औँल्याइएको छ । यसर्थ, सामाजिक हित र लोककल्याणकारी कार्यमा समर्पित पत्रकारले समाजभन्दा बाहिर रहेर कुनै कार्य गर्नु हुँदैन र गर्न पाउँदैन पनि ।
सन् १९४७ मा हचिन्स आयोगको प्रतिवेदन अनुसार विकसित सामाजिक उत्तरदायित्वको सिद्धान्तले बहुलवादी समाजको परिकल्पना गर्दै सबैलाई समान अवसर दिनु पर्छ भन्ने मान्यता राख्छ । मिडिया समाजको प्रत्येक तह र तप्कामा पुग्नु पर्छ । आवाजविहीनको आवाज प्रकाश पार्ने दायित्व पत्रकारिताको हो भने प्रत्येक व्यक्तिलाई न्यायका लागि मार्गदर्शन गरिदिने आधार पनि हो । सञ्चार माध्यम र सरकार दुवैलाई समान स्थानमा राखी एकले अर्कालाई स्वस्थ आलोचना गर्न छुट दिनु पर्छ भन्ने प्रेसको यही सिद्धान्त युरोपतिर बढी अनुसरण भइरहेको पाइन्छ । हाम्रो पत्रकारिताको अभ्यासमा पनि समाजलाई केन्द्रमा राख्दा पत्रकारिता र सरकारबिच कैयौँ मुद्दामा आपसी सम्बन्ध विकास हुन जरुरी छ । यस्तो सम्बन्धले मिडियामार्फत उजागर भएका सामाजिक समस्यालाई सरकारले समयमै समाधान गर्ने कार्यतत्परता बढाउन सहयोग गर्छ । यता मिडिया क्षेत्रमा मौलाउन सक्ने ‘अराजकता’ लाई रोक लगाउन पनि सरकारमार्फत सजिलो हुन्छ भने स्वच्छ र मर्यादित पत्रकारिताको विकासमा झनै टेवा पुग्छ ।
प्रेस काउन्सिलको भूमिका
पत्रकार आचारसंहिताको पालनाबाट मर्यादित एवं जिम्मेवार पत्रकारिताको विकास गर्ने र प्रेस स्वतन्त्रताको संरक्षण/संवर्धन गर्दै पत्रकार आचारसंहिता पालनामा उत्प्रेरित गरिरहने प्रेस काउन्सिल नेपालले सरकार र मिडियाबिच पुलको रूपमा कार्य गर्नेसमेत महत्वपूर्ण जिम्मेवारी निर्वाह गर्ने गर्छ । यस्तै काउन्सिलले पत्रकार आचारसंहिता उल्लङ्घनका विषयमा उजुरी सुन्ने, सोउपर अध्ययन अनुसन्धान गरी आवश्यक कारबाही गर्ने, आचारसंहितासम्बन्धी जागरण अभियान सञ्चालन गर्ने, आमसञ्चार माध्यममा आचारसंहिताको अनुगमन गर्ने र पत्रकारिताको विकासका लागि सरकारलाई आवश्यक सुझाव दिने जस्ता प्रमुख कार्य गर्दै आएको छ । गत साउन १८ गते सोही काउन्सिलद्वारा सार्वजनिक भएको विज्ञप्तिमा मूलतः सामाजिक सञ्जालको दुरुपयोग हुँदा पछिल्लो समयमा भएको क्षति उल्लेख गरी सोको यथार्थ विवरणसहित समस्या उजागर भएको छ ।
काउन्सिलमा आर्थिक वर्ष २०८१/८२ मा मात्रै ३४० उजुरी र १० वटा जनगुनासो दर्ता भएको पाइन्छ । यिनमा गाली बेइज्जती, चरित्रहत्या र भ्रामक एवं दुष्प्रचार भएको भनी अझ बढी जनगुनासो दर्ता भएका छन् । यस्तै काउन्सिलमा १३ वटा पेसागत आचरण विपरीतका उजुरी पर्नुले समेत सामाजिक सञ्जालमा भ्रामक, अश्लील र उत्तेजनात्मक सामग्री कति तीव्र रूपमा फैलिरहेको छ भन्ने कुराको पुष्टि गर्छ । हुन त अनलाइन पत्रकारिता एवं सामाजिक सञ्जालमा घटनापछि तत्काल केही मिनेटमै समाचार प्रसारित हुनाले पनि हतार हतारमा समस्या आएको हुन सक्छ । यस्तै टेक्स्ट, फोटो, भिडियो, अडियो, ग्राफिक्स जस्ता विविध सन्दर्भलाई शीघ्रातिशीघ्र सम्पादन एवं संयोजन गर्नुपर्ने सवालमा पनि समस्या बढ्न सकेको होला ।
प्रेस काउन्सिलले पछिल्लो समयदेखि ‘युट्युब व्यवस्थापन, सूचीकरण तथा अभिलेखीकरण कार्यविधि’ २०८० अनुसार मिडियाद्वारा सञ्चालित युट्युब च्यानल र फेसबुक पेजको समेत निगरानी बढाउँदा यस्ता दुष्प्रचारविरुद्धका उजुरी आउने माध्यम बढेको हुन सक्छ । विशेषतः छापा माध्यमको तुलनामा डिजिटल माध्यमबाट बढी समस्या आउने गरेको विज्ञप्तिको विवरणले स्पष्ट पार्छ । ‘डिजिटल पत्रकारिता’ भनेको अनलाइन पोर्टल, मोबाइल एप, सामाजिक सञ्जाल र भिडियो प्लेटफर्ममार्फत समाचार उत्पादन, वितरण र प्रयोग गर्ने भन्ने बुझिन्छ । यस्तो समस्या बढ्दै गएपछि काउन्सिलले बढाएको निगरानी मात्रै पनि पर्याप्त छैन । पत्रकार स्वयम्ले समाजप्रति जिम्मेवार बन्दै आचारसंहिताको पूर्ण पालना नगरुन्जेलसम्म यस्ता समस्याबाट पूरै मुक्त बन्न सक्ने अवस्था देखिँदैन । आचारसंहिताको पालनाले मात्र पूर्ण प्रेस स्वतन्त्रताको रक्षा र सामाजिक उत्तरदायित्व बढार्ई पेसागत गरिमा उँचो बनाइराख्छ । यसका लागि प्रेस काउन्सिलले पेसागत विकृतिलाई नियन्त्रण गर्ने उद्देश्य अनुरूप गर्ने उजुरी व्यवस्थापन, जनचेतना अभिवृद्धि, समयसापेक्ष जारी गर्ने विज्ञप्ति आदि परिपूरक कार्य मात्र बन्न सक्छन् ।
व्यावहारिक पक्ष
प्रेसको सामाजिक उत्तरदायित्वको सिद्धान्तको जगमा मात्रै हाम्रो जस्तो देशले विकासमूलक र लोकतान्त्रिक सहभागितामूलक सिद्धान्त अनुसरण गर्न सक्छ । यहाँका सञ्चार माध्यमले आफ्नो सस्तो लोकप्रियता बढाउने विषय सन्दर्भलाई पूर्णतः समाज सापेक्ष रूपमा नियन्त्रण गर्ने आधारशिला पनि यही सिद्धान्तमा बाँचेको छ । पत्रकारितालाई केवल एउटा व्यवसायको रूपमा लिने र बढीभन्दा बढी मिथ्या प्रचारमुखी बन्न खोज्ने मिडियाका लागि समाजभन्दा माथि कोही पनि छैन भन्ने भाष्य सिर्जना गर्नु अपरिहार्य छ । पत्रकारितालाई सार्वजनिक सेवामुखी दायित्वको सघन क्षेत्र सम्झने गरी समाजमा सकारात्मक प्रभाव पार्ने प्रकारका सूचना एवं समाचार सम्प्रेषण गर्ने अभ्यास बढाउनु पर्छ । यसका लागि सकारात्मक भाव प्रकट गर्ने गरी समाचार शीर्षकको चयन र सामग्री सम्प्रेषण गरिनु पर्छ । कतिपय अवस्थामा समाचारको सामाजिक प्रभाव र असर पक्ष के हुन सक्छ भन्ने नसोचीकन हतारकेन्द्रित पत्रकारिता मौलाएको भेटिन्छ ।
समाचार लेखन एवं सम्प्रेषणमा सामाजिक सरोकारको विषय र सामाजिक उत्तरदायित्वको पक्षलाई अलिकति मात्रै सम्झने हो भने नयाँ कोणबाट समाचार सम्प्रेषण गर्न सकिन्छ । उदाहरणार्थ ‘दस घरमा चोर्ने पत्ता लागेन,’ ‘हत्यारा फरार,’ ‘बालविवाह मौलायो,’ ‘आत्महत्या गर्नेको सङ्ख्या बढ्यो’ जस्ता शीर्षकका समाचारलाई समाजमैत्री रूपबाट क्रमशः ‘१० घरमा चोर्नेको खोजी कार्य तीव्र,’ ‘हत्याराको खोजीमा प्रहरी सक्रियता बढ्यो,’ ‘बालविवाह रोक्ने नयाँ काइदा,’ ‘कसरी न्यूनीकरण गर्न सकिन्छ आत्महत्याका घटना ?’ भन्ने जस्ता शीर्षक राख्नु उपयुक्त हुन्छ । यी र यस्तै प्रकृतिका शीर्षकमार्फत कैयौँ समस्याको सहजै समाधान पक्ष उजागर हुन्छ भने समाजमैत्री विकास पत्रकारिताले सार्थकता पाउँछ ।
