नेपाली खेल जगत्ले बिस्तारै व्यावसायिक गतिको सङ्केत दिन थालेको छ । यसको सुरुवात क्रिकेटबाटै भएको छ । विभिन्न देशमा लोकप्रिय बनिरहेको फ्रेन्चाइ क्रिकेटको अनुसरण गर्दै नेपालमा पनि अगाडि बढ्न थाल्यो । नेपाल प्रिमियर लिग (एनपिएल) ले धेरै आशा जगाएको छ । फ्रेन्चाइ लिगका विशेषता भन्नु नै फ्रेन्चाइ (टिम मालिक) को मोडल, सहरको नाममा टिम र मार्की प्लेयर, खेलाडी बोल कबोलद्वारा टिम तयार पार्नु हो । ठुलो धनराशिमा टेलिभिजन प्रसारण अधिकारको बिक्री टिमको ब्रान्डिङ गरिन्छ । यसबाट खेल क्षेत्रको विकास र विस्तारसँगै खेलाडीको आर्थिक जीवनमा पनि सकारात्मक प्रभाव पर्ने छ । अहिले क्रिकेटमा उदाउँदै गरेको एनपिएलको गत वर्षको पहिलो संस्करणमै आइपिएलसँग तुलना गर्न थालिएको छ । सुरुवाती संस्करणमै विश्वको सबभन्दा महत्वपूर्ण फ्रेन्चाइ क्रिकेट लिगको शीर्ष पाँचमा परेको छ । आइपिएल, बिग ब्यास, पिएसएल, सिपिएल मात्र एनपिएलभन्दा अगाडि छ । यसका केही कारण छन्– एनपिएलमा करिब एक अर्ब रुपियाँको लगानी छ । यसै गरी टी–२० संरचनामा आवश्यक आधार सहभागी जस्तै टिमबिचको प्रतिद्वन्द्विता, ग्लामर, सनसनीपूर्ण खेल र सबभन्दा महìवपूर्ण दर्शकको ठुलो क्रेज आदि सबै रहे । एनपिएल टिमहरूले पनि फेसबुक, यु्ट्युब, इन्स्ट्राग्राम जस्ता सामाजिक सञ्चालनको उपयोग गरेर ठुलो मात्रामा समर्थक कमाए । त्यसैले पनि महँगो टिकटबिच पनि एनपिएलमा हरेक खेलमा खचाखच दर्शकको उपस्थिति रह्यो । यसले व्यावसायिक भविष्यलाई आकर्षण दिइरहेको देखिन्छ ।
क्यानले एनपिएलमा लगानी गर्यो । अहिले नाफा नभए पनि पछिका लागि ‘ब्रान्ड भ्यालु’ बनाउने सोच क्यानको छ । टिम खरिद गर्नेले आफ्नै तरिकाले टिमलाई हाँकेका छन् । प्रायोजन र आर्थिक साधन जुटिरहेको छ । पुरस्कारका लागि समेत करोडौँ रुपियाँ खर्च गरिएको छ । नेपाली खेलाडीले कार र महँगो मोटरसाइकलसहित अनेक पुरस्कार पाएका छन् । खेल्न खेलाडीले तुलनात्मक रूपमा राम्रो आर्थिक लाभ पाएका छन् । प्रतिभा खोजबाट छानिएका आइकोनिक खेलाडीलाई पनि राम्रो रकम दिइएको छ । खेलाडीहरू फाइभ स्टार होटेलको सुविधामा बस्न सके । क्रिकेटप्रति खेलाडीको गौरव बढेको छ । गत हप्ता नेपाल क्रिकेट सङ्घ क्यानले पहिलो संस्करणमा कुल २७ करोड ६९ लाख ६४ हजार ८१८ रुपियाँ आम्दानी गरेको छ । कुल खर्च २० करोड १५ लाख ७३ हजार ५५९ रुपियाँ रहेको सार्वजनिक हुँदा वित्तीय अवस्था राम्रो देखिन सकेको छ । आम्दानीलाई सबै फ्रेन्चाइ टिम र प्रदेशलाई समेत वितरण गरियो । आम्दानी वितरणपछि आम्दानी दुई करोड ४६ लाख ५० हजार ७८९ रुपियाँ रहेको पारदर्शी नतिजा देखियो । अब दोस्रो संस्करण अझ बृहत् रूपमा गर्ने तयारी भइरहेको छ । यस अनुरूप शनिबार खेलाडी बोलकबोल आकर्षक रूपमा अगाडि बढ्यो ।
एनपिएलको नियम अनुसार सबै टिमलाई अधिकतम ९० लाख रुपियाँ खर्च गर्ने अधिकार दिइएको थियो । जसमध्ये प्रायः टिमले आधाभन्दा बढी रकम खेलाडीमै खर्च गरे । विदेशी खेलाडीको हकमा भने बजेटको सीमा तोकिएको छैन । सबै टिममसक्ष अझै अधिकतम पाँच विदेशी खेलाडी टिममा भित्र्याउने अवसर छ । अझ यस प्रतियोगितामा टिमहरूले विश्वका राम्रा खेलाडी आबद्ध गर्ने भनेका छन् । एनपिएलमा एक टिमले चार विदेशी खेलाडी ल्याउन सक्ने प्रावधान छ । एनपिएलमा नाम चलेका विदेशी क्रिकेटर ल्याउन टिमले करोड रुपियाँभन्दा माथि खर्च गर्ने अनुमान छ । त्यसैले पनि एनपिएल नेपाली मात्र होइन, विश्व खेलकुदमै एक आकर्षक बजार बन्ने योजनाका साथ अगाडि बढेको स्पष्टै देखिन्छ । विश्वमा खेलकुद अर्थतन्त्रका अब्बल आधार बनिरहेको छ । यो एक प्रकारले राम्रो उद्योगका रूपमा स्थापित भइसकेको छ । खेल र खेलाडीले कति देशका अर्थतन्त्रमा राम्रै टेवा दिएका छन् । विश्व अर्थतन्त्र जतिसुकै खराब अवस्था आए पनि ‘स्पोर्टस स्टार’ को भाउ कहिल्यै घट्दैन । व्यावसायिक खेलाडी अब्बल मूल्यमा अनुबन्धित हुन्छन् । त्यसैले पनि विश्वका प्रायः राष्ट्रले खेलकुदलाई प्राथमिकतामा राखेका हुन्छन् । विकसित मुलुक त यसमा अझ अगाडि छन् । नेपालमा यस्तो स्थिति नभए पनि नेपाली क्रिकेटले खेलकुदलाई नयाँ युगमा प्रवेश गराउने अपेक्षा छ । एनपिएलको सफलताले अन्य खेललाई पनि प्रेरित गर्न सक्छ । सानो अर्थतन्त्र र दर्शक भए पनि नेपालमा खेलप्रति ‘क्रेज’ ठुलो छ । कर्पोरेट हाउस पनि बिस्तारै खेलकुदमा लगानी गर्न हौसिएका छन् । त्यसैले सरकार, सरोकारवाला निकाय र प्रायोजकको उचित समन्वय भएमा नेपाली खेलकुद पनि पूर्ण व्यावसायिक बन्दै गरेको देखिन्छ ।