• ९ जेठ २०८१, बुधबार

पानी नपर्दा धान रोपाइँमा ढिलाइ

blog

सिँचाइ सुविधा भएको खेतमा रोपाइँ गर्दै किसान ।तस्बिर : राजन रावत

हुम्ला, असार ९ गते  । पानी नपरेका कारण किसानलाई यस वर्ष धान रोपाइँमा ढिलाइ भएको छ । कतिपय बस्तीमा आकाशे पानीका भरमा रोपाइँ गर्नुपर्ने भएको हुँदा हालसम्म पानी नपरेपछि रोपाइँ ढिलाइ भएको हो । 

सर्केगाड गाउँपालिका–३, उनापानी गाउँका किसान दाने फडेराले हालसम्म रोपाइँ सम्पन्न हुनुपर्नेमा आधा पनि नसकिएको बताउनुभयो । उहाँले सिँचाइ सुविधा भएका खेतमा धान रोप्ने कार्य भए पनि आकाशे पानीका भरमा रोपाइँ गर्नुपर्ने खेतमा भने रोपाइँ हुन नसकेको बताउनुभयो । उहाँले किसान आकाशे पानी पर्खिरहेको बताउँदै पानी नपरे रोपाइँ हुन नसक्ने भएपछि चिन्तित भएको बताउनुभयो ।  

गत वर्ष यतिखेर रोपाइँ सकिएको बताउँदै यस वर्ष भने ढिलो भएको हो । किसानले अब एक हप्तासम्म पनि रोपाइँ गर्न नपाए अन्य बाली लगाउने तयारी गर्नुपर्ने अवस्था आउन सक्ने जनाएका छन् । पानी नपरेका कारण सिँचाइ भएका खेतमा पनि पालो लगाएर रोपाइँ हुने गरेको छ । कृषि विकास कार्यालयका सूचना अधिकारी धर्मेन्द्र अधिकारीले हालसम्म जिल्लाभरि ५० देखि ५५ प्रतिशत मात्र रोपाइँ सम्पन्न भएको बताउनुभयो । उहाँले यसरी रोपाइँ ढिलो हुनुमा पानी नपर्नु मुख्य कारण रहेको बताउनुभयो ।