• १३ साउन २०८१, आइतबार

कालिका नगरपालिकाले किसानलाई आत्मनिर्भर बनाउने

blog

शालिग्राम नेपाल 

चितवन, असार ८ गते । कृषि उत्पादनलाई आत्मनिर्भर बनाउने योजनासहित चितवनको कालिका नगरपालिकाले आर्थिक वर्ष २०७९–८० को लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । ११ हजार किसानलाई व्यावसायिक बनाउने गरी नीति तथा कार्यक्रम सार्वजनिक गरेको हो । 

बुधबार भएको ११ औं नगरसभामा प्रस्तुत गरिएको कार्यक्रममा पशुपालक किसानलाई दुधमा अनुदान दिनेगरी योजना समावेश गरिएको छ । कृषिमा आत्मनिर्भर बनाउन तरकारी, मौरीपालन, केरा र च्याउ पकेट क्षेत्र घोषणा गरी मल, बीउ र उपकरणमा अनुदान दिइने जनाएको छ ।  

मकैखेती प्रबर्धनका लागि निजी क्षेत्रको संलग्नतामा उत्पादन, प्रशोधन र बजारीकरणका लागि कार्यक्रम सञ्चालन गर्ने, फलफूल उत्पादन, पुष्प व्यवसायको प्रवद्र्धनका लागि कार्यक्रम सञ्चालन गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।

नगरभित्रका ११ हजार किसानलाई व्यावसायिक बनाउँदै कृषि उत्पादनलाई निर्यात गर्नेगरी योजना तर्जुमा गरिएको मेयर विनोद रेग्मीले नगरसभामा जानकारी दिनुभयो । कृषिलाई व्यवसायिकरण, बजारीकरण र विस्तारिकरणका लागि आवश्यक पर्ने सिंचाइ, शीतगृह, संकलन केन्द्र, सामुदायिक खेती तथा कृषि सञ्जालीकरण विकास गर्ने नीति लिइएको मेयर रेग्मीले जानकारी दिनुभयो । 

पशुपालनतर्फ सो नगरपालिकाले दूध उत्पादनमा अनुदान दिने बताएको छ । किसानलाई दुग्ध उत्पादक सहकारी संस्थामार्फत प्रतिलिटर एक रुपियाँ अनुदान दिने मेयर रेग्मीले बताउनुभयो । यसअघि पशुपालक किसानलाई पुरस्कृत गर्ने कामको अन्त्य गर्दै नगरभित्रका किसानहरुले लाभ लिनेगरी उत्पादनका आधारमा अनुदान दिने व्यवस्था गरिएको छ । 

त्यस्तै, कृषि तथा पशुपालनलाई रोजगारीको महत्वपूर्ण क्षेत्रको रुपमा विकास गर्न नमुना परियोजना सञ्चालन, दुधका परिकार उत्पादन गर्ने उपकरण खरिदमा अनुदान, पशुमा नश्ल सुधार, घाँसको विउ र बिरुवामा खरिदमा अनुदान, उन्नत बीउ र बेर्नाको स्रोत केन्द्र स्थापना गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।

स्वास्थ्यतर्फ सो नगरपालिकाले नगरभित्र बसोबास गर्ने विपन्न बर्गको निशुल्क स्वास्थ्य बिमा गर्ने, आगामी पाँच बर्षभित्र नगरपालिकालाई पोषणमैत्री नगर बनाउन बहुक्षेत्रीय पोषण कार्यक्रम सञ्चालन गर्ने, महिलामा हुने पाठेघरको क्यान्सर रोकथाम तथा नियन्त्रण गर्न समयमै उपचार गर्ने व्यवस्था मिलाउने, कालिका नगर अस्पतालमा भौतिक पूर्वाधार, प्रविधि, उपकरणसहित विशेषज्ञ चिकित्सकको व्यवस्था गरिने जनाइएको छ ।

त्यस्तै, अति विपन्न समुदायका सुत्केरी महिलालाई पोषण खर्च, ८० बर्ष माथिका ज्येष्ठ नागरिक तथा रातो कार्ड पाएका अपाङगता भएका व्यक्तिलाई घरमै स्वास्थ्य परीक्षण गर्नेगरी नीति तथा कार्यक्रम सार्वजनिक गरिएको मेयर रेग्मीले बताउनुभयो । शिक्षातर्फ सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार, भौतिक पूर्वाधार निर्माण र शिक्षक दरबन्दी मिलानलाई प्राथमिकता दिएको छ । 

सीमान्तकृत चेपाङसहित विपन्न समुदायका वालवालिकाको शिक्षाका लागि छात्राबास सञ्चालन, कालिका कलेज स्थापना, सामुदायिक विद्यालयमा अध्ययन गरेका र प्राविधिक शिