नेपाली कविता फाँटको लघु कविता र मुक्तक लेखनमा मानुषी उपस्थिति २०३० सालपूर्व शून्यको अवस्थामा देखिन्छ । त्यति बेला महिला स्रष्टाको उपस्थिति छैन भन्दा पनि हुन्छ । तिसको दशकमा पोखरेली उषा शेरचन लगभग एक्ली मानुषी थिइन् यो क्षेत्रमा । तिनको मुक्तकको सङ्ग्रह अक्षरहरूको शिविरबाट २०५६ सालमा प्रकाशित छ । उनी यसै विधालाई निरन्तरता प्रदान गर्ने उल्लेख्य नारी प्रतिभा हुन् ।
बाटो मात्र होइन हजुर भविष्यको समेत भएको छ चक्काजाम
जति नै योग्य भए तापनि योग्यता बमोजिम पाएको छैन काम
चक्काजाम गर्न तम्सिनेहरू हो ! यतिका वर्ष देश लुटेर पनि
गरिबगुरुवाको आङमा अहिलेसम्म पटक्कै लागेको छैन घाम
(उषा शेरचन)
तिसको दशकमा मुक्तक लेखन र प्रकाशनले गति मात्र लिएन युवा साहित्यकारका प्रयासले यो क्षेत्रमा एक उचाइसमेत थप्यो । पोखरा, विराटनगर र पाल्पा यसमा अग्रणी रहे । मुक्तक लेखन, प्रकाशन र यसको उन्नयन कार्यका कारण पोखरा मुक्तकको खानी जस्तो अनुभूति हुन्थ्यो । पोखरेली युवा सांस्कृतिक परिवारले २०३५ सालमा पोखरामा टीकटमा पहिलो पटक मुक्तक कार्यक्रम गरेपछि यो क्षेत्रमा एक बेग्लै हलचल पनि आयो । त्यहाँ यस प्रकारको गतिविधिलाई अगाडि ल्याउनमा र केही कालसम्म निरन्तरता दिने कार्यमा तिसको दशकका पोखरेली युवा साहित्यकार विजय वजिमय, तीर्थ श्रेष्ठ, उषा शेरचन, विनोद गौचन, सरुभक्त, प्रकट पङ्गेनी, शिवलगायतका साहित्यकारको निरन्तरता रह्यो । नेपाली मुक्तकको इतिहास खोतल्नेहरूले पोखराको यो घटनालाई एक मानक घुम्तीका रूपमा लिनु पर्छ भन्ने मेरो विचार हो ।
विराटनगरमा युवा साहित्यिक परिवार (युसाप) सित जोडिएका युवा साहित्यकारहरूले लघु कविता लेखनलाई र मुक्तकलाई समानान्तर रूपमा अघि बढाएका हुन् । यस क्रममा त्यति बेलाका युवा साहित्यकार महेश प्रसाई, प्रमोद प्रधान, अशेष मल्ल, विष्णु विभू घिमिरे, नारायण तिवारी, बद्री भिखारी, लक्ष्मण नेवटिया, इन्दिरा प्रसाई, कृष्णभूषण बल आदिका प्रयास उल्लेख्य छन् । पोखराबाट आँखीझ्याल (२०३५ साल) र काठमाडौँबाट बान्की (२०३६), दुबो (२०३८) जस्ता गोजी पत्रिका (गोजिका) हरूले लघु साहित्य लेखनलाई प्रश्रय दिएका हुन् ।
उसै गरी पाल्पाबाट विनयकुमार कसजुको सम्पादनमा प्रकाशित चौतारो हवाई पत्रिका (पहिलो हवाईपत्रे पत्रिका, २०३४ साल) मार्फत मुक्तकलगायत अन्य लघुसाहित्यको प्रवर्धनमा उल्लेखनीय काम भएको छ । एरोग्राम (हवाईपत्र) मा पत्रिका प्रकाशन गर्ने कार्य नेपालमै पहिलो र नौलो पनि थियो । चिठीपत्रमा प्रयोग गरिने हवाईपत्र अर्थात् एरोग्राम (स्वदेशी) मा साहित्यिक सामग्री प्रकाशन गरी लेखक कविहरूलाई तिनका ठेगानामा हुलाकमार्फत घर घरमै पठाएर साहित्यकै उन्नयन गर्ने यो सोचविचार र माध्यम नेपाली साहित्यमा एक नौलो प्रयास त हुँदै हो त्यसैले यस्ता पत्रका तीन पृष्ठभित्र लघुसाहित्य ः लघुकविता, मुक्तक, हाइकु, लघुकथा, लघु एकाङ्की आदिको विकासमा पनि मनग्गे आधारभूमि बनाइदियो । पछि यसै प्रकारको साहित्यिक प्रकाशनको एक खाले बाढी नै आएको देखियो ।
