• २ भदौ २०८२, सोमबार

सार्वजनिक प्रशासनमा सदाचार

blog

सदाचारबारे लेख्ने र भाषण गर्ने विषयले जति व्यापकता पाएको छ, त्यसको एक चौथाई पनि व्यवहारमा इमानदारितापूर्वक प्रतिविम्बित हुने हो भने त्यसले शासकीय अङ्गहरूको मर्यादा र सम्मानलाई नयाँ उचाइमा पुर्‍याउँछ । सदाचार फगत कुराकानीको विषय होइन, यो व्यक्तिको जीवनशैली हो, व्यवहारजन्य क्रियाकलाप हो । नैतिकताको जगमा सदाचार उभिएको हुन्छ भने सदाचारयुक्त व्रिmयाकलापले संस्था र समाजको मूल्य स्थापित गर्छ । यही मूल्यले उक्त समाजको सभ्यतालाई उजागर गरेको हुन्छ । यसरी एउटा मुलुकको सभ्यतालाई विश्लेषण गर्नुपर्दा समाजमा स्थापित मूल्य, मान्यता र व्यक्तिको सदाचारभित्रको नैतिकताको मसिनो अध्ययन गरिन्छ । 

यदि नैतिकता र सदाचारमा ह्रास आउन सुरु गर्‍यो भने बुझ्नु पर्छ, त्यहाँको सभ्यता क्षतिग्रस्त हुने दिशातर्फ उन्मुख छ । सभ्यता क्षतिग्रस्त हुन लाग्यो भने समाजमा अराजकता बढ्ने र त्यो अराजकताभित्र बाह्य तत्वको घुसपैठद्वारा राज्य कमजोर बन्ने स्थिति सिर्जना हुन्छ । त्यसैले अर्थ र सैन्यका हिसाबले शक्तिसम्पन्न देशहरूले अन्य देशलाई उपनिवेश बनाउने क्रममा तत् देशको सभ्यता र पहिचानमाथि बिस्तारै बिस्तारै प्रहार गरेर समाजलाई लडाउने, टुक्र्याउने र आफ्नो स्वार्थ पूरा गर्ने काम भए गरेको इतिहास एसिया, अफ्रिका एवं दक्षिण अमेरिकाका धेरै देशसँग रहेको छ । 

भन्छन्–समयको परिवर्तनसँगै परिस्थिति बदलिन्छ । साथै परिस्थितिले पनि समयलाई बदल्छ । बदलिएको परिस्थितिमा शक्तिसम्पन्न राष्ट्रले कमजोर राष्ट्रमाथि गर्ने व्यवहार हिजोको समयभन्दा फरक हुन्छ । त्यहाँ राजनीतिक सिद्धान्तले होइन, सामरिक र आर्थिक स्वार्थले काम गरेको हुन्छ । नयाँ रूप, स्वरूप र ढङ्गमा त्यो व्यवहार अगाडि आउँछ । त्यो व्यवहारलाई सूक्ष्म तरिकाले विश्लेषण गरेर बुझ्न सकिएन भने गुलियो महमा माखो टाँसिए झैँ कमजोर राष्ट्रको सार्वभौमिकता र अखण्डतालाई धितो राख्नुपर्ने स्थिति बन्छ । यस प्रकारको कठिन स्थिति नआओस् र मुलुकको स्वाधीनता तथा सार्वभौमिकतामा कुनै खलल नपरोस् भन्नका लागि प्रशासनको परिणाममुखी क्रियाकलाप महत्वपूर्ण हुन्छ । 

प्रशासनिक दायित्व 

शासन सञ्चालनको मूल आधार प्रशासन हो, जसले शासकीय क्रियाकलापलाई नागरिकको घरदैलोमा पुर्‍याएर सरकारप्रति उनीहरूको विश्वासलाई सुनिश्चित गर्छ । यसका लागि प्रशासनले सदाचारको माग गर्छ । किनकि प्रशासनिक सदाचार सुशासनको साइलेन्स फाउन्डेसन (मौन जग) हो । यसले प्राविधिक र गैरप्राविधिक क्रियाकलापलाई मात्रै होइन नैतिक क्रियाकलापलाई समेत जागृत गराउँछ । प्रशासनिक सदाचारभित्र रहेको सूक्ष्म, मध्यम र बृहत् पक्षलाई प्रशासन चलाउनेहरूले व्यक्तिगत र संस्थागत रूपमा बुझेर पालन गर्नुपर्ने  हुन्छ । नागरिकलाई न्याय दिने, समानतालाई व्यवहारमा देखाउने, कानुनी शासनको प्रत्याभूति गराउने जस्ता बृहत् तर महत्वपूर्ण कार्यमा संस्थागत परिचालन र कर्मचारीको दैनिक कार्यशैलीमा व्यक्तिगत निष्ठा, स्वच्छता, उत्तरदायित्वको निर्वाह एवं नैतिक आचरण अनिवार्य हुन्छ । क्याथ्रिन जी. डेनहाडर्टले ‘द इथिक्स अफ पब्लिक सर्भिस’ मा लेख्नुहुन्छ, प्रशासनिक सदाचार, व्यक्तिको निष्ठाको सङ्गम विन्दु (इन्टरसेक्सन) मा रहेको हुन्छ । दक्ष र सक्षम व्यक्तिहरूको समूहले प्रशासनलाई गति दिने भएकाले मुलुकको राष्ट्रिय सुरक्षादेखि समष्टिगत विकासमा दिगो सदाचारयुक्त शासनको अपेक्षा नागरिकले गरेका हुन्छन् । दिगो सदाचारयुक्त शासनको परिचालनमा जहिले पनि कानुनी शुद्धता र सदाचार शुद्धता (इथिकल करेक्टनेस) लाई सँगसँगै लिएर जानुपर्ने हुन्छ । प्रशासनले आफूलाई सुम्पिएको शासकीय जिम्मेवारीलाई प्रतिफलमूलक ढङ्गले निर्वाह गर्ने क्रममा कानुनी शुद्धतालाई विशेष ध्यान दिने गरिन्छ, जुन स्वाभाविक हो । कारण कुनै पनि संस्थागत वा व्यक्तिगत कार्य सम्पादन गर्दा कानुनमा लेखिएका दफा दफालाई केलाएर त्यस अनुसार गर्नु गराउनुपर्ने हुन्छ, जसको विपरीत कार्य गर्दा कालान्तरमा त्यसको दण्डभागी सम्बन्धित निर्णयकर्ता वा कार्यान्वयनकर्ता हुन्छन् । त्यसैले पनि प्रशासनभित्र लिइने निर्णय प्रक्रियाउन्मुख हुने गर्छन् । प्रक्रियामुखी हुनैपर्ने बाध्यतालाई ओझेलमा राखेर प्रशासकले कलम चलाउन असजिलो मान्ने गर्छन् । त्यसैले त प्रशासक घरमा कलम राखेर कार्यालय आउँछन् । जुन काम गर्दा पनि अख्तियार दुरुपयोग गरेको बात लाग्छ कि भन्ने त्रसित मनबाट कामहरू गर्ने परिस्थिति देखा पर्दै गएको वर्तमान अवस्थामा प्रशासनलाई प्रक्रियामुखी भएको आलोचना आउनुलाई अन्यथा मान्नुपर्ने स्थिति छैन । 

प्रक्रियाउन्मुख कार्यमा कानुनी शुद्धताबारे विशेष सतर्कता अपनाइन्छ । कानुनले निषेध गरेको विषयका हकमा त निर्णयकर्तालाई निर्णय गर्न कठिन हुँदैन तर कुनै ऐनभित्र रहेको कुनै दफाले निर्णयकर्ताको स्वविवेकउपर विषयगत निर्णयका लागि स्पेस छोडेको छ भने त्यहाँ निर्णयकर्ताले विवेक पु¥याउनु जरुरी छ । यो विवेकलाई दिशानिर्देश गर्ने माध्यम हो ‘सदाचार शुद्धता ।’ कानुनी शुद्धता र सदाचार शुद्धता समानान्तर हिँड्ने ट्रेनका दुई फलामे लिक जस्तै हुन्– एउटालाई अनुपस्थित राखेर अर्काको मात्र प्रयोग गर्दा प्रशासनिक निर्णय, कार्यान्वयन र परिणामले शुद्धता पाउँदैन । उदाहरणका लागि पहाडको जङ्गलै जङ्गल भएर कुनै एक विन्दुबाट अर्को विन्दुसम्म सडक पु¥याउनु छ भने सडक निर्माणको आयोजना कानुनी शुद्धताको पक्षबाट ठिक हो तर निर्णयकर्ताको सदाचारको पक्षलाई यहाँनेर हेर्नु पर्छ । यो कार्यमा जङ्गल सखाप पारेर बाटो खन्दा त्यसले भू–स्खलन गर्ने, जैविक बासस्थानको विनाश हुने, पानीको स्रोत सुक्ने, वातावरण प्रदूषण गर्ने पक्षलाई सदाचार शुद्धताको नैतिक धरातलबाट विश्लेषण गर्ने परिपाटीमा ह्रास आएको छ । यही हो व्यक्तिको निष्ठाको सङ्गम विन्दु । 

यातायातका लागि सडक बाटो लानु पर्छ भने पनि त्यसबाट पर्ने भावी असरलाई सदाचारयुक्त नैतिकताको आँखीझ्यालबाट हेर्नै पर्छ । केही वर्षयता पहाडमा भएको ‘डोजरे बाटो’ ले पहिरो गएको र त्यसले स्थानीय बस्तीलाई क्षति पुर्‍याएको व्यहोरा जगजाहेर छ । गिटी, बालुवा उत्खनन गरेर स्थानीय सरकारले राजस्व वृद्धि गर्नु कानुनी शुद्धताको पक्षबाट ठिक हो तर अत्याधिक दोहन र त्यसबाट स्थानीय नदीनाला, वातावरण र स्थानीयबासीलाई पुर्‍याउने क्षतिउपर विचार नगर्नु सदाचार शुद्धतालाई बेवास्ता गरेको मानिन्छ । चुरेको अत्यधिक दोहनले समथर क्षेत्रमा पारेको प्रभाव यसको एउटा ज्वलन्त उदाहरण हो । 

