• ८ भदौ २०८२, आइतबार

दक्षिण कोरियाका पूर्वन्यायमन्त्रीलाई आममाफी दिने तयारी

blog

सियोल, साउन २६ गते । दक्षिण कोरियाका पूर्व न्यायमन्त्रीलाई बाँकी जेल सजाय मिनाह गर्ने तयारी भएको अधिकारीहरूले सोमबार बताएका छन् । पूर्व न्यायमन्त्री चो कुकलाई आफ्ना छोराछोरीको कलेज भर्ना सम्बन्धी शैक्षिक ठगी गरेको अभियोगमा सजायको आधाभन्दा कम समय मा नै यसै साता माफी दिइने भएको हो ।

शैक्षिक ठगी गरेको अभियोग लाग्नुपूर्व चो कुकलाई सन् २०१९ मा राष्ट्रपति पदका लागि उम्मेदवारी दिने अनुमान गरिएको थियो । चो र उहाँकी पत्नी चुङ क्युङ-सिम दुवैलाई उक्त अभियोगमा दोषी ठहराइयो र क्रमशः दुई र चार वर्षको जेल सजाय सुनाइयो । सन् २०२३ मा अधिकांश सजाय भुक्तान गरेपछि चुङलाई पेरोलमा रिहा गरिएको थियो । आठ महिनाको जेल जीवनपछि चोलाई शुक्रबार रिहा गर्ने तयारी भइरहेको छ । 

न्यायमन्त्री जुङ सुङ–होले स्वतन्त्रता दिवसको अवसरमा क्षमादानको घोषणा गर्दै सोमबार पत्रकार सम्मेलनमा भन्नुभयो, “राज्यमा उनीहरूको योगदान र अपराधको गम्भीरतालाई ध्यानमा राख्दै हामीले २७ जना प्रमुख सरकारी अधिकारी र राजनीतिज्ञलाई क्षमादानको सूचीमा समावेश गरेका छौँ ।” पूर्व राष्ट्रपति मून जे–इनका सहयोगी तथा कानुनविद् चोलाई सन् २०१९ मा न्याय मन्त्रालयको नेतृत्व गर्न नियुक्त गरिएको थियो ।

त्यसको केही समयपछि, उहाँको परिवार शैक्षिक भर्ना घोटालामा फसेको थियो । उहाँहरूलाई सन्तानका लागि कलेजमा भर्ना हुन नक्कली कागजातको प्रयोग गरेको अभियोगमा दोषी ठहर गरिएको थियो । उहाँलाई अमेरिकी विश्वविद्यालयमा आफ्नो छोरालाई पठाउन दिइएको अनलाइन परीक्षामा नक्कली कागजात प्रयोग गरेको अभियोगमा पनि दोषी ठहर गरिएको थियो ।

सियोलको सेन्ट्रल डिस्ट्रिक्ट कोर्टले चोलाई सजाय सुनाउँदै भनेको थियो, “चो दम्पत्तीले कलेजको प्रोफेसरको रूपमा आफ्नो पदको दुरुपयोग गर्दै धेरै वर्षसम्म भर्ना प्रक्रियामा बाधा पुर्याएको र उहाँको अपराधको प्रकृति गम्भीर रहेको उल्लेख छ । रासस/एएफपी