खास गरेर पाँचथर जिल्ला (२०५६ देखि २०६३ सम्म) हवाईपत्र (साहित्य प्रवर्धनमा एक उर्वर भूमि रह्यो । त्यहाँबाट रोशनी लगायत करिब पचासको सङ्ख्यामा हवाई साहित्यिक पत्रिकाहरू प्रकाशन भएका देखिन्छन् । हवाई साहित्यिक पत्रिका प्रकाशनको प्रचलन स्थगन जस्तै देखिए पनि लघुसाहित्य लेखन तथा प्रकाशन कार्यमा ती पत्रिकाले पुर्याएको योगदानको भने अलग्गै मूल्याङ्कन गर्न सकिन्छ । खास गरेर पछिल्लो समयमा सञ्चार प्रविधिमा आएको चामत्कारिक विकासका कारण डिजिटल मेडियाका सामाजिक सञ्जाल (फेसबुक आदि) ले तिसको दशकबाट आरम्भ भएको यस्तो प्रकाशनको माध्यमलाई पूर्णरूपले विस्थापन गरेको पाइन्छ ।
मुक्तकमा पुरुष उपस्थितिका तुलनामा विगतमा नारी स्रष्टाका उपस्थिति कम त हो । तथापि साठीको दशकपछि भने यो क्षेत्रमा उल्लेख गर्नलायकको सङ्ख्यामा नारी स्रष्टा देखिएका छन् । प्रस्तुत अध्ययनका लागि मुक्तकका केही मानक सङ्कलन, स्रष्टाका प्रकाशित कृतिलगायत विभिन्न पत्रपत्रिकामा प्रकाशित भइरहेका मुक्तकलाई आधार बनाइएको छ । त्यस क्रममा मञ्जुषा
(साहित्यिक त्रैमासिक) पत्रिकाका मुक्तकसम्बन्धी दुई वटा विशेषाङ्कहरू (२०५७ र २०५८) मा समावेश गरिएका २०१ जनामा १२ जना महिलाका मुक्तक छन् । त्यसमा सङ्कलित केही महिला प्रतिभाबाहेक धेरै नाम अहिले गुमनाम छन् । मञ्जुषा पत्रिका मुक्तकसम्बन्धी विशेषाङ्क प्रकाशन गर्ने पहिलो पत्रिका नभए पनि मुक्तकको उल्लेख्य सङ्कलन गर्ने पत्रिका भने बनेको छ । आधुनिक गजललाई विशिष्ठ स्थानमा पुर्याएका ज्ञानुवाकर पौडेलले सम्पादन तथा प्रकाशन गरेको सो पत्रिका धेरै अङ्क त निस्केन तर पत्रिकाले मुक्तक प्रकाशनका क्षेत्रमा पुर्याएको योगदानको भने कदर गर्नै पर्छ ।
समकालीन नेपाली मुक्तक (२०६९) मा १३७ जना मुक्तककारमा १३ जना, प्रज्ञा समकालीन नेपाली मुक्तक (२०७४) मा १५० मा २९ जना, मुक्तक माधुर्य (२०७५) मा २०१ जनामा ६४ जना र स्मारिका तथा मुक्तक सञ्चयन (२०७९) मा १०४ मा २६ जना महिला स्रष्टाका मुक्तक रचना समावेश छन् । करिब दुई दशकको अवधिमा प्रतिशतका हिसाबले हेर्दा यो अनुपात भनेको क्रमशः ६ प्रतिशत, ९.५ प्रतिशत, १९.३ प्रतिशत, ३१.