• ३१ वैशाख २०८३, बिहिबार

कारागार सुधार तत्काल गरिने

blog

प्रदेश सुरक्षा समितिको बैठक । तस्बिर : मुख्यमन्त्रीको सचिवालय

अविनाश चौधरी 

धनगढी, साउन २७ गते । क्षमताभन्दा पाँच गुणा बढी कैदीबन्दी रहेको कैलाली कारागारलाई प्रदेश सरकारले तत्काल सुधार गर्ने भएको छ । कारागारभित्र कैदीबिच हिंसात्मक झडपपछि आइतबार राति मुख्यमन्त्री कमलबहादुर शाहको अध्यक्षतामा बसेको प्रदेश सुरक्षा समितिको बैठकले कारागारलाई तत्काल प्रदेश सरकारले सुधार गर्ने निर्णय गरेको हो । आन्तरिक मामिला तथा कानुन मन्त्रालयले कारागारभित्र हेलोजन लाइट, सिसी क्यामरा जडान, कारागारको छानालगायतका आवश्यक मर्मत तत्काल सुरु गर्ने बैठकले निर्णय गरेको छ । 

समितिको बैठकले कारागारको सुरक्षार्थ खटिने सुरक्षाकर्मीलाई तीन/तीन महिनामा अदलीबदली गर्ने व्यवस्था मिलाउने निर्णय गरेको समितिका सदस्यसचिव एवं आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सदस्यसचिव आमोद दाहालले जानकारी दिनुभयो । यस्तै कारागार प्रशासन र आन्तरिक मामिला तथा कानुन मन्त्रालयको समन्वयमा कारागार सुरक्षाका लागि कारागार ऐनमा आवश्यक सुधारका लागि सङ्घीय सरकारलाई अनुरोध गर्ने निर्णय समितिले गरेको छ । 

कैलाली कारागारभित्र रहेको कैदीको सङ्ख्या कारागारको क्षमताभन्दा पाँच गुणा बढी देखिएका कारण उत्पन्न सुरक्षा चुनौती न्यूनीकरण गर्न कारागारको क्षमता अनुसार कैदीबन्दी व्यवस्थापनका लागि कारागार विभागसँग समन्वय गर्ने बैठकमा निर्णय गरिएको छ । १७५ जना क्षमताको कैलाली कारागारमा ६९९ कैदी राखिएको छ । कारागारभित्र जाने खाद्यान्न, तरकारी तथा अन्य वस्तुको निगरानी र जाँच बढाउन कारागार प्रशासन र सुरक्षाकर्मीलाई प्रमुख जिल्ला अधिकारीमार्फत निर्देशन दिने निर्णय समितिले गरेको छ । कैलाली कारागारमा रहेका कैदीबन्दीको सङ्ख्याभन्दा हालको कारागारको क्षमता निकै कम रहेका कारण सुरक्षा चुनौती उच्च देखिएको समितिको ठहर छ । यो कारागारको क्षमता अभिवृद्धि गर्न र सुविधासम्पन्न कारागारको पूर्वाधार तथा खुला कारागारको अवधारणा कार्यान्वयन गर्न सङ्घीय सरकारसमक्ष अनुरोध गर्ने निर्णय सुरक्षा समितिको बैठकले गरेको छ । 

आन्तरिक मामिला तथा कानुन मन्त्रालय र कारागार प्रशासनबिच समन्वय गरी कारागारभित्र कैदीबन्दीलाई मनोवैज्ञानिक परामर्श, सकारात्मक सोच विकास गर्ने खालका कार्यव्रmम सघन रूपमा सञ्चालन गर्ने निर्णय गरिएको छ । कैदीबन्दीका लागि पुस्तक पनि उपलब्ध गराउने समितिको बैठकले निर्णय गरेको छ । कैलाली कारागारमा कैदीबिचको हिंसात्मक झडपमा परी ज्यान गुमाएका भरत चौधरीको परिवारलाई प्रदेश सरकारले पाँच लाख रुपियाँ सहयोग गर्ने भएको छ । प्रदेश सुरक्षा समितिको बैठकले राहतस्वरूप चौधरीको परिवारलाई प्रदेश सरकारले सहयोग गर्ने निर्णय गरेको हो । शुक्रबार राति कारागारभित्र कैदीबिच हिंसात्मक झडप हुँदा घाइते धनगढी उपमहानगरपालिका–४ का ४० वर्षीय चौधरीको उपचारका क्रममा ज्यान गएको थियो । उक्त घटनामा ४७ जना कैदी घाइते भए । घाइते कैदीको सरकारी खर्चमा उपचार गर्ने व्यवस्था मिलाउने निर्णय बैठकले गरेको छ । घाइते कैदीको धनगढी र काठमाडौँमा उपचार भइरहेको छ । 

परिवारले बुझे शव 

धनगढी उपमहानगरपालिका–४ का ४० वर्षीय भरत चौधरीको शव परिवारले बुझेका छन् । जिल्ला प्रशासन कार्यालयले घटनाको न्यायोचित छानबिन हुने र मृतककी १५ वर्षीय छोरीको निःशुल्क शिक्षाका लागि पहल गर्ने प्रतिबद्धता जनाएपछि परिवारले सोमबार शव बुझेका हुन् । यसअघि हत्यामा संलग्न कैदीबन्दीको पहिचान गरी कारबाहीका दायरामा ल्याउनुपर्ने मागसहित परिवारले शव उठाउन मानेका थिएनन् । जाहेरीपछि शवको पोस्टमार्टम गरी परिवारलाई बुझाइएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिनुभयो । 

पूर्ववत् अवस्थामा कारागार 

कैदीबिच हिंसात्मक झडप भई मध्यरातमा रणमैदान बनेको कैलाली कारागारको शान्तिसुरक्षाको अवस्था पूर्ववत् अवस्थामा फर्किएको छ । झडपपछि कैदीको नियन्त्रणमा रहेको कारागार झन्डै ४० घण्टापछि सामान्य बनेको हो । घटनापछि कारागारलाई कैदीले नियन्त्रणमा लिएका थिए भने सुरक्षा निकाय थुनुवा कक्षसम्म पुग्न सकेको थिएन । 

आइतबार साँझ राष्ट्रिय मानव अधिकार आयोगको टोलीको रोहबरमा सुरक्षा निकाय र कारागार प्रशासन थुनुवा कक्षसम्म पुगेर कैदीका माग सुन्नुका साथै उनीहरूको गणना गरेको थियो । १७५ क्षमताको कैलाली कारागारमा सात सय कैदी राखिएको थियो । चौधरीको ज्यान गएपछि ६९९ कैदी छन् । क्षमताभन्दा बढी कैदी र नाजुक अवस्थाको कारागारमा तत्कालका लागि स्थिति साम्य भएको र शान्तिसुरक्षाको अवस्था पहिलेको जस्तै भएको राष्ट्रिय मानव अधिकार आयोग धनगढीका प्रमुख प्रकाशदत्त भट्टले बताउनुभयो । कैदीले कारागार विभाग र गृह मन्त्रालयसम्म आफ्ना माग र समस्याबारे छलफल गर्न चाहेको प्रमुख भट्टले बताउनुभयो । हिंसात्मक झडपपछि कारागारमा कैदी गणना, भेटघाटलगायतको कार्य प्रभावित भएको थियो । अवस्था सामान्य बनेपछि कैदीसँग भेटघाट र संवाद गर्न दिइएको छ ।