• ९ भदौ २०८२, सोमबार

अध्यक्ष ज्ञवालीको शपथ

पार्टी सम्बद्ध प्रतिष्ठान र फाउन्डेसनहरू पार्टी विपरीत प्रयोग हुनुहुँदैन : अध्यक्ष ओली

blog

प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली मदन–आश्रित स्मृति प्रतिष्ठानका नवनिर्वाचित अध्यक्ष प्रदीपकुमार ज्ञवालीलाई बधाइ दिनुहुँदै । तस्बिर : अध्यक्ष ओलीको सचिवालय

ललितपुर, साउन २६ गते । प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टी सम्बद्ध प्रतिष्ठान र फाउन्डेसनहरू व्यक्तिगत स्वार्थमा नभई पार्टीको आन्दोलन र समग्र हितमा केन्द्रित हुनुपर्ने बताउनु भएको छ ।

मदन–आश्रित स्मृति प्रतिष्ठानको नवनिर्वाचित अध्यक्ष प्रदीपकुमार ज्ञवालीको शपथ ग्रहण कार्यक्रमलाई आज सम्बोधन गर्दै प्रतिष्ठानका प्रमुख संरक्षकसमेत रहनुुभएका अध्यक्ष ओलीले स्थापित नेताको सम्मानमा खोलिएका र पार्टीसँग जोडिएका प्रतिष्ठान र संस्थाहरू ठगी खाने भाँडो हुन नहुने स्पष्ट गर्नुभएको हो । 

मदन–आश्रित स्मृति प्रतिष्ठान तत्कालीन महासचिव मदनकुमार भण्डारी र तत्कालीन सङ्गठन विभाग प्रमुख जीवराज आश्रितको निधनपछिको शोकको घडीमा जनताको बहुदलीय जनवाद (जबज) को वैचारिकतालाई अगाडि बढाउन २०५० जेठ ९ गतेको पार्टी निर्णयबाट खोलिएको हो ।

अध्यक्ष ओलीले भन्नुभयो, “पार्टीले मदन जयन्ती मनाउने सन्दर्भमा पनि पर्याप्त ध्यान नदिएको अवस्थामा व्यक्तिगत आधारमा मदन भण्डारी फाउन्डेसन खोलिएको थियो । अहिले फाउन्डेसनका गतिविधि र यसको नेतृत्वले आन्दोलनप्रति निष्ठा देखाउन छाडेको छ । यस्ता संस्थाहरू पार्टीसँग निष्ठावान हुनुपर्छ । पार्टी हित विपरीत प्रयोग हुनुहुँदैन ।’’

उहाँले सामाजिक अध्ययन, व्यक्तिको गुणवत्ता, निष्ठा र ज्ञानको विकासका साथै मानवीय चेतना र अनुशासन वृद्धिमा काम गर्न प्रतिष्ठानको नयाँ नेतृत्वलाई आग्रह गर्नुभयो । 

गत प्रतिष्ठानका तत्कालीन अध्यक्ष प्रदीप नेपालको गत वैशाख २३ गते निधन भएकाले प्रतिष्ठानको यही साउन २३ गतेको ३१ औँ साधारणसभाबाट एमालेका उपमहासचिव ज्ञवालीलाई अध्यक्ष निर्वाचित गरेको थियो ।