• २ भदौ २०८२, सोमबार

कृषिको आधुनिकीकरण

blog

नेपाल कृषिप्रधान देश हो । प्रधानको शाब्दिक अर्थ मुख्य हुन्छ । यस्तो प्रमुख क्षेत्रमा राज्यले वैज्ञानिक योजना बनाउन सकेको छैन । जसरी न्युजिल्यान्ड, इजरायल, भारत, चीनलगायतका देशले कृषि उत्पादन र उत्पादकत्वको विकास गरेका छन्, त्यही मोडेलमा कृषिक्षेत्रको आधुनिकीकरण, यान्त्रिकीकरण, व्यापारीकरण तथा आयआर्जनको स्रोतका रूपमा विकास गर्न जरुरी छ । कृषिक्षेत्रलाई आधुनिकीकरण नगरेसम्म देशका किसान परिवारको आर्थिक अवस्थामा सुधार हुन सक्दैन । समग्रमा देश विकास हुन सक्दैन । 

कृषिक्षेत्रको विकासको पहिलो आधार दक्ष कृषक उत्पादन गर्नु हो । अहिले पनि ६० प्रतिशतभन्दा बढी मानिस कृषिक्षेत्रमा संलग्न रहेको तथ्याङ्क छ । देशको यति ठुलो जनशक्ति कृषिमा संलग्न भएता पनि खाद्यान्नमा देश परनिर्भर छ । हरेक वर्ष अर्बौं रुपियाँको खाद्यान्न आयात भएको छ । यसो हुनुको पछाडि देशको कृषि क्षेत्रमा राज्यले ठोस ध्यान नदिएकाले हो । हाम्रो देशका किसानमा कृषि शिक्षाको ज्ञान तथा सिपको अभाव छ । विद्यालय शिक्षामा कृषि शिक्षालाई प्राथमिकता दिइएको छैन । देशमा एउटा मात्र कृषि विश्वविद्यालय छ । त्यहाँबाट उत्पादन भएका कृषि विशेषज्ञ विदेश पलायन भएका छन् भने कोही जागिरे जीवनमा आबद्ध छन् । 

त्यसो त मुलुकमा कृषिको विकासका लागि कृषि मन्त्रालय, कृषि विभाग, कृषि विकास बैङ्क, कृषि सहकारीलगायतका संस्था संलग्न छन् । कृषि उत्पादन दिनानुदिन घट्दै गइरहेको अवस्था छ । गाउँघरका खेतबारी बाँझिँदै गएका छन् । उब्जाउ हुने जमिनमा सिँचाइको अभाव छ । यस वर्ष तराईमा पानी नपर्दा समयमा रोपाइँ हुन सकेन । एकातिर सिँचाइ, मल, बिउलगायतका समस्या व्याप्त छन् भने अर्कोतिर यी समस्याबिच गरिने कृषि प्रणाली पनि परम्परागत शैलीको छ । किसानमा आधुनिक कृषि प्रणालीसम्बन्धी सोचको अभाव छ । कस्तो हावा, पानी र माटो भएको जमिनमा कस्तो उब्जनी हुन सक्छ भन्नेबारे अनुसन्धान नै नगरी आफूखुसी गरिने खेतीले उत्पादन दिन सक्दैन । यस सन्दर्भमा सरकारले हरेक पालिकामा आधुनिक कृषि प्रणालीका पर्याप्त तालिम सञ्चालन गरी दक्ष कृषक उत्पादन गर्नु पर्छ । यसो नगरी कृषिमा आधुनिकीकरण हुन सक्दैन । 

