• ९ जेठ २०८१, बुधबार

प्रदेशस्तरीय युवा महोत्सव हुने

blog

पत्रकार सम्मेलनमा मन्त्री वीरन्द्रप्रसाद सिंह र निमित्त सचिव दाहाल ।तस्बिर : धीरेन्द्रप्रसाद साह

जनकपुर, असार ९ गते । ‘समुन्नत मधेश प्रदेशका लागि साझा अठोट’ भन्ने नाराका साथ मधेश प्रदेशले पहिलो पटक प्रदेशस्तरीय दुई दिवसीय युवा महोत्सव आयोजना गर्नेभएको छ । मधेश प्रदेश महिला, बालबालिका, युवा तथा खेलकुदमन्त्री वीरेन्द्रप्रसाद सिंहले बुधबार पत्रकार सम्मेलनमार्फत महोत्सवका बारेमा जानकारी दिनुभएको हो । युवा महोत्सव यही असार १५ र १६ गते आयोजना हुनेछ ।  

मन्त्रालयका निमित्त सचिव ठूूलोबाबु दाहालले मधेशका युवाको सीप र दक्षता पहिल्याउने, मधेश प्रदेशको सम्भावना, अवसर र चुनौतीका बारेमा सर्वपक्षीय विमर्श गर्ने, प्रदेशलाई विशिष्ठ प्रदेश बनाउनेतर्फ युवालाई प्रेरित गर्ने, युवाद्वारा गरिएका उदाहरणीय कामलाई प्रस्तुत गर्ने मञ्च प्रदान गर्नु महोत्सवको मुख्य उद्देश्य रहेको जानकारी दिनुभयो । 

कार्यक्रममा प्रदेशका आठवटै जिल्ला, महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका, गाउँपालिका गरी १३६ स्थानीय तहका विभिन्न पेसा, व्यवसाय, सीप, क्षमता भएका करिब चार हजार युवा सहभागी हुने अनुमान गरिएको छ । 

मधेश मन्थन, मधेश प्रदेशअन्तर्गत युवाद्वारा सञ्चालित विभिन्न उद्यम तथा उद्योगको प्रदर्शनी, रोजगार लक्षित विभिन्न जानकारी एकै स्थानबाट दिने, मधेश जागरण तथा अभिमुखीकरण, सांस्कृतिक साँझ, युवा सहभागिता र सचेतनामूलक कार्यक्रमको आयोजना गरिने बताइएको छ ।

यसैगरी मधेश प्रदेशमा उद्यम, सामाजिक कार्य, राजनीति, कलाकारिता, पत्रकारिता तथा सरकारी सेवालगायतका विभिन्न क्षेत्रमा उल्लेखनीय काम गरेका उत्कृष्ट व्यक्ति-संस्थालाई सम्मान गर्ने, सम्मान प्राप्त गरेका व्यक्ति÷संस्थाले ल्याएका सकारात्मक परिवर्तनका बारेमा लिखित तथा श्रव्यदृष्य सामाग्री तयार गरेर आमसञ्चारका माध्यमबाट प्रकाशन तथा प्रसारण गर्ने कार्यक्रम रहेको उहाँले जानकारी दिनुभयो । 

यस्तै वित्तिय साक्षरता, उद्यमशीलता, सुरक्षित वैदेशिक रोजगारी, सीप तथा अवसर, गलत वा मिथ्या सूचना दुष्प्रचार तथा घृणास्पद अभिव्यक्ति जस्ता विषयमा अधिकतम युवालाई सहभागी गराई सो क्षेत्रका विज्ञबाट अभिमुखीकरण प्रदान गरिनुको साथै सही रोजगारीको छनोट, उद्यमशिलता विकास तथा रोजगारीको सूचना प्राप्त गर्नको लागि युवा लक्षित युवालाई आफ्नो लक्ष्य निर्धारण तथा रोजगारीका लागि सही मार्ग पहिचान गर्न सहजता प्रदान गरिने कार्यक्रम निर्धारण गरिएको छ । यस्तै मधेशका युवाद्वारा मधेश हटिया (स्टल प्रदर्शनी) तथा रोजगार लक्षित जानकारी स्थल, सांस्कृतिक साँझ, मधेशका मान, घोषणापत्र तयारी तथा सार्वजनिक गरिने जनाएको छ । 

Author

धीरेन्द्रप्रसाद साह