दुल्लुलाई दोस्रो पल्ट नमन गरेँ । म्वाइँ खाँदै शीतल पवनको एक झोक्का अगि बढ्यो । न्यानो अनुभव गरेँ मैले । गाँसबासका लागि कुनै चिन्ता थिएन । पहिलो पल्ट अस्वस्थ अवस्थामै पनि मैले न्यानो गाँस र बास पाएको झलक्क सम्झेँ । त्यति बेला आत्मविभोर बन्दै भनेको थिएँ, “दुल्लु ! तिमीलाई नै भेट्न हतारिँदै उक्लिरहेको थिएँ म । सुर्खेत–दुल्लुको कच्ची सडक नापिरहेको थिएँ म । लेक लेकमा हुइँकिएका सडकका अनगन्ती सञ्जालले सिँगारिँदै रहिछ्यौ तिमी । बस र सडकको सङ्घर्षको जोल्ट्याङबाजी खाँदै पनि पुलकित हुँदै थिएँ म । जीवन यस्तै सङ्घर्षमा फक्रँदोरहेछ । जीवन नै त हो यो थेचर्याइ पनि (२०७५, बुर्कुसीमा रम्छ मन) ।”
यस पटक पनि न्यानो अनुभूतिमा मक्खिन खोज्दै छु । सडकको कच्चीपन अझै पाको बनिसकेको रहेन छ । थच्चारिँदै आइपुग्दै छु अहिले पनि !पात्थर नाउलो अर्थात् पत्थर नाउलो (ढुङ्गेकुवा) ले हामीलाई स्वागत गर्यो झमक्कै साँझ पर्दा पनि । पात्थर नाउलोको स्थिति पनि फेरिएको रहेन छ, आमनागरिकको जीवन झैँ । लथालिङ्गे बिजोक देख्दा कटक्क काट्यो मन ! माल पाएर चाल पाए पो ! भिल्लको देशमा मणि ! प्राचीन पत्थर नाउलो गहना हो दुल्लुको ! बचाइराख्नु सबैको दायित्व हो । अझ स्थानीय सरकारको अपरिहार्य कर्तव्य नै हो । यस्तै लाग्छ मलाई !
कात्तिक ५ (२०८१) को बिहान दुल्लु मुस्कुराउन खोज्दै थिई । हामी दलबलसहित निस्कियौँ दुल्लुका ऐतिहासिक, सांस्कृतिक धरोहरलाई आत्मसात् गर्न । ऐतिहासिक र सांस्कृतिक पक्षमा धनी छ डुल्लु । यहाँ पुग्दा म सधैँ रमाएकै छु । हुन त मैले पैलो पल्ट नै दुल्लुसँग रामै्र साउती गरिसकेको थिएँ, यस पल्ट पुनरवलोकन गर्न खोज्दै छु ।
कीर्तिखम्बलाई फलामे बारले बेरबार पारेर सुरक्षित राख्न खोजेको देख्दा केही हलुङ्गिएँ म तर कीर्तिखम्बकै नजिकैको खाद्यडाँडामा २०७४ सालमा निर्माण सुरु भएको ‘विजया साहित्यिक उद्यान’ अव्यवस्थित देख्दा खिस्रिक्क हुन्छ मन । पुराना हुन् वा नयाँ, सबै सम्पदा हुन् समाजका ! बाँच्नु पर्छ, बचाउनु पर्छ ।
स्थानीय संयोजक लालबहादुर रावत गाउँ विकास समितिको वडाध्यक्ष रहेका बेला सुरु भएको रहेछ यो उद्यान । खाद्यडाँडा भनिने यस स्थानमा पहिले विजया माध्यमिक विद्यालय सञ्चालित रहेछ । विद्यालय अन्त सरेपछि त्यसैको स्वामित्वमा यो उद्यान बनाउने सोच मिठो लागेकै हो तर स्याहारसुसार खै र ! टुहुरा बालबालिका झैँ बेवारिसे छन् स्रष्टाद्रष्टाका प्रतिमा !
