• २ भदौ २०८२, सोमबार

के–फुड उद्यमशिलता तालिम सम्पन्न

blog

काठमाडौँ, साउन २६ गते । गणतन्त्र कोरिया सरकारको आर्थिक सहयोगमा कोइका नेपाल तथा एचआरढी कोरियाको समन्वयमा सञ्चालित के–फुड  उद्यमशिलता तालिम कार्यक्रम काठमाडौँमा सम्पन्न भएको छ। 

सो अवसरमा नेपालका लागि गणतन्त्र कोरियाका राजदूत पार्क थेयङले कोरिया सरकारको आर्थिक सहयोगमा सञ्चालन भएको के–फुड (कोरियाली परिकार–प्रशिक्षण तालिमा भाग लिएका प्रशिक्षार्थीहरूलाई नेपालमानै उद्यमी बनाउन लक्षित रहेको जानकारी दिनुभयो । 

मन्तव्यका क्रममा राजदूत पार्कले उद्यमशीलता सिप विकास तालिमले कोरियामा रोजगारको अनुभव भएका व्यक्तिहरूले स्वदेशमानै उद्यमी भई सफल हुने सम्भावनाका बारेमा उल्लेख गर्नुभयो । 

त्यसैगरी केहि महिना अगाडि दूतावासले प्रकाशनमा ल्याएको कोरियाको अनुभवमा आधारित तपाईं पनि मालिक बन्न सक्नुहुन्छ नामक पुस्तकमा समावेश भएका ५० जना सफल उद्यमीहरूको प्रेरणादायी कथाको बारेमा जानकारी गराउँदै नयाँ उद्यमीलाई विभिन्न किसिमका तालिमले मार्ग दर्शन गर्ने बारेमा उल्लेख गर्नुभयो । 

साथै कोईका नेपालका प्रमुख, खोङ मुहनले के–हामी परियोजना मार्फत कोरियामा रोजगारको अनुभव भएका युवा पुस्तालाई विभिन्न प्रशिक्षण तालिम मार्फत स्वदेशमानै उद्यमी बनाउनका लागि ध्यान केन्द्रित गरेको बताउँदै स्थिर दिगो विकासका लागि नेपालसँग हातेमालो गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । 

श्रम मन्त्रालयका सहसचिव कृष्णप्रसाद सापकोटाले कोरिया सरकारको सहयोगमा सन् २०२२ बाट सञ्चालन भएको उद्यमशिलता तथा पुनर्स्थापना कार्यक्रम मार्फत धेरै व्यक्तिहरू लाभान्वित हुने अपेक्षा रहेको उल्लेख गर्नुभयो । 

मन्तव्यका क्रममा उनले उद्यमशिलता विकासका लागि सञ्चालन गरिएको  विभिन्न प्रशिक्षणका माध्यमबाट उद्यमशीलता सिप विकासले गती लिने बताउनुभयो । 

कोरियाली भोजनालय स्थापना गर्ने उद्देश्य लिएका १५ जना प्रशिक्षार्थीलाई तालिम दिनका लागि कोरियाबाटनै भोजन विज्ञ दुई जना नेपालमा आएर आठ दिन सम्म सञ्चालिन ४५ घन्टाको तालिममार्फत चलनचल्तीमा रहेका प्रख्यात कोरियाली खानाको परिकार तकबोख्की, थाख्खाङजाङ्, हेजाङखुग, खाम्जाजन्, थाख्थोरीथाङ् लगायतको परिकार बनाउने सीप हस्तातरण गरेका छन् ।  

प्रशिक्षार्थी मध्ये तीन जनाले उक्त तालिममा उत्कृष्ट नतिजा हासिल गरी प्रशंसापत्र प्राप्त गर्नुका साथै  सबै प्रशिक्षार्थीलाई प्रमुख अतिथी राजदूत पार्कले प्रमाणपत्र वितरण गर्नुभएको थियो । 

कोरिया सरकारले कोरियामा रोजगारीको अनुभव भएका युवाहरूलाई लक्षित गरी विभिन्न सहयोग मार्फत दिगो स्टार्टअप इकोसिस्टम विस्तार गर्नका लागि निरन्तर लागि पर्ने योजना रहेको बताएको छ । त्यसैगरी स्टार्टअपमार्फत रोजगारी सिर्जना भई नेपालको अर्थतन्त्र थप मजबुत हुने विश्वास लिएको छ ।