८ प्रतिशत र २५ प्रतिशत देखिन्छ । यसरी मुक्तक लेखनमा हाल करिब १० देखि ३० प्रतिशतका सङ्ख्यामा नारी स्रष्टा आउनुलाई उपलब्धि नै मान्न सकिन्छ । केही सङ्ख्याका फुटकर मुक्तकले तिनका लेखकीय स्तरको आंशिक बाटोसम्म देखाउने भएकाले मूलतः मुक्तकका सिङ्गो कृति नभई कुनै स्रष्टालाई समालोचनाका कसीमा ल्याउनु अधुरो नै हुन्छ । ती पाँच वटा सङ्कलनमा सङ्कलित हुन पुगेका महिला स्रष्टाका मुक्तकलाई आधार बनाउँदा दुई दशकभन्दा केही बढी अवधि (२०५७, २०८१) भित्र मुक्तक सङ्कलनमा महिला स्रष्टाको समावेशीकरण (लैङ्गिक आधारमा) मा उल्लेख्य वृद्धि आएको अनुमान हुन्छ । पछिल्लो कालखण्डमा नयाँ स्रष्टाको उदय पनि भएको देखिन्छ । अचेल मुक्तकका नयाँ लेखकहरूको प्रकाशनलाई मघुपर्क, रचना, अभिव्यक्ति, जनमत, दायित्व, शब्दाङ्कुर, शिवपुरी सन्देश, कल्पतरुलगायत धेरै साहित्यिक पत्रिकाले राम्रै स्थान दिएका छन् ।
मुक्तक आफैँमा एक स्वतन्त्र काव्यिक विधा हो । कविताकै एक सङ्क्षिप्त रूप तर स्वतन्त्र र पूर्ण अर्थ दिने सङ्क्षिप्त छोटो रचना हो । यो फारसीको रुवाई, रुलाई, रुवाइयात शैलीकै एक रूप हो । चार हरफ, जसलाई चतुष्पदी भनिन्छ, भित्र कविले भन्न खोजेको कुरा सम्पूर्ण रूपमा छर्लङ्ग भन्न सक्नु नै यसको विशेषता हो । यो ए ए बी ए ढाँचामा लेखिने र पहिलो हरफले उठान, दोस्रोले त्यसको पुष्टि र तेस्रोले क्युरियोसिटी दिन खोजी अन्तिम हरफले पहिलोले उठान भएको कुरालाई प्रस्ट पार्ने कलाकौशलता मुक्तकमा हुनु पर्छ । नेपाल मुक्तक प्रतिष्ठान (२०७०) ले पोखरा घोषणापत्रलाई मानक मानेर पछ्याउनु पर्छ भनेको छ ।
उमर ख्यैयाम (फारसी कवि, एघारौँ शदी) का रुवाइयातलाई अङ्ग्रेजी कवि इड्वार्ड फिक्सेरल्ड एड्वार्ड फित्जेराल्डले सन् १८५९ मा अनुवाद गरेपछि यो शैली विश्व प्रसिद्धितिर लाग्यो । नेपालमा भीमदर्शन रोक्काले यसलाई विसं २०१० को प्रगति पत्रिकामार्फत गीत कवितामा भित्र्याएका हुन् । चतुष्पदीय स्वरूपमा आउने रुवाई र मुक्तकका आवरण केही फरक छन् नेपाली साहित्यमा । लघुकविताभित्र यसलाई राख्नु पर्छ तर फरक के छ भने लघुकवितामा कविताको शीर्षक अनिवार्य हुन्छ । सो भएन भने लघुकविताको अभीष्ट खुल्दैन, गन्तव्य खुल्दैन तर रुवाइयात, रुवाई या मुक्तकमा शीर्षक नभए पनि हुन्छ । चौथो पाउमा पुगेर मुक्तकको अभीष्ट खुल्नै पर्छ, एउटा बिजुली चम्के जस्तै झट्का स्पार्क गर्नै पर्छ । मुक्तकमा प्रयोग हुने शब्दका चयन, शब्द रचना, विम्ब संयोजनमा विशेष ध्यान लिनुका साथै ती रचनाका पूर्णतामा सुललित बहाब आउन सक्यो भने अझ राम्रो हुन्छ । क्लिष्टताभन्दा सरलता र सरसता अनि प्रस्टता यसले माग्ने मुख्य कुरा हुन् । मुक्तकले भन्न खोजेको अर्थ र भावका लागि पाठकले शब्दकोशहरू पल्टाउनेमा भन्दा पनि ती स्वयंमा प्रस्ट गरी आउने चाहना राखेका हुन्छन् ।
नेपाली कविहरूले मुक्तकको लेखन प्रयोग जानेर वा नजानेरै गरेको कुरा चाहिँ यस खाले छोटा छोटा कवितालाई के नामले पुकार्ने भन्ने देखिएको अन्योलबाट पुष्टि हुन्छ । मुक्तकलाई कसैले टुव्रmा भनेका छन् त कसैले छोटो कविता । कसैले छोक् भनेका छन् त कसैले चोइटा र कसैले टुव्रmाटाव्रmी कविता । भीमनिधि तिवारीले त पुतली भनेका छन् (बत्तीसपुतली, २०२७) । मुक्तक नै नाम दिएर चतुष्पदीय शैलीमा कविता रच्ने पहिलो कवि भने कृष्णप्रसाद पराजुली हुन् ।
विभिन्न प्रकारका छोटा कवितालाई नेपाली कविले तिसको दशकमा लघुकविता नाम दिएर राम्रो काम गरेका हुन् । आज लघुकविता होस् वा लघुकथा यी दुवै नेपाली साहित्यका विशिष्ट प्राप्ति भएका छन् । आरम्भकालीन मुक्तकमा प्रणय प्रशंसा, सौन्दर्य वर्णन, रूप, यौवन, युवती प्रेमिकाको वर्णन र मदिरा, माद वरिपरिका चातुर्यमा बढी समर्पित भेटिए पनि अचेल यसले समसामयिक विषयलाई पनि केन्द्रित गर्न थालेको छ । जसमा राजनीति, गरिबी, विपन्नता, बेरोजगारी, भ्रष्टाचार, नारीका पीडा, तिनमा भरहेका पौरुषेय दमन र नारी स्वतन्त्रताका आवाज, मानवीय मूल्यहीनता र समकालीन आर्थिक सामाजिक परिदृश्यसमेत समेटिन थालेका छन् ।
लघुकविता होस् वा मुक्तक तिनका विषयमा विविधता आएको छ । महिला स्रष्टाका मुक्तकमा नारीवादी सोच आउनुलाई स्वाभाविकै मानिन्छ । तिनका मुक्तकमा प्रयुक्त नेपाली नारीप्रतिका पौरुषेय सोच विरुद्धको विद्रोही चेत उल्लेख्य छ । लोटा चोटा र फोटामा मात्र सीमित नेपाली आमनारीका पीडालाई नारी मुक्तक सर्जकले पेचिलो तरिकाले प्रस्तुत गर्ने गरेका छन् ।
नेपाली लघुकवितामा खास गरेर मुक्तक (रुवाईमा आधारित चतुष्पदीय र स्वतन्त्र) र हाइकुको प्रयोगले व्यापकता पाएको छ । यस्तै प्रयोगका हिसाबले सूत्र कविता, गाउँखाने कविता, एकलाइनका कविता (एलाक) लेखन र तीन लाइनका कविता (तिलाक पनि भन्न सकिन्छ) आदि पनि देखिन्छन् । ती पनि लघु कविताकै स्वरूप हुन् । ।
पाँच सात र पाँच अक्षरभित्र सूत्रबद्ध हुने हाइकु पनि लघु कविता नै हो । तर पाठकले त्यसको बुझाइमा निकै कसरत गर्नुपर्ने हुन्छ । प्याज छोडाएर केस्रा केस्रा निकाले जस्तै गरेर बुझ्नुपर्ने हुन्छ । थोरै शब्दभित्र सूत्रात्मक वाक्यभित्र, दार्शनिक लाग्ने र गहन गम्भीर कुराहरू भन्न सक्नु हाइकुको विशेषता हो । चित्रात्मक सूक्ष्मता र सौन्दर्यको त्रिवेणी पनि हो हाइकु । हाइकुमा प्रकृति वा मौसमसम्बन्धी एक वटा शब्दको अनिवार्य उपस्थिति मानिन्छ । तर अचेल त्यो अनिवार्यतालाई कविहरूले पालना गरेको देखिँदैन । नेपाली हाइकु कवितामा पनि प्रकृतिभन्दा समसामयिक विषयहरू, राजनीति, अभाव र गरिबीका पीडा अभिव्यञ्जित छन् । कुनै विषयलाई चित्रात्मक ढाँचाबाट विम्बमा उतारेर काव्यिक प्रस्तुति दिन सक्नु नै हाइकु कविको सिप हो ।
तुलनात्मक रूपमा भन्ने हो भने मुक्तक र लघु कविता जस्तो हाइकु सरल र प्रस्ट बुझिने हुँदैन । पाठकलाई त्यसको गाँठो फुकाउनु नै कठिन कठिन हुन्छ । सूत्रबद्धता, सङ्क्षिप्तता र निश्चित ढाँचाभित्र आउनैपर्ने यसको सिद्धान्त हो । कवि तथा लघुकथाकार महेश प्रसाईंका शब्दमा भन्ने हो भने प्राचीन वेद र पुराण सबै सूत्रबद्ध शैलीमा लेखिएका छन् । शीर्षक पनि नहुने स्वयंमा पूर्ण जस्तो लाग्ने यसको विशिष्टता हुँदाहुँदै पनि केही नेपाली कविहरूले शीर्षक दिएर पनि हाइकु लेखेका छन् । हाइकुभन्दा तान्का धेरै प्राचीन हो, जसको इतिहास दशौँ शताब्दीको आरम्भिक कालसम्म पुग्छ । हाइकु मुक्तक झैँ प्रस्ट खुल्ने विधा भने होइन । यो केही अमूर्त जस्तै लाग्छ । पाठकले धेरै नै दिमागी मन्थन गरेर मात्र बुझ्न सक्ने भएकाले पठनमा सरलता कि बौद्धिक जटिलता ? भन्ने प्रश्न पनि योसित सँगसँगै गाँसिएर आउने हुन्छ । मुक्तकले दिने चमक र एउटा झड्का जस्तो यसमा हुन्न । पाठक दार्शनिक बनेर बुझ्न उभिनुपर्ने अवस्था आउनु हाइकुका कमजोरी हुन् ।
अहिले नेपाली कविता फाँटमा मुक्तक एउटा मानक उपविधा बनिसकेको छ । यसका स्रष्टा र तिनका रचना कृति प्रकाशन पनि बढ्दो छ । यस्तो लाग्छ नयाँ हुन् कि पुराना सबैले केही न केही मुक्तक लेखेकै छन् । उल्लेख्य कुरा त मुक्तककै उन्नयनका लागि भनेर नेपाल मुक्तक प्रतिष्ठानको स्थापना (२०७०) भएको छ । त्यसले मुक्तकसम्बन्धी एउटा राष्ट्रिय मानक (पोखरा घोषणापत्र, २०७०) पनि तय गरेको छ । भलै त्यो मानकलाई सबै मुक्तककारले मानेका नहोऊन् । उदाहरणका लागि विष्णुबहादुर सिंहलगायत पुष्कर लोहनी र श्रीराम श्रेष्ठले यो शैली (चतुष्पदीय) लाई अबलम्बन गरे पनि तिनका मुक्तकका संरचना परम्परागतभन्दा केही भिन्न पाइन्छ । सिंहको मौनता मुक्तक सङ्ग्रह फिज्जेराल्डले अवलम्बन गरेको शैलीलाई पच्छ्याएर प्रकाशित छ । यो शैली र चतुष्पदीय परम्परागत वा अधिकांश नेपाली मुक्तककारहरूले अवलम्बन गर्दै आएको शैलीमा केही ढाँचागत प्रस्तुतिको फरक मात्र हो, तेस्रो लाइनलाई कता पट्टिबाट अलिकति खाली ठाऊँ छाडेर लेख्ने भन्नेमा मात्र हो । अधिकांश मुक्तककारहरूले लेख्दै आएको ढाँचा चाहिँ परम्परागत वा शास्त्रीय हो, जसलाई नेपाल मुक्तक प्रतिष्ठानले पनि आफ्नो मानक मानेको देखिन्छ । देवनागरी शैली देब्रेतिरबाट दाहिने हुँदै लेखिने भएकाले खाली नै ठाउँ छाड्ने हो भने दाहिनेतिर छाड्नु उपयुक्त हुन्छ । उर्दू फारसी लिपि दाहिनेबाट देब्रेतिर लेखिने हुँदा सम्भवतः फिट्ज्जेराल्ड शैलीमा त्यसरी आएको हुनु पर्छ । रह्यो मुक्तकको विशिष्टताको कुरा, दायाँ होस् वा बायाँ जता खालि राखे पनि वा नराखे पनि त्यो पाउ वा लाइनले जिज्ञासालाई झल्काउने हुँदा त्यस्तो खाली स्थान देब्रे वा दाहिने जता ढल्काए पनि अर्थवत्ता र मुक्तकले दिने काव्यिक उच्चतामा कुनै ताìिवक फरक भने परोइन ।
नेपाली मुक्तकमा तिसको दशक