उपरोक्त विषयलाई प्राविधिक कोणबाट मात्र हेर्ने र त्यसैलाई विकास ठान्ने सङ्कीर्ण सोचबाट मुक्त भई विकासलाई सुरक्षा, वातावरण र प्राकृतिक स्रोत एवं सम्पदाको संरक्षणको कोणबाट पनि हेरिनु जरुरी छ । यस प्रकारको कार्यमा प्रशासनिक उत्तरदायित्व र जिम्मेवारी अहम् रूपमा अगाडि आउँछन् ।

सदाचारको बहस

कुनै पनि विषयउपरको सार्थक बहसले विषयवस्तुलाई लक्षित उद्देश्य प्राप्तिको गन्तव्यमा पु¥याउँछ । सदाचार, नैतिकता, निष्ठा, मूल्य–मान्यता, देशभक्ति आदिका भावमा कमी आयो भन्ने गुनासो व्यापक छ । यी विषय व्यक्ति र संस्थाको व्यवहारजन्य क्रियाकलापमा रूपान्तरण किन हुन सकेनन् ? वा रूपान्तरण भए पनि मात्रात्मक फड्को किन मार्न सकेनन् ? यी यस्ता यक्ष प्रश्न हुन्, जसको उत्तर आजको जागृत समाजले मागिरहेको छ । 

प्रशासनको रूप अमूर्त हुन्छ, देखिँदैन तर अनुभव गरिन्छ । प्रशासन चलाउने मानव हात, ज्ञान र विवेक हुन् । जब मानवको ज्ञान र विवेक सदाचारले ओतप्रोत हुन्छ, उसले गर्ने कार्य उम्दा र सकारात्मक हुन्छन् । आमनागरिकले असल प्रशासनको अनुभव गर्छन् । प्रशासनको हरेक क्षेत्रमा रहेका व्यक्तिमा कस्तो शिक्षा र संस्कार दिइयो, त्यसले उसको सदाचार, नैतिकता, मूल्य र मान्यताको तहलाई निर्धारण गरेको हुन्छ । एउटा कर्मचारीको जति बढी नैतिक निष्ठायुक्त सदाचार बलियो हुन्छ, उसको कार्यसम्पादन उति उम्दा बन्छ । कारण उसले सार्वजनिक चासोलाई सम्बोधन गर्न सक्छ, प्रदान गरिने सेवामा स्वच्छता र निष्पक्षता ल्याउँछ, अख्तियारको दुरुपयोग रोक्छ र कठिन परिस्थितिमा पनि सही निर्णय गर्र्दै प्रभावकारी कार्यान्वयन गर्न सक्छ । फलतः सम्बन्धित कर्मचारी मात्रै होइन सिङ्गो प्रशासनउपर जनविश्वास बढ्छ । 

मुलुकको शिक्षा प्रणालीले हाम्रो प्राचीन मूल्यमान्यताको उपयोगिताबारे खासै चासो दिएको महसुस हुँदैन । सदाचार र नैतिकता जस्ता अति आवश्यक आचरण र व्यवहार तत्वलाई विद्यालय शिक्षाभित्र महत्व दिएको देखिँदैन । देशभक्तिको भावनालाई जागृत गराउने पठनपाठन र अभिमुखीकरण भए गरेको पाइँदैन । अधिकारबारे धेरै किसिमले पढाइन्छ तर अधिकारको प्रयोगसँगै कर्तव्य पालना गर्नुपर्नेतर्फ सिकाइँदैन, ध्यान दिइँदैन । त्यसैले हुन सक्छ, सामाजिक सञ्जाललगायत विभिन्न ई–प्लेटफर्ममा नकारात्मक विचारको सम्प्रेषण र प्रस्तुति व्यापक बन्दै गएको छ । यस प्रकारको नकारात्मक प्रस्तुतिले समग्रमा व्यक्ति वा समूह विशेषको मात्रै होइन समष्टिमा आफ्नै मातृभूमिको छवि धमिलो हुन्छ भन्ने विषयलाई हरेक नागरिकले सतत् संवेदनशील भएर बुझ्नु जरुरी छ । 

माथि चर्चा गरिएको सन्दर्भमा हेर्दा विद्यमान शिक्षा प्रणालीभित्र रहेको पाठ्यक्रममा परिवर्तन आवश्यक छ । यस्तो पाठ्यक्रमको निर्माण र कार्यान्वयन होस्, जुन पाठ्यक्रमले प्रारम्भिक कक्षादेखि एसइईसम्मको कक्षामा देशभक्ति, कर्तव्यअनुरागी, नैतिकता र निष्ठा, सदाचारिता एवं व्यावहारिक स्वच्छताबारे सिकाओस्, पढाओस् । आजदेखि सुरुवात गर्ने हो भने आगामी २० वर्षपछि तयार हुने जनशक्ति सार्वजनिक प्रशासनलगायतका अन्य शासकीय अङ्गमा  उम्दा जनशक्तिको रूपमा उध्र्वगामी प्रवृत्तिका साथ देखापर्ने छन् ।