काठमाडौँ, साउन २५ गते । २०८१ असोज १० देखि १२ गतेसम्मको भीषण वर्षा र बाढीको प्रताडना काठमाडौँ, भक्तपुर र ललितपुरवासीका लागि विस्मृतिमा गइसकेको छ । काठमाडौँ उपत्यकाको जलप्रणालीको प्रमुख स्रोत बागमती नदीसहित सहायक खोला किनार आसपासका बासिन्दाले पनि बाढी र डुबानको कुरै भुलिसकेका छन् ।
जल तथा मौसमविज्ञले यस वर्ष अघिल्लो वर्षभन्दा भीषण वर्षा हुने पूर्वानुमान गरिरहँदा प्रशासनले उद्धार र राहतको तयारी गर्यो तर डुबान प्रभावित क्षेत्रका बासिन्दा ‘परेको सहुँला’ शैलीमा ढुक्कले बसेका छन् । राजधानीकै अधिकांश पानीका स्रोत नदी र खोला अतिक्रमणमा पर्दा बाढी र डुबानको सन्त्रास बढेको हो ।
त्यति मात्रै होइन, सङ्घीय सरकार र स्थानीय सरकारको बेमेलले चोभारको गल्छीभन्दा केहीमाथि थुप्रिएका ढुङ्गा र गेग्य्रानको सफाइमा अवरोध हुँदा अझै ठुलो खतरा निम्तिएको हो । सहरी विकास मन्त्रालय अन्तर्गत अधिकारसम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति, गृह मन्त्रालय अन्तर्गत राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, ललितपुर महानगरपालिका र कीर्तिपुर नगरपालिकाबिच समन्वयको अभाव र आआफ्नै अडानका कारण नेपाली सेनाले गत वर्षको बाढी र पहिरोका कारण चोभारको फाँटको माथिल्लो भागमा खसेका ढुङ्गा र गेग्य्रान हटाउन नसक्ने बताएको हो ।
बागमती सभ्यता एकीकृत विकास समितिका सूचना अधिकारी एवं आयोजना उपनिर्देशक उद्धव नेपालले अध्ययनकै क्रममा विवाद भएको र वर्षा पनि सुरु भएकाले ढुङ्गा र गेग्य्रान हटाउने योजना स्थगित भएको बताउनुभयो । उहाँले भन्नुभयो, “ढुङ्गा र गेग्य्रान नहटाउँदा जोखिमपूर्ण स्थिति हुँदाहुँदै पनि वर्षाले बागमती नदीको सतह बढेपछि उक्त कार्य स्थगित गरिएको छ । सेनाले पनि विवाद हुँदाहुँदै सफाइ कार्य अघि नबढाउने भनेपछि काम रोकियो ।”
कीर्तिपुर नगरको अवरोध
काठमाडौँ कीर्तिपुर वडा नं. ६ र ललितपुर महानगरपालिका वडा नं. १८ स्थित बागमती नदीको बहाव क्षेत्रमा थुप्रिएको गेग्य्रान व्यवस्थापनका सन्दर्भमा सरोकारवाला निकायले अध्ययन सुरु गरेका थिए । २०८१ असोज १० देखि १३ गतेसम्मको भीषण वर्षा र बाढीले चोभार गल्छीको माथिल्लो भागमा ठुला ढुङ्गा, लेदो र बलौटे माटो थुप्रिएको छ ।
कीर्तिपुर नगरपालिकाका प्रमुख कृष्णमान डङ्गोल र उपप्रमुख शुभलक्ष्मी शाक्य (सुनिता) ले पुरातात्त्विक महत्वको चोभार गल्छी ‘साँघुरो भएकाले खोल्ने तयारी भएको’ प्रचार गर्दै ढुङ्गा र गेग्य्रान हटाउन खोजे प्रतिवाद गर्ने चेतावनी दिएपछि अध्ययन र सफाइ कार्य भाँडिएको हो । ललितपुर महानगरपालिका वडा नं. १८ र कीर्तिपुर नगरपालिका वडा नं. ६ को पत्र एवं सिफारिसपत्र अनुसार बागमती नदीको निकास रहेको ललितपुर–१८ र कीर्तिपुर–६ बिचको चोभार क्षेत्र अन्तर्गत चोभार गल्छीमा पहिरो जाँदा सतह करिब दुई मिटरमाथि उठेपछि अध्ययन थालिएको थियो ।
खोला खोलेपछि रोकियो बाढी
चोभार गल्छीको माथिल्लो भागका ढुङ्गा र गेग्य्रान हटाउनै अवरोध भए पनि काठमाडौँमै खोला खुला क्षेत्रमा बग्न थालेपछि बाढीको समस्या समाधान भएको उदाहरण पनि छ । ‘खोलामाथि घर’ निर्माण गरेर स्थानीयले सिर्जना गरेको समस्या क्रमशः समाधानउन्मुख छ ।
काठमाडौँ महानगरपालिकासँगै जोडिएको बुढानीलकण्ठ नगरपालिका १०, ११ र १२ को जलाधार यज्ञमती र चखुँचाखोला पुरेर ह्युमपाइपमा सीमित गरिएको थियो, जसका कारण वर्षायाममा ‘कपन बाढी’ ले ठुलै आतङ्क सिर्जना गथ्र्यो । कपनका रुद्रप्रसाद गौतम र सरस्वतीनगर सुधार सङ्घका अध्यक्ष पेशल पहाडीका अनुसार खोलाको बहाव क्षेत्र खुला गरिएपछि बाढी र डुबानको समस्या हटेको छ । अध्यक्ष पहाडीले भन्नुभयो, “कपन, सरस्वतीनगर, गोपीकृष्णसहितका क्षेत्र बर्सेनि डुबानमा पर्थे तर चखुँचाखोला खोलेपछि ठुलै वर्षा हुँदा पनि बाढीको समस्या झेल्नु परेको छैन । कतै कतै पानी पस्ने कुरा त सामान्य हो तर मुख्य समस्या समाधान भएको छ ।”