कृष्णप्रसाद पराजुली, हरिभक्त कटुवाल, वासु शशी, बैरागी काइला, भूपि शेरचन, रत्नशमशेर थापा, टेकबहादुर नवीन, ज्ञान उदास, शैलेन्द्र साकार, नन्द हांगखिम, मोहनहिमांसु थापा, चेतन कार्की आदिले २०३० सालपूर्वको नेपाली मुक्तकलाई एउटा उचाइ दिएका छन् (लेखकको अभिव्यक्ति पूर्णाङ्क १०० मा प्रकाशित आलेख) । तिसको दशक छोटा तथा लघुकविता प्रयोग र मुक्तक लेखनमा निकै सव्रिmय रह्यो । यही समयमा तिनका उत्कृष्ट सङ्ग्रहहरू पनि आए । वास्तवमा यो दशक मुक्तक प्रकाशनको उर्वर काल रह्यो । अहिले खास गरेर साठीको दशकपछि पुनः मुक्तक लेखन र प्रकाशन एवं संस्थागत विकासका उल्लेख्य काम हुन थालेका छन् । पोखरेली युवा सांस्कृतिक परिवारले २०३५ मा पोखरामा टिकट (सशुल्क) मा पहिलो पटक मुक्तक कार्यव्रmम गरेको इतिहासलाई बचाउन अचेल केही केहीले प्रयास गर्न थालेका छन् । तिसको दशकमा पोखरेली युवा साहित्यकारहरूः तीर्थ श्रेष्ठ, विजय वजिमय, उषा शेरचन, विनोद गौचन, सरुभक्त, प्रकट पङ्गेनी शिवलगायतको सव्रिmयताले पोखरा मुक्तकको राजधानी जस्तो अनुभूति हुन्थ्यो । मुक्तक लेखनमा पछिल्लो समयमा सव्रिmय रहेका नयाँ तथा पुराना पुस्ताका कविहरू राममान तृसित, ज्ञानुवाकर पौडेल, वियोगी बुढाथोकी, दिव्य गिरी, किशोर पहाडी, ध्रुव मधिकर्मी, रामकाजी कोने, राजेन्द्र थापा, जसध्वज गुरुङ, विष्णुबहादुर सिंह, श्रीराम श्रेष्ठ, रमेश पौडेल, हरिकृष्ण काफ्ले आदिका मुक्तक लेखनले नेपाली मुक्तकको भण्डारण निकै धनी भएको छ । केही नारी प्रतिभाले पनि त्यो भण्डारणलाई थप परिपूरण गरेका छन्, जुन प्रशंसनीय हो । अहिले तिसको दशकको जस्तै लघु कविताको लेखन प्रवाह त देखिँदैन तर चतुष्पदीय रुवाइयात शैलीका मुक्तक लेखन र प्रकाशनमा भने उल्लेख्य प्रयास भएका छन् । यो राम्रो कुरा हो । अहिलेको नेपाली मुक्तक लेखन, प्रकाशन र तत् विषयक अन्यान्य प्रयासः संस्थागत उजागरण र पे्ररणागत प्रयासलाई हेर्दा के भन्न सकिन्छ भने नेपाली कविता फाँट अहिले मुक्तकसमेतले गर्दा हराभरा देखिएको छ ।
वर्तमान नेपाली कविताको मुक्तक लेखन, प्रकाशन, मुक्तककै पत्रिका, मुक्तक सागर त्रैमासिक थप प्रगति हो ।
पछिल्लो समयमा नेपाली मुक्तकका क्षेत्रमा लेखकीय सिङ्गो कृतिबाहेकका केही अद्यावधिक सङ्कलन पनि प्रकाशित छन् । पहिले मुक्तक खोज्न कुनै कविता सङ्ग्रहका कुनाकानीतिर हेर्नुपथ्र्याे । अहिले पुस्तकाकारकै रूपमा उल्लेख्य कृति आएका छन् । समकालीन नेपाली मुक्तक. (सम्पादक ः बादल घिमिरे, २०६९), प्रज्ञा समकालीन मुक्तक (सम्पादक वियोगी बुढाथोकी र शशी लुलुम्बू, २०७४) र नेपाल मुक्तक प्रतिष्ठानबाट प्रकाशित पछिल्लो समयमा लेखिरहेका नयाँ र केही पुराना कविका मुक्तक समावेश गरिएका दुई वटा सङ्कलन मुक्तक माधुर्य (सम्पादक वियोगी बुढाथोकीसहित चार जना, २०७५) र स्मारिका तथा मुक्तक सञ्चयन (सम्पादक दिव्य गिरीसहित पाँच