तेहरान, साउन २६ गते । इरान र अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आइएइए) बीचका वार्ताहरू ‘प्राविधिक’ र ‘जटिल’ हुने इरानको विदेश मन्त्रालयले सोमबार बताएको छ । गत महिना तेहरानले आइएइएसँग सम्बन्ध तोडेपछि पहिलो पटक आणविक निगरानी संस्थाको भ्रमण अगाडि यो भनाइ आएको हो ।
जुन महिनामा इजरायल र अमेरिकाले १२ दिनको हवाई युद्ध छेडेपछि दुवै पक्षबिचको सम्बन्ध बिग्रियो । हवाई युद्धमा इरानका मुख्य आणविक सुविधाहरूमा बम वर्षा भयो । इजरायलले इरानमाथि हवाई आक्रमण गर्ने एक दिनअघि जुन १२ मा आइएइए बोर्डले इरानले आफ्ना अप्रसार दायित्वहरू उल्लङ्घन गरेको भनेपछि युद्धलाई जन्म दियो ।
आइएइएले एजेन्सीका उपप्रमुखको भ्रमणका बारेमा तुरून्त विज्ञप्ति जारी गरेको छैन । भ्रमणमा इरानी आणविक साइटहरूमा कुनै योजनाबद्ध पहुँच समावेश हुने छैन । इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघाईले पत्रकारलाई विदेशमन्त्री अब्बास अराघचीसँग बैठक हुन सक्ने उल्लेख गर्दै भन्नुभयो, “तर यी प्राविधिक वार्ता, जटिल वार्ताहरू भएकाले वार्ताको नतिजा के हुने छ भनेर भविष्यवाणी गर्न अलि चाँडो हुने छ ।”
बाघाईले इजरायलसँगको जुन महिनाको युद्धको समयमा आइएइएको ‘अनौठो अवस्था’ को पनि आलोचना गर्नुभयो । “२४ घण्टा निगरानीमा रहेको देशका शान्तिपूर्ण सुविधा आक्रमणको निशाना बने र एजेन्सीले बुद्धिमत्तापूर्ण र तर्कसङ्गत प्रतिक्रिया देखाउनबाट टाढा रह्यो र आवश्यक भएअनुसार यसको निन्दा गरेन”, उहाँले भन्नुभयो ।
यसअघि अराघचीले एजेन्सीसँगको सहयोग दुवै पक्षले कसरी सहयोग गर्छन् भन्ने कुराको पुनर्परिभाषाका बारेमा हुने बताउनुभएको थियो । एजेन्सीको सहयोगलाई अब इरानको सर्वोच्च सुरक्षा निकाय, सुप्रिम राष्ट्रिय सुरक्षा परिषद्ले अनुमोदन गर्नुपर्ने छ । यो निर्णयले सम्भवतः निरीक्षकको तेहरानको कार्यक्रम ट्र्याक गर्ने क्षमतालाई थप सीमित गर्ने छ । इरानले युरेनियमलाई हतियार-ग्रेड स्तरको नजिक समृद्ध बनाउँदै आएको थियो ।
इजरायलले इरानसँग हवाई युद्ध छेड्दा अमेरिकाले तीन वटा प्रमुख इरानी आणविक साइटमा बम वर्षा गरेपछि इरानी राष्ट्रपति मसुद पेजेस्कियानले जुलाई ३ मा देशलाई आइएइएसँगको सहयोग स्थगित गर्न आदेश दिनुभएको थियो । इजरायली आक्रमणमा धेरै सैन्य कमान्डरसहित करिब एक हजार एक सय जनाको मृत्यु भएको थियो । इरानको जवाफी आक्रमणमा इजरायलमा २८ जनाको मृत्यु भएको थियो । रासस/एपी