देशका किसानलाई आर्थिक समृद्धिको बाटोमा हिँडाउनका लागि कृषि क्षेत्रको विकास अनिवार्य सर्त हो । सरकारले हरेक स्थानीय तहमा कृषि तालिम, उन्नत बिउ र मलको व्यवस्था, सिँचाइको सुविधा, बजार व्यवस्थापनलगायतका क्षेत्रमा प्रभावकारी कार्ययोजना बनाएर कार्यान्वयन गरेपछि मात्र कृषिमा आधुनिकीकरण हुन सक्छ । कृषिक्षेत्रको विकासको नारा अलापेर मात्र विकास हुने होइन । साँच्चै नै कृषिक्षेत्रलाई रूपान्तरण गर्ने हो भने कृषिक्षेत्र अन्तर्गत खेती र पशुपालनको क्षेत्रलाई आधुनिक प्रणालीमा बदल्नु पर्छ । खेती अन्तर्गत खाद्य र नगदे बाली पर्छन् भने पशुपालन अन्तर्गत गाई, गोरु, भैँसी, भेडा, बाख्रा, च्याङ्ग्रा, बङ्गुर, सुँगुर, कुखुरापालन, मौरीपालन, मत्स्यपालन आदि पर्छन् । उल्लेखित क्षेत्रलाई आधुनिकीकरण, यान्त्रिकीकरण तथा व्यवसायीकरण नगरी आर्थिक विकास हुन सक्दैन । यसका लागि पहिलो चरणमा कृषि तथा पशुपालनका क्षेत्रमा संलग्न किसानलाई आधुनिक उत्पादनसम्बन्धी कृषि शिक्षा आवश्यक छ । 

नेपालको ग्रामीण क्षेत्रमा आर्थिक अवस्था सुधार्ने बलियो आधार कृषि र पशुपालनको आधुनिकीकरण, यान्त्रिकीकरण एवं बजारीकरण नै हो । नेपाली समाजको आर्थिक अवस्था उकास्नको लागि कृषि उत्पादन र उत्पादकत्वको बृद्धि गर्नु अपरिहार्य सर्त हो । नेपाली समाज अहिले आर्थिक समृद्धिको पर्खाइमा छ । गाउँको विकास नभई देशको विकास सम्भव हुँदैन । तर विडम्बना ! युवा गाउँ छाडेर विदेश गएका छन् । गाउँघरका खेत, बारी, डोल, फाँट बाँझिएका छन् । गाई, भैँसी, भेडा, बाख्रा, च्याङ्ग्रा, चौँरी गोठ भत्किएका छन् । कतिपय उब्जाउ हुने भूमिमा डोजर लगाएर प्लटिङ गरिएको छ । यस अवस्थामा राज्यले कृषि क्षेत्रलाई आधुनिकीकरण, यान्त्रिकीकरण, व्यवसायी तथा आयआर्जनको स्रोत बनाउने भनिएको छ । वैज्ञानिक कार्ययोजना छैन ।  

सरकारले देशको अर्थतन्त्रको स्तर अनुरूप कृषिमा बजेट विनियोजन पनि गरेको छ । जति बजेट कृषिक्षेत्रमा विनियोजन गरिएको छ, यसको प्राथमिकताका आधारमा खर्च भएको छैन । राज्यले पहिलो चरणमा हिमाली, पहाडी र तराई क्षेत्रको हावापानी र माटोको अनुसन्धान गरी के कस्ता उत्पादन हुन सक्छन् भन्ने कुराको जानकारीका लागि कृषि विज्ञलाई हरेक पालिकामा खटाउनु पर्छ । हरेक पालिकामा कृषि उत्पादन र पशुपन्छी, हल्टिकल्चर, फ्लोरिकल्चर अन्तर्गतका विभिन्न उत्पादनको सम्भावना अध्ययन गरी स्थानीय कृषकलाई कृषि शिक्षाको पर्याप्त तालिम दिनु पर्छ । तत्पश्चात् दोस्रो चरणमा कृषि र पशुपन्छी पालनमा लाग्ने कृषकलाई अनुदान, सस्तो ब्याजदरमा ऋण, बजार व्यवस्थापन, बिमालगायतको सुविधा प्रदान गर्ने ठोस कार्ययोजन ल्याउनु पर्छ । यसो हुन सकेमा गाउँपालिका अन्न, तरकारी, फलफूल, माछा, मासु, दुग्ध पदार्थ आदिमा आत्मनिर्भर बन्न सक्छन् । ग्रामीण अर्थतन्त्रको विकास हुन्छ । स्वरोजगारमा वृद्धि हुन्छ । विदेश जान तयारीमा रहेका युवाको मन बदलिएर आधुनिक कृषि प्रणालीमा संलग्न हुन थाल्छन् । विदेशबाट फर्किएर युवा आफ्नै गाउँघरमा कृषि तथा पशुपालनको क्षेत्रमा लाग्ने वातावरणको सिर्जना हुन्छ ।

किसानमा आधुनिक कृषि प्रणाली अवलम्बन गर्न सक्ने ज्ञान र प्राविधिक सिप नभई कृषि क्षेत्रको आधुनिकीकरण सम्भव हुँदैन । केही वर्षअघिसम्म खाद्यान्नको निर्यात देश अहिले अर्बौं रुपियाँको खाद्यान्न, फलफूल, माछा, मासु, तरकारी जस्ता खाद्य पदार्थमा निर्यात नगरी नेपालीको भान्सा चल्न सक्ने अवस्था छैन । देशको कृषि प्रणाली परम्परागत भएकाले यस क्षेत्रबाट पर्याप्त उत्पादन र आयआर्जन हुन सकेको छैन । फलतः कृषिक्षेत्र उपेक्षित हुँदै गएको छ । आफ्ना खेतबारी बँझाएर लाखौँको सङ्ख्यामा युवा विदेशमा गएर आधुनिक कृषि तथा पशुपालन फार्ममा काम गरिरहेको अवस्था छ ।   

अधिकांश नेपालीको खाना, नाना र छानाको स्रोत कृषिक्षेत्र हो । कृषिक्षेत्रको आधुनिकीकरण, यान्त्रिकीकरण र व्यवसायीकरण नगरी कृषकको जीवनस्तर राम्रो हुन सक्दैन । ग्रामीण अर्थतन्त्रको विकास नभएसम्म देश विकास हुन सक्दैन । देशमा भइरहेको व्यापार घाटा कम हुन सक्दैन । अहिले विश्व बजारमा कृषिक्षेत्रलाई आधुनिकीकरण गर्नका लागि अनेक प्रकारका उपकरण, बिउबिजनको सुविधा उपलब्ध छ । व्यापारीकरणका लागि विद्युतीय उपकरण, सोसल मिडिया, अनलाइन प्लेट फर्म आदिको सुविधा छ । यी सुविधाको प्रयोग गर्न सक्ने दक्ष जनशक्ति उत्पादन आजको आवश्यकता हो ।  

अन्त्यमा राज्य र कृषिक्षेत्रमा संलग्न सबन्धित निकायले यस क्षेत्रको विकासका लागि चरणबद्ध रूपमा काम गर्न आवश्यक छ । दक्ष जनशक्तिको अभावमा कृषिक्षेत्रको आधुनिकीकरण गर्ने कुरा अव्यावहारिक हुन्छ । यसर्थ राज्यले कृषिक्षेत्रको आधुनिकीकरण गर्ने यात्रामा कृषि विज्ञद्वारा हरेक पालिकामा त्यहाँको हावापानी, माटो, उत्पादनको सम्भावनाको अनुसन्धान गर्नु पर्छ । यसका साथै दक्ष जनशक्ति उत्पादन गर्न पालिकाव्यापी कृषि शिक्षाका तालिम सञ्चालन गर्न आवश्यक हुन्छ । यसो भएपछि कृषि उत्पादनको आधार तयार हुन्छ । अनि मात्र अन्य आवश्यक कार्य योजनाबद्ध रूपमा गर्दै जानु पर्छ ।