जना, २०७९) यो क्षेत्रका उल्लेख्य सङ्कलन हुन् । महिला स्रष्टाका मुक्तक सङ्ग्रहहरू उल्लेख्य सङ्ख्यामा मात्र छैनन्, निकै उत्कृष्टसमेत छन् । यसै व्रmममा पछिल्लो समयमा उज्ज्वल आगत लिएर देखापरेका नवोदित केही महिला मुक्तककार निलाञ्जला भारद्वाज, पार्वती भट्ट, मीना चौँलागाई, लक्ष्मी रायमाझी, शुभद्रा अधिकारी, मञ्जुश्री गिरी, नम्रता उप्रेती, शर्मिला कार्की सरु, उषा केसी आदि जसका सङ्ग्रहहरू प्रकाशनमा आएका छन् । मुक्तकबारे अध्ययन गर्नका लागि माथिका सङ्कलनका साथै महिला प्रतिभाका यी सङ्ग्रहहरू बलियो सामग्री हुन् । महìवपूर्ण कुरा प्रज्ञा प्रतिष्ठानले समेत मुक्तकको सङ्कलन प्राथमिकता दिएको छ । नेपालबाहिर अमेरिका, बेलायत, इजरायल लगायत प्रवासमा रहेका थुप्रै नेपाली स्रष्टाबाट पनि मुक्तक लेखनमा सव्रिmय देखिएका छन् ।
मुक्तकमा नयाँ नयाँ प्रयोग पनि देखिन थालेको छ । त्यसमध्ये माथि उल्लेख गरिएको फिट्जेराल्ड शैलीमा मुक्तक लेखन पनि हो । पाँचथरका एनबी अन्जानले रुवाइ शैलीमा मुक्तकमै महाकाव्य (कोपिला, २०६८) प्रकाशित गरेका छन् । पद्य मुक्तक नाम दिएर कवि तथा समीक्षक ठाकुर शर्मा भण्डारीले पूर्वीय छन्दविधानमा आधारित मुक्तक सङ्ग्रह २०७३ मा प्रकाशित गरेका छन् । वियोगी बुढाथोकी त नियात्रामा पनि मुक्तक प्रयोग गर्न सिपालु छन् । नेपाली मुक्तकमा महिला स्रष्टाको उपस्थिति २०३० को दशकका तुलनामा अहिले धेरै महिला मुक्तक लेखनमा सव्रिmय देखिएका छन् । तिनका मुक्तकले उठाएका स्वरको सघनता हेर्दा मुक्तकमा महिला आगतको उज्यालो सङ्केत हुँदै छ भन्ने मेरो आलोकन हो । तिनका मुक्तकले समसामयिक स्वर मात्र उठाएका छैनन्, केही स्रष्टाले उठाएका लैङ्गिक र नारीगत चेतनाले भरिएका स्वर, विद्रोही चेत र प्रगतिशील चिन्तना उल्लेख्य छन् । तिनका रचनामा नारीका स्वतन्त्रता, समानता, समावेशिता र लैङ्गिक आवाज समेतका पक्षमा अभिएको स्वर बुलन्द भएर आएको पाइन्छ । पक्कै पनि नेपाली मुक्तकका माध्यमबाट नारी प्रतिभाहरूले देखाएको नारीवादी अवधारणाका यस्ता उल्लेख्य आवाजलाई महìवका साथ हेरिनु पर्छ ।
महिला प्रतिभाका कतिपय मुक्तकमा समकालीन राजनीतिक परिदृश्य र तिनका वरिपरि बुनिएका जालझेल, दाउपेचका विम्बबोधन राम्रैसित आएका छन् भने कतिपयमा गरिबीका पीडा र सामाजिक विकारमाथि प्रहार गरिएका नाना विषय पनि मिहीन गरी आएका छन् । कतिपयका मुक्तकमा पे्रमका गहिराइ झल्कने मधुर ध्वनि, वाणी, आग्रह र सौन्दर्य रसपानले भरिएका प्रेमील भावनाहरूको गहिरो उपस्थिति पाइन्छ । कतिपय मुक्तकहरूमा नारी–पुरुष सम्बन्धलाई दिगो बनाउने पवित्र मन्त्रणाका उजागर छन् । कतिपयमा पौरुषेय दमन मानसिकतामाथि चुनौती पनि छन् । कतै देशपे्रमका भक्तिभाव र कतै न्यानो र सम्पूर्ण पे्रमको समर्पण भावनाका गुञ्जन छन् । कतिले वैदेशिक रोजगारीका पीडालाई उप्काएका छन् त कतिले गणतान्त्रिक समयका झैझगडा र पहिचानवादका उत्तालहरूलाई पनि मुक्तकमा स्वर दिएका छन् ।