सिद्धान्ततः आजका प्रत्येक समाचारले सामाजिक हितलाई केन्द्रमा राखे पनि व्यवहारतः कैयौँ समाचारमा समाजसापेक्ष वा सामाजिक उत्तरदायित्व वहन गर्ने प्रकारका विषयसन्दर्भ पाइँदैन । एउटै समाचारको विषयवस्तु धेरै जसो सञ्चार माध्यममा हुबहु प्रकाशन एवं प्रसारण हुँदा त्यसको जवाफदेहिता खोज्नका लागि सुरुकै सञ्चार माध्यममा पुग्नुपर्ने हुन्छ । यसरी पहिलेको सञ्चार माध्यममा भूलवश समाचार सम्प्रेषण भएको रहेछ भने अन्य मिडियाले त्यही नक्कल गर्ने सन्दर्भमा अझ बढी समाजमा हानिनोक्सानी पुग्ने गरेको छ तसर्थ समाजसापेक्ष समाचार सम्प्रेषणको व्यावहारिकतामा निकै चुनौती बढेकाले सोको समाधानार्थ स्वयम् मिडिया बढी जिम्मेवार भएर प्रस्तुत हुनुको विकल्प रहन्न ।
प्रविधिको समुचित प्रयोग
विश्व परिदृश्यमा देखिए जस्तै नेपाली पत्रकारितामा समेत अहिले नयाँ प्रविधि अनुरूपको अभ्यास र प्रयोग भइरहेको छ । पत्रकारिताको परम्परागत परिभाषामा समेत परिवर्तन देखिँदै छ । यसले छापा पत्रकारिताबाट क्रमशः प्रसारण हुँदै अहिलेको डिजिटल युगमा आफ्नो अस्तित्व खोजिरहेको छ । सञ्चार क्रान्तिको परिणामस्वरूप आज पत्रकारितामा प्रविधिको उच्चतम प्रयोग मात्र नभई प्रत्येक नेपाली ‘नागरिक पत्रकार’ बनिरहेको पाइन्छ । सामाजिक सञ्जाल र डिजिटल प्लेटफर्मको तीव्र विस्तारले सूचना, समाचार, विचार र मनोरञ्जन आदानप्रदान गर्ने परम्परागत संरचनालाई पूर्ण रूपमा रूपान्तरण गरिदिएको छ । विशेष गरी सामाजिक सञ्जाल फेसबुक, युट्युब, टिकटक, ट्विटर, इन्स्टाग्रामलगायतका माध्यमले प्रत्येक नागरिकलाई समाचार उत्पादक बनाइदिएका छन् । उनीहरूले गर्ने कैयौँ फेसबुक लाइभ एवं कतिपय भ्लगको प्रस्तुतिका आधारमा को पत्रकार हो ? र को होइन ? भनेर छुट्याउन झन् झन् कठिन बन्दै छ । यसरी प्रत्येक नेपालीमा द्रुत गतिबाट सूचना सम्प्रेषणको ‘बाढी’ आएको पाइन्छ । सकारात्मक भावभन्दा पनि नकारात्मक भाव वा आशयका खुराकमा मिडियाकर्मीबिच होडबाजी नै चलेको देखिन्छ । सूचना प्राप्तिमा सामाजिक सञ्जालले मानिसलाई जति बढी सहजता प्रदान गरेको छ त्यति नै मात्रामा यसको दुरुपयोग हुँदा सबैसामु गम्भीर चुनौती खडा गरिदिएको छ । मिडियाको यही दुरुपयोगस्वरूप आज नेपाली समाजमा पत्रकारिताप्रतिको विश्वासमा समेत प्रश्नचिह्न खडा भइरहेको छ ।
अतः प्रेस काउन्सिल नेपालले मात्रै आचारसंहिता पालन, उजुरी व्यवस्थापन, जनचेतना अभिवृद्धि तथा मिडिया प्रवर्धनमा सरकारसँग पुलको भूमिका निर्वाह गरिरहँदा पनि त्यो पूर्ण समाजमैत्री मिडियाका लागि पर्याप्त नहुन सक्छ । यसको मूल जरो चाहिँ पत्रकारिता आचारसंहिताको पूर्णपालन नै मान्नु पर्छ । पत्रकारिताको मूल उद्देश्य भनेकै समाजको हित र लोककल्याणको प्रवर्धन गर्नु हो भन्ने बुझेर व्यावहारिक अभ्यास बढाउनका लागि तथ्यपरक, सन्तुलित र वस्तुपरक समाचार सम्प्रेषण अनिवार्य मानिन्छ । यसो भयो भने मात्र भ्रामक, अश्लील र उत्तेजनात्मक सामग्रीको तीव्रत्तर विस्तारमा रोक लगाउन सकिन्छ र सामाजिक उत्तरदायित्व बढाउन सकिन्छ । यस्तै समाचार शीर्षक र सामग्रीलाई सकारात्मक दृष्टिकोणबाट प्रस्तुत गर्ने, ‘कपी पेस्ट’ पत्रकारिता छाडेर स्वसिर्जनामा तल्लीन हुने, प्रविधिको सजग र नैतिक प्रयोग गर्ने तथा मिडिया स्वयम् बढी जिम्मेवार बन्ने आधारशिलामै सामाजिक उत्तरदायित्वको प्रत्याभूति हुने गर्छ ।