• ४ जेठ २०८१, शुक्रबार

भ्रातृ र शुभेच्छुक संस्थाले चाँडो पूर्णता पाउनुपर्छ : नैनसिंह महर

blog

आगामी निर्वाचनमा भ्रातृ संस्थाको भूमिका विषयक अन्तरक्रिया कार्यक्रममा नेपाली कांग्रेस पार्टीका प्रवक्ता डा.प्रकाशशरण महत, केन्द्रीय सदस्य महरलगायत । तस्बिर : गोरखापत्र

काठमाडौं, असार ९ गते । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले तत्काल पार्टीको भ्रातृ संगठनलाई पूर्णता दिन आग्रह गर्नुभएको छ । बिहीबार राजधानीमा नेविसंघद्वारा आयोजित आगामी निर्वाचनमा भ्रातृ संस्थाको भूमिका विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै नेता महरले भ्रातृ संगठनले पूर्णता नपाउँदा पार्टी र संगठनका लागि काम गर्ने कार्यकर्ताहरूले स्थान नपाएको बताउनुभयो । 

पार्टीका भ्रातृ र शुभेच्छुक संस्थाले पूर्णता नपाउँदा काम गर्न निकै गाह्रो भइरहेको छ। क्याम्पस, जिल्ला, प्रदेश र केन्द्र सबै ठाउँमा भ्रातृ  र शुभेच्छुक संस्थाको नेतृत्व जाम छ, उहाँले भन्नुभयो,‘ युवासँगै थुप्रै व्यक्ति बाहिर रहेकाले स्वतन्त्रहरू सलबलाउन थालेका छन् । राजनीतिप्रतिको वितृष्णा बढ्दो छ।’

उहाँले राजनीतिप्रति युवा बर्ग र बाहिर रहेका मानिसको आकर्षण बढाउनका लागि चाँडोभन्दा चाँडो भ्रातृ तथा शुभेच्छुक संस्थालाई पूर्णता दिनुपर्ने बताउनुभयो ।पदाधिकारीसहितको पूर्ण आकारको कमिटी बनाउन पार्टी नेतृत्व पङ्क्तिको गम्भीर ध्यानाकर्षण गराउँदै उहाँले यस्तो गर्न सके मात्रै नयाँ परिस्थितिसँग प्रतिस्पर्धा गर्न सकिने दाबी गर्नुभयो । 

प्राय भ्रातृ संस्थाको सबै तहको समयावधि सकिएको छ । सबै भ्रातृ र शुभेच्छुक संस्थाको तह गत कमिटी बनाउन पार्टीको तह गत समितिलाई जिम्मा दिनु पर्ने बताउँदै महरले सबै तहमा पूर्ण कमिटी बनाउँदा २० हजार बढी नेता कार्यकर्ताले जिम्मेवारी पाउने र सबैले जिम्मेवारी प्राप्त गर्दा सक्रियता बढेर पार्टी गठबन्धन बिनै प्रतिस्पर्धा गर्न सक्षम हुने बताउनुभयो । 

जिम्मेवारी विहीनले के माग गर्ने ? कसलाई काम लगाउने ? अहिले धेरै युवा रनभुल्लमा छन् । अब यो परिस्थितिको अन्त्य हुनुपर्छ । पार्टीलाई जीवन्त पार्न भ्रातृ संस्थालाई पूर्णता दिनै पर्छ, महरले भन्नभयो,‘ पार्टीलाई सशक्त र पुनर्ताजकी बनाउन सञ्जीवनी बुटीको काम गर्छ । गाउँ-गाउँसम्म भ्रातृ संगठन पुग्दा जनताको घरघरमा पुगेर पार्टीको मिसन र भिजन बुझाउन पनि सहज हुन्छ ।’

‘नेविसंघ कांग्रेसको फ्याक्ट्री हो । नेविसंघको समिति पूर्ण नहुँदा प्रभावकारिता बढन सकेको छैन । यस्तै अन्य थुप्रै संगठनले पूर्णता पाउन सकेका छैनन् । ठूलो समूह जाम भएर बसेको छ। जसले पार्टीका गतिविधिमा ठूलो असर गरेको छ, महरले भन्नुभयो । उहाँले तुरुन्त भ्रातृ संगठनलाई पूर्णता नदिए पार्टीप्रतिको युवा आकर्षण घट्नेप्रति नेतृत्व गम्भीर हुनुपर्ने पनि बताउनुभयो । 

महरले पटक–पटक पार्टीको बैठकमा पनि आफूले यही माग राख्दै आएको बताउनुभयो । यसप्रति नेतृत्व पनि गम्भीर रहेकाले चाडै भ्रातृ संगठनले पूर्णता पाउनेमा आफू विश्वस्त रहेको महरको भनाइ छ ।