कवि तथा व्याकरणकार कृष्णप्रसाद पराजुलीले सुक्तिमय, साङ्केतिकता, प्रगीतात्मक र एकै आवृत्तिमा भाव सम्प्रेषित हुन सक्ने लोकप्रिय कवितात्मक अभिव्यक्ति नै मुक्तक हो भनेका छन् । समालोचक तथा नाटककार मोहनराज शर्माका विचारमा लघुत्तम आकारको काव्यात्मक अभिव्यक्ति मुक्तक हो । यसै गरी कवि तथा नाटककार सरुभक्तका अनुसार मुक्तक कविताको एक आवृतियुक्त छोटो रूप हो जुन आफैँमा पूर्ण स्वतन्त्र हुन्छ । समालोचक कुमारबहादुर जोशीले मुक्तकलाई कविताकै गुण धर्म र प्रवृत्ति अँगाल्ने एक स्वतन्त्र, अस्तित्वशाली, छोटो मिठो र प्रभावशाली कवितात्मक अभिव्यक्ति हो भनेका छन् । मुक्तकको संरचनालगायत त्यसका शास्त्रीयतामाथि समालोचक डा. लक्ष्मण गौतमको विशद् आलेख (मुक्तक माधुर्य, २०७५) यो क्षेत्रमा लाग्नेहरूका लागि सङ्ग्रहणीय छ ।
मुक्तक लेखन र प्रकाशनका जागरण ल्याउनमा पछिल्लो समयमा संस्थागत प्रयासहरू पनि भएका पाइन्छन् । यसमा लाग्ने स्रष्टाहरूलाई प्रोत्साहन गर्ने अभीष्टले विभिन्न पुरस्कार राशि र सम्मानसमेतको व्यवस्था भएको देखिन्छ । कतिपय व्यक्तिले त आफ्ना माता पिता वा आफ्नै नाममा होइन कुनै वरिष्ठ मुक्तककारकै नाममा समेत पुरस्कार राखिदिएर उदाहरणीय बनेका देखिन्छन् । नेपाल मुक्तक प्रतिष्ठानले भीमदर्शन रोक्का (५१ हजार राशि) र रत्न शमशेर (चेतन कार्कीका नामको मुक्तक पुरस्कार (३१ हजार) वितरण गर्दै आएको छ । उसै गरी हालसालै मात्र केही युवा मुक्तककारहरूले आफ्ना अग्रज मुक्तककारका नाममा उषा शेरचन, सरुभक्त र ज्ञानुवाकर पौडेलका नाममा पुरस्कारको व्यवस्था गरिएको छ । विदेशतिर पनि जहाँ नेपालीहरूको बसोवास छ, साहित्यमा चाख राख्नेहरूबाट मुक्तक प्रतिष्ठानहरू गठन भएका हुँदा आजको नेपाली मुक्तक स्वदेशी सीमाभन्दा बाहिर फैलिएर त्यसको
अन्तर्राष्ट्रियकरण पनि हुँदो छ । यो राम्रै पक्ष हो । आज ज्ञानुवाकर पौडेलले २०५७ सालमा उनकै सम्पादनमा प्रकाशित थोरै वटा मात्र अङ्क प्रकाशनमा सीमित मञ्जुषा (त्रैमासिक) को मुक्तक विशेषाङ्क (२०५७ वर्ष २, अङ्क १) प्रकाशन गर्दा मुस्किलले खोजेर दुई तीन जना महिला मुक्तककार (ती आज सव्रिmय देखिएनन्) सङ्कलित गरिएको अवस्था आज पक्कै पनि छैन । अघि माथि उल्लेख गरिसकिएकै छ, अब महिलाहरू सङ्ख्यात्मक रूपमा र सङ्ग्रहका हिसाबमा पनि अगाडि देखिन थालेका छन् । वर्तमान नेपाली मुक्तकको यो बलियो पक्ष हो । अब मुक्तकका अनुवाद, यसको अध्ययन र पठनपाठनलगायत मुक्तककै अनुसन्धानका वृत्तिमाथि पनि ध्यान दिन सकियो भने त्यसले यो क्षेत्रलाई अझ सशक्त बनाउने छ । मधुपर्क