मित्रवर प्राज्ञ मधुसूदन गिरी र संयोजक लालबहादुर रावत हाम्रा साथैमा भएकाले धेरै कुरा बुझ्न पायौँ । ती प्रतिमाको निर्माण कार्यमा मित्रवर प्राज्ञ गिरीको पनि राम्रै हैँसेहौसे रहेछ । अझ अगुवाइ नै हो क्या र ! थाहा पाउँदा प्रफुल्ल भयो मन । स्रष्टा र द्रष्टाको सम्मान गर्न खोज्नु चानचुने कुरो हैन तर स्याहार गर्न पनि जान्नु पर्छ । मलाई यति बेला खुसी लागेथ्यो, जब रनुखाना, दुल्लु निवासी लोकप्रसाद रिजालका दम्पती यही उद्यान अवलोकन गर्न बर्दियाबाट आइपुगेको थाहा पाउँदा । धेरै वर्षदेखि बसाइँसराइ गरी बर्दियामा झरेका रिजाल दम्पतीको उत्सुकता भने यहाँको लथालिङ्गे चालाले निथ्रुक्कै रुझेको देखेँ मैले ।
गुनासो गर्दै थिए, “के हर्नु र सर ! माल पाएर चाल पाउँन्या नाई । हेरिजाउ त यीन् सत्ताइस मूर्धन्य मान्ठका प्रतिमाहरू ! टुहुरा झैँ टुलुटुलु हेरिरह्या छन् । जन्मायापछि क्यान हमी हेक्का राख्न सक्न्या नाई स्याहार गन्र्या ?”
रिजाल दम्पतीको आफ्नै लबजमा गरेका गुनासोले म पनि रनभुल्लमा परेँ । स्याहार गर्ने कसले ? जब कि अलि जान्ने बुझ्ने उनीहरू जस्ता स्थानीय व्यक्ति आफ्नो थातथलो छोडेर अन्यत्र जान्छन् । गोहीको आँसु बगाएर मात्र के गर्नु र !
दुल्लु र दैलेख इतिहास र संस्कृतिका खानी हुन् । संरक्षण गरिनु पर्छ प्राचीन तथा नवसम्पदा पनि तर त्यस्तो वातावरण देखिरहेको छैन म ! किनभने ऐतिहासिक पान्थर नाउलो र दुल्लु दरबार धुरु धुरु रोएको भेट्दै छु । संस्कृतिको बिस्कुन छर्पस्ट छन् ।
दुल्लुकै पटाङ्गिनीको छेउमा रहेको खसिया मल्ल राजाहरूको ऐतिहासिक दरबारको भग्नावशेषको कन्तबिजोकले रन्थनिएको छु म ! द्वन्द्वकालमा विद्रोहीद्वारा जलाइएको त्यस दरबारको भग्नावशेषको जगेर्ना गर्नु वा पुनर्निर्माण गरेर इतिहास जोगाउनुको सट्टा व्यक्तिगत टहरे पसलेलाई हालीमुहाली गराएको देख्दा खिन्न हुँदोरहेछ मन !
इतिहास हो ! मर्न दिनु हुन्न कुनै पनि सम्पदा ! राजा रजौटाका दरबार होस् वा नाउलो ! शिलापत्र हुन् वा मठमन्दिर ! जीवन्त इतिहासका साक्षी हुन् । त्यस्ता सम्पदा नाश भए इतिहास मर्छ, लोकसंस्कृति नाश हुन्छ तर त्यस्तो सदासयता देखिरहेको छैन म !
स्थानीय सरकारको लापर्वाही वा कमजोरी हैन कसरी नभनौँ ? पर्यटन विकासको डिङ मार्ने स्थानीय पालिकाहरू, अझ खास गरी रैथाने बासिन्दामा पुरातात्त्विक, ऐतिहासिक, धार्मिक र सांस्कृतिक धरोहरको उचित जगेर्ना गर्ने चेत कहिले आउला खै ? आँसी घोटेर शिलापत्र विक्षत गराउने मनोवृत्ति अझै देखिरहेछु म !
कीर्तिस्तम्भ जस्तो ऐतिहासिक शिलापत्रमा आँसी घोटेर क्षतविक्षत पारिएको दाग अझै नियास्रिरहेकै छ । ऐतिहासिक दरबार पाताल भासिँदै गएको हेर्दैगर्दा आत्मविभोर हुन्छु म !
त्यत्ति नै बेला हामीलाई लिन पटाङ्गिनीमै बस आइपुग्छ । यहाँसम्म त हामी पैदलै आइपुगेका हौँ ।
चुकचुकाउँदै बस चढ्छु म ! अन्य दर्शनीय स्थलको अवलोकन गर्न हुइँकिँदै छौँ । मोटरबाटोको विस्तारले सहज बन्दै रहेछ यात्रा । बिहानभर दुल्लुका पञ्चकोशी मानिने तीर्थस्थलमध्ये धुलेश्वर, नाभिस्थान र शिरस्थानको अखण्ड ज्वालासमेतको दर्शन भ्यायौँ । डाँडाको शिरमा रहेको धुलेश्वरको अवलोकनपश्चात् बस ओरालो झ¥यो खुरुरु भैरवी गाउँपालिका जलजलेमा सञ्चालित पेट्रोल अन्वेषण केन्द्रसम्म । केन्द्रको मूल द्वारबाटै अवलोकन गर्न पुग्यौँ । दुल्लु क्षेत्रमा प्रज्वलित अखण्ड ज्वालाले पेट्रोल अन्वेषणमा उत्सुकता थपिँदै थियो । सम्भाव्यता पुतपुत्याउँदै थियो धुनीको धुवाँ झैँ ।भनिन्छ चिनियाँ प्राविधिकको टोलीले २०७६ असोजमा थालेको अन्वेषण कार्य अन्तिम चरणतिर पुगिसकेको छ ।
साँच्चै ! अन्वेषण सफल भए हामी पनि पेट्रोल उत्पादक देशका नागरिक दरिन्थ्यौँ । कति रमाइलो !
खोलाको तिरैतिर अघि बढ्यो बस साँघुरो र कच्ची बाटोबाट । डुङ्गा झैँ ढलपल ढलपल गर्दै हरियाली वन छिचोल्दाको क्षण रोमाञ्चित थियो ।खोलाको तिरमा अवस्थित शिरस्थान रमणीय छ । ज्वालामाईको कलात्मक मन्दिरभित्र अखण्ड ज्वाला प्रज्वलित छ । प्राकृतिक ज्वाला अविरल प्रज्वलित पाउँदा रमाउँछ हाम्रो मन । सत्ययुगमा भगवान् महादेवले मृतक सतीदेवीको लास बोकेर संसार भ्रमण गर्दा पाँच पाँच कोसको दुरीमा शिर, नाभि, पादुका आदि अङ्ग पतन भई शक्तिपीठ स्थापित भएकाले पञ्चकोशी कहलिएको कुरा शिरस्थानका पुजारी गोकर्ण योगीबाट जानकारी पाउँदा पुराणकालको अनुभूति हुन पुग्यो । पौराणिक कथा जे भए पनि प्रकृतिको रूप पनि अनेक देखिन्छन्, बुझिसक्नु छैन । प्राकृतिक स्रोतलाई दैविक शक्ति मानेर श्रद्धावत् दर्शन गरिन्छ यहाँ । धार्मिक आस्था बलियो देखियो । उत्सुकतासाथ अवलोकन गरेँ मैले । हे ! आमा जननी जलाई मुटुका ज्वाला सधैँ दन्दनी
बल्दैछ्यौ कि कतै विषाक्त युगका दुर्भाव नास्छु भनी ।
बल्नू दिव्य ललाटबाट निशिका पर्दा फटाईदिनु
काला कर्तुत छन् जती धरतिमा ज्वाला जलाई दिनु ।
प्राज्ञ मधुसूदन गिरीद्वारा सिर्जित ज्वालादेवीसम्बन्धी प्रार्थना भित्तामा सजिएको रहेछ । छ श्लोक अर्थात् बाह्र हरफमा समेटिएको ज्यालादेवीको महिमा रोचक लाग्यो । यिनै ज्वालामाईकै
आडभरोसामा पेट्रोलियमको अन्वेषण थालनी गरिरहेछ देश ! ठाउँ ठाउँमा प्रज्वलित ज्वालाले आशा पस्किरहेछ गज्जबको । गज्जब हुन्थ्यो पेट्रोल उत्पादक देश भनाउन पाएमा आफ्नो देश ! (स्मरण रहोस् हालै त्यस भेगमा एक अर्ब १२ करोड घनलिटर मिथेन ग्यासको भण्डार रहेको अन्वेषणको प्रतिवेदन प्रकाशित भएको छ । पेट्रोल वा ग्यास जेहोस् ! पाइनु खुसीको कुरा हो ।)
मिठो अभिव्यक्ति गुनगुनाउँदै नाभिस्थान पुग्न हामी हत्तारियौँ । अझै केही कच्ची सडक खोलाको तिरैतिर अघि बढ्यो बस । नाभिस्थान खोलापारि अवस्थित नाभिस्थान जाने पुल निर्माणाधीन रहेछ । पूर्वाधारको जाँगर यहाँ पनि देखियो ।
बस वारि नै रोकियो । खोलामा पानी त्यति धेरै रहेन छ । फट्केर जान सकिने रहेछ । युवा सहयात्रीहरू फट्केरै अघि बढे । केही साथी वारि नै बस्ने भए फट्किने आँट गरेनन् ।
म त झन् बग्दो पानीदेखि डराउने मनुवा । अलमलिँदै थिएँ । “के अलमलिनु भएको, फट्किन सकिन्छ फट्कौँ ।” कसैको उक्साई सुनेँ मैले । मैले पनि मसक्क आँटे खोलो फट्किनँ । बिचमा राखिएको ढुङ्गामा उफ्रेर टेक्दै पारि पुगेँ । धन्न पानीमा झ्वाम्म परिनँ । हुत्तिएँ नि मज्जैले ! बुढ्यौली जिउ थरर कामिरह्यो केही बेर । नाभिस्थानमा पुग्दा श्रीपञ्चकोशी वेदविद्याश्रमका वटुकबाट स्वस्ति वाचनबाट स्वागत गरियौँ हामी । २०७५ देखि प्रारम्भ भएको वेद विद्यापीठमा हाल ५० जना वटुक र सात जना गुरु रहेछन् । प्रधानाध्यापक खगेन्द्रप्रसाद बजगाईंको नेतृत्वमा आधुनिक शिक्षासहितको पठनपाठन हुँदोरहेछ । नौ र १० कक्षामा न्याय विषय पनि पढाइ हुँदोरहेछ । रमाइलो लाग्यो शिक्षाको उज्यालो छर्ने प्रयास ।
रमाइलो थियो परिवेश ! विभिन्न देवदेवीका छानेशैलीका देवल र मूर्तिहरू आकर्षक थिए । पत्थरको गोलाकार सूर्य आकारको कलात्मक मण्डलको पूजा गरिँदो रहेछ । प्रधानाध्यापक खगेन्द्र सरको भनाइ अनुसार यहाँ दुई सय वर्षपहिले एक कुष्ठरोगीले शमीको रुख रोपेर त्यहाँ रहेको कुण्डमा स्नान गरी तपस्या गर्दा कुष्ठरोग निको भएकाले यस स्थानको महिमा बढेको हो ।
बिहान ढल्किँदै थियो । विद्यापीठको भवन मुस्कुराइरहेको थियो एकाछेउमा । वटुकहरूबाट तयार भएको चियाको स्वाद लिँदै हामी फर्किने तर्खरमा लाग्यौँ । दिउँसो हुने लोकवार्ता संगोष्ठीको हतारो उम्लिरहेको थियो । पेटमा भोकको अग्निज्वाला दनदनाउँदै थियो । पेटपूजा नगरी मान्छे बाँच्न कसरी सक्थ्यो र ! हामी पनि हत्तारिएका थियौँ ।
खोलो जसरी तरिएको थियो त्यसरी नै तरेर फर्किनु पर्ने हो । अहँ मैले आँट गर्न सकिनँ फेरि फुत्रुक्क उफ्रन । लुग लुग काम्यो हौ गोडा त । जुत्तामोजा फुकालेर पैन्ट सिहार्दै पानीमा चोबलिन नै श्रेय लाग्यो र त्यसै गरेँ । सहयात्री शशी थापा पण्डित खोला फट्किन खोज्दा डङ्रङ्गै लोटिछिन् । ढुङ्गाले चोट नै लागेछ । बिचरी ! चरी झैँ फुर्र फुर्र उड्न रुचाउँथिन् । बित्यासै प¥यो । चुकचुकायौँ हामी । अरू के गर्न सक्थ्यौँ र !
खोला वारि बसमा चिउरा दालमोठको भतेर लागेको रहेछ । पोल्टा पोल्टामा थापेर फाँको मार्न थाल्यौँ । पूर्वअध्यक्ष कीर्तिशेष जयराज सरको खानपानको जोहो गर्ने बानी वर्तमान कार्यसमितिमा पनि राम्रै सरेको रहेछ । भोकको झोकमा जय जयकार मनायौँ रुक्खासुक्खा जे भए पनि । यही त हो यात्राको मज्जा ! अनि पादुकास्थानको अवलोकन भोलिका लागि र पाँचौँ स्थान सिद्धेश्वर अर्थात् तल्लो डुङ्गेश्वर फर्किंदाका लागि थाती राखेर दुल्लुतर्फ प्रस्थान ग¥यौँ, जहाँ बिहानको खाना हाम्रा लागि कुरेत खाइरहेको थियो ।