• २ भदौ २०८२, सोमबार

सन्दर्भ : यदुनाथ खनालको ११२ औँ जन्मजयन्ती

कूटनीति र साहित्यका नक्षत्र

blog

देशको कूटनीतिक, बौद्धिक, शैक्षिक, प्रशासनिक र साहित्यिक क्षेत्रमा अत्यधिक मानिसले चिनेको अन्तर्राष्ट्रियस्तरमा समेत सम्मानित नाम हो, सरदार यदुनाथ खनाल, जसको नाम मात्रै उच्चारण गर्दा पनि प्राज्ञिक र कूटनीतिक समुदाय हर्षित र कम्पित भएको अनुभव गर्छ । नेपाली प्राज्ञिक समाजका सर्वप्रिय र सर्वप्रेरक व्यक्तित्व यदुनाथको जन्म विसं १९७० साउन २८ गते तनहुँको मानुङमा शिक्षित परिवारमा भएको हो । उनले २०६१ असोज १६ गते ९१ वर्षको उमेरमा आफ्नै निवास बानेश्वरमा मृत्युवरण गरे । 

विसं १९९९ मा त्रिचन्द्र कलेजमा अङ्ग्रेजी विषय पढाउने गरी जागिरे जीवनमा प्रवेश गरेका थिए, यदुनाथ । डेढ दशकभन्दा लामो समय प्राध्यापन पेसामा समर्पित गरी निजामती सेवामा प्रवेश गरेका थिए । नेपालको निजामती प्रशासनलाई सुदृढ पार्न उनले अथक प्रयत्न गरे । प्रशासनबाट उनी कूटनीतिक क्षेत्रमा रहेर योगदान गर्ने निष्कर्षमा पुगे । नेपालको कूटनीतिक इतिहासको सैद्धान्तिक आधार तयार गर्ने मुख्य योजनाकार उनलाई नै मानिन्छ । नेपाललाई विश्वसामु चिनाउन उनले गरेको योगदान प्रशंसनीय छ ।

भारत, चीन र अमेरिका जस्ता महत्वपूर्ण मुलुकका लागि नेपाली राजदूत भएर कूटनीतिक सिद्धान्त निर्माण गरी त्यसको वस्तुनिष्ठ प्रयोग गर्ने अवसर पाउनु यदुनाथका लागि महत्वपूर्ण अवसर हो, जुन अवसर आफ्नै कर्मले जुटाएको हो । त्यसैले त वरिष्ठ कूटनीतिक र कुशल प्रशासक नाम लिँदा यदुनाथ अग्रपङ्क्तिमा आउँछन् । कूटनीति र प्रशासन सँगसँगै साहित्यमा पनि उनको विशेष योगदान छ ।

यदुनाथले असम्पन्न अवस्थामा पनि संस्कृत शिक्षाको चाहिँदो ज्ञान प्राप्त गरे । जीवनका विकराल, विषम र जटिल परिस्थितिसँग लड्दै भिड्दै विदेशी भाषामा समेत उच्च ज्ञान हासिल गरी लेखन, अध्ययन र अध्यापन कलामा चरम सफलता प्राप्त गर्नु उनको वैशिष्टयता हो । ग्रामीण घरेलु अध्ययनबाट जन्म हुने लोभलाई त्याग गर्दै उनले लेखन कलातिर लागेर मातृभाषाको सेवा गरे । प्रबन्ध र समालोचनामा पाश्चात्य शैली अँगालेर पनि नेपाली समाज सुधारको पक्षमा युगबोध र नवचेतनाको प्रेरणा जगाउने काम उनीबाटै भयो ।

साहित्य, विज्ञान र दर्शनका त्रिवेणी यदुनाथले नेपाली भाषा, साहित्यका क्षेत्रमा उच्च योगदान गरेका छन् । साहित्य लेखनको प्रारम्भतिरै निबन्ध लेखन क्षेत्रमा यदुनाथले विद्यार्थी जीवनदेखि क्षमता प्रस्तुत गर्नुभएको थियो । यदुनाथ १९९२ सालको एसएलसी परीक्षामा प्रथम श्रेणीमा प्रथम हुन सफल भए ।

उनी १९९३ सालमा त्रिचन्द्र कलेजमा भएको निबन्ध प्रतियोगितामा सर्वाधिक ६० अङ्क प्राप्त गरी स्वर्ण पदकका लागि योग्य घोषित भए । महाकवि लक्ष्मीप्रसाद देवकोटा परीक्षक रहेको उक्त कलेजस्तरीय निबन्ध प्रतियोगितामा आठ जना प्रतिस्पर्धी थिए । निबन्धको शीर्षक ‘पृथ्वी, समुद्र र आकाश’ रहेको थियो । निबन्ध प्रतियोगितामा सहभागीले आआफ्नो क्षेत्रमा नाम कमाए । हुने बिरुवाको चिल्लो पात भने झैँ जीवनको प्रारम्भिक चरणबाटै हुँदो रहेछ भन्ने तथ्य यदुनाथको जीवनीले प्रस्तुत गरेको छ । विद्यार्थी जीवनदेखि नै चर्चित यदुनाथको पहिलो रचना संवत् १९९७ सालको शारदामा प्रकाशित ‘बाटो बिलायो’ शीर्षकको निबन्ध हो ।

नेपाली साहित्यमा यदुनाथको कठोर निबन्धले कठोरताको मार्मिक परिभाषा दिँदै एउटा मानक प्रस्तुत गरेको छ । संसारमा मानिस मानिसमा परम्परागत रूपमा रातदिन भइरहने चराचर व्यापी जो महासङ्ग्राम छ; त्यो जीवनका लागि आवश्यक र लाभदायक छ भन्ने तर्क उक्त निबन्धमा प्रस्तुत गरिएको छ । यसको विपरीत राष्ट्रिय घोषणाद्वारा गरिने राष्ट्र राष्ट्रको सङ्ग्राम प्राकृतिक होइन, कृत्रिम हो भन्ने कठोरतासम्बन्धी व्यापक धारणा छ । कठोर निबन्धमा कठोरता सृष्टिको नियमको प्रतिकूल र नम्रता नियमको अनुकूल हो भन्ने महत्वलाई देखाउनु निबन्धको अभिप्राय छ । मानव जातिमा कठोर आत्मा भएका भन्दा नरम स्वभावका मानिस बढी लोकप्रिय एवं सहनशील र सुशील भएको तथ्य निबन्धमार्फत प्रमाणित गरिएको छ ।

उनको चर्चित नारी जीवन निबन्धमा बाहिरी जगत्का नारी जस्तै नेपाली नारीले पनि सामाजिक बन्धनलाई तोडी प्रगतिशील पथमा लाग्नु अपरिहार्य छ भन्दै नारीप्रति सम्मानसहित आग्रह पनि गरिएको छ । पाश्चात्य समाज नेपाली समाजभन्दा धेरै फरक छ तर पाश्चात्य नारी समाज बन्धनबाट पृथक् रहँदा आफ्नै समाजभित्र होइन भन्ने कसरी शङ्का गर्नु ? प्रतिप्रश्न गर्छन् । ‘नारी जीवन’ निबन्धमा चिन्तक यदुनाथले परिवर्तित सन्दर्भमा समाजसापेक्ष पक्षलाई अँगालेर पाश्चात्य र पूर्वीय नारीका बारेमा गहन र तुलनात्मक अध्ययन गरिएको छ । नारी जीवनमा परिवर्तन ल्याउन खोज्ने विद्वान्ले नारी जीवनलाई एक स्वयम् सम्पूर्ण जीवन सम्झनुको सट्टामा नेपाली सामाजिक जीवनको एक अङ्गका रूपमा सम्झनु पर्छ भन्ने उनको निचोड छ ।

पूर्वीय र पाश्चात्य साहित्यको अध्ययन गरी समालोचना क्षेत्रमा यदुनाथले महत्वपूर्ण भूमिका लेखेका छन् । नेपाली समालोचनामा साहित्यिक योगदान र विकासका लागि उनले सैद्धान्तिक समालोचनाको आधार स्तम्भसमेत दिएका छन् । कवि भानुभक्त आचार्यबारे पहिलो समालोचना मोतीराम भट्टले गरेका थिए । उनले प्रारम्भ गरेको समालोचनालाई सूर्यविक्रम ज्ञवाली, रामकृष्ण शर्मा बाबुराम आचार्य र डा. ईश्वर बरालले अघि बढाए । त्यतिबेलासम्म समालोचनात्मक आधार थिएन, बरु प्रमाणपरक समालोचना गरी गुण र दोषलाई आैँल्याएको मात्र देखिन्छ । यी दुवै पक्षलाई नहेरी आलोचना गर्दा आइपर्ने बाधा एवं समस्याप्रति यदुनाथको समदृष्टि पुगेको छ । 

वस्तुको गुण, दोष र तिनका समस्याको मन्थन गरेर र यदुनाथको समालोचना साहित्यमा प्रवेश भएको छ । संस्कृत, अङ्ग्रेजी र नेपालीमा गरी उनका एक दर्जनभन्दा बढी ग्रन्थ प्रकाशित छन् । जीवनमा प्राध्यापनदेखि प्रशासन एवं कूटनीतिक क्षेत्रमा भारत, चीन र अमेरिकासम्म निवास गरेका यदुनाथको अनुभव र क्षेत्र व्यापक छ । उनका प्रयोगात्मक समालोचना पनि प्रशस्तै छन् । सबैभन्दा बढी महत्व दर्साउने समालोचनाको सिद्धान्त नेपाली भाषा प्रकाशिनी समितिले विसं २००३ सालमा पहिलो पटक प्रकाशित गरेको हो । यो नेपाली साहित्यको प्रथम सैद्धान्तिक समालोचना कृति हो । 

सैद्धान्तिक र व्यावहारिक दुवै कलामा ज्यादै निपुण यदुनाथले कवि कृतिको समालोचना गर्नु पहिले समालोचनामा सिद्धान्तको खाँचोको अनुभव गरेका हु्न् । पूर्वीय र पाश्चात्य दृष्टिकोणको तुलनात्मक विवेचनासहितको तत्सम्बन्धी सिद्धान्त र व्याख्या समालोचनाको सिद्धान्तमा प्रस्तुत छ । प्रथमतः यदुनाथ एक स्वतन्त्र प्राज्ञिक चेतनाको प्रतिमूर्ति हुन् । उनले पाश्चात्य शिक्षा, साहित्य हुँदै नेपाली साहित्यमा अमूल्य योगदान दिएका छन् । 

सिर्जनाका बहुविधाका सर्वाधिकार प्राप्त प्रतिभा यदुनाथको सर्वाधिक मूल्यवान् प्राप्ति ‘नेपाली समालोचना’ नै हो । पाश्चात्य नेपाली भाषामा समालोचनाका नवचिन्तनलाई नेपाली साहित्यमा प्रवेश गराउने सात जना अग्रजमध्ये यदुनाथ सर्वाधिक प्रतिभा हुन, जसले पाश्चात्य साहित्य सिद्धान्तलाई किस्ता किस्तामा नेपालीमा बुझाए । विधागत परिचय र समालोचनात्मक दृष्टि प्रवर्धन गर्न लेखिएको यस कृतिमा नेपाली भाषा लेखनमाथिको विशेषाधिकार प्रतिविम्बित छ । नेपाली समालोचनाको सिद्धान्त नवीन भएर पनि गहन हुनु र प्रथम भएर पनि अनन्तसम्म उत्तिकै मूल्यवान् रहनु यसको सुन्दर पक्ष हो ।

नेपाली समालोचनाको सैद्धान्तिक विधामा सफल विद्वान्का यथेष्ट व्यावहारात्मक आलोचना पनि छन् । यदुनाथमा युगसापेक्ष साहित्यबाट समाजसापेक्ष उत्तरदायित्वको बोध गराउने चाहना देखा पर्छ । पूर्वीय र पाश्चात्य दर्शनलाई समेटेर नेपाली समालोचना गर्ने पहिलो सर्जक नै यदुनाथ हुन् । अङ्ग्रेजी साहित्यको प्राध्यापनदेखि कूटनीतिक सेवामा रहँदा पनि यदुनाथको नेपाली समालोचनाको विषयमा आजीवन अभिरुचि कायमै रह्यो । साझा प्रकाशनले पहिलो पटक प्रकाशित गरेको यस कृतिमामहत्वपूर्ण लेख, प्रतिभा परिचय एवं तिनका कृति परिचयबारे गहन अध्ययन गरिएको छ ।

आफ्नै कृतिबारे यदुनाथ लेख्छन्, “साहित्य अरू कला जस्तै मानवीय विशेषता हो, जातीय वा राष्ट्रिय विशेषता होइन । विभिन्न साहित्यिक विभूति राष्ट्रिय विभूति हुनु संयोगको कुरा हो, सारको होइन । उत्कृष्ट साहित्यले जहिले पनि मानवताको चुचुरोतिर ताक्छ, प्रस्तुत कृतिमा सोही अनुरूप विश्लेषण गरिएको छ ।” समसामयिक साहित्यिक गतिविधि र कवि कृतिबारे स्वतन्त्र समीक्षा गर्ने खाँचो र तत्परताले रङ्ग प्रदान गरिएको यो मौन भङ्ग नेपाली आलोचना साहित्यमा सिप र उत्कृष्टता थप्ने प्राप्ति हो । कविका प्रायः कविता, काव्य तथा साहित्यबारे समय समयमा चर्चा गरिएका फुटकर कृतिको सङ्ग्रहमा लेखकले समालोचनात्मक विशिष्ट भावना व्यक्त गरेका छन् । यो कृति नेपाली साहित्यको समालोचकीय उपलब्धि हो । 

नेपाली वाङ्मय समाजका यशस्वी विद्वान् यदुनाथले अङ्ग्रेजी कविता संस्कृत र संस्कृतका श्लोक अङ्ग्रेजीमा अनुवाद गरेका छन् । अङ्ग्रेजी भाषामा परराष्ट्र मामिलाका सम्बन्धमा लेखिएका उनका आधा दर्शन कृतिले विदेश नीतिबारे राम्रो विवेचना र व्याख्या गरेका छन् । अङ्ग्रेजी भाषामा नेपालसम्बन्धी पुस्तक लेख्ने थोरै नेपाली विद्वान्को कोटीमा  उनी अग्रपङ्क्तिमा पर्छन् । यदुनाथका अङ्ग्रेजी ग्रन्थ कूटनीति मामिलासम्बन्धी विश्वकोश जस्तै हुन् । यदुनाथले देवकोटा, सिद्धिचरण र भूपि शेरचनको विश्लेषणात्मक परिचयको अङ्ग्रेजीमा अनुवाद गरेका छन् ।

उनको सूक्तिसञ्चय संस्कृतमा लेखिएको महत्वपूर्ण पद्य कृति हो । संस्कृत कवितामा आधारित सूक्तिसञ्चय संस्कृतसाहित्यको फाँटमा दुर्लभ प्राप्ति हो । सूक्तिसञ्चय केही मौलिक र केही विविध अन्य भाषाबाट संस्कृतमा अनुवाद गरिएका कविताको सङ्कलन हो । पण्डितराज जगन्नाथको संस्कृत भामिनीविलासको समश्लोकी समच्छन्दी नेपाली अनुवाद हो । अन्तर्राष्ट्रिय मामलासम्बन्धी कृतिले यदुनाथलाई प्रतिभाशाली अन्तर्राष्ट्रिय लेखकको कोटीमा उभ्याएको छ । उनले नेपाली साहित्यमा भानुभक्त र नेपाली भाषा, काव्यको अध्ययन, काव्य र काव्यशास्त्र, उपमा रूपक प्रतीक र सामाधिक सपना, सिर्जना सम्प्रेषण र समालोचना, नेपाली साहित्यमा चिन्तनको बटुलबाटुल, देवकोटा र शाकुन्तल : एक विचरण, माधव घिमिरेका कविताको सानो परिक्रमा र मृगस्थली निबन्धसङ्ग्रहबारे लेखिएका उनका साहित्य सिर्जना हुन् । 

‘यदुनाथ खनाल : जीवनी र विचार’ उनका बारेमा लेखिएको ज्यादै गहन र पठनीय पुस्तक हो । नेपाली साहित्यको विभिन्न कालखण्डमा देखा परेका कृतिमध्ये ‘सूक्तिसिन्धु’ एउटा मौलिक परम्परा हो । यस कृतिलाई लिएर यदुनाथले सूक्तिसिन्धुको मूल्याङ्कनको खोजमा समालोचना गरेका छन् । यस कृतिबारेमा विराट् प्राज्ञिक व्यक्तित्व यदुनाथ र रामकृष्ण शर्माबिचको वजनद्वार बौद्धिक बहस दरो र स्तरीय छ । नेपाली समाजका एक प्रखर अध्ययनशील र चिन्तनशील सर्जक यदुनाथका भूमिका र मन्तव्यसम्बन्धी लेखलगायत विभिन्न कालखण्डमा प्रस्तुत अन्तर्वार्ताले पनि नेपाली साहित्यभण्डारलाई कालजयी बनाएको छ । प्रशासन, कूटनीति र साहित्यका त्रिवेणी यदुनाथको जन्मजयन्तीका अवसरमा उनीप्रति हार्दिक श्रद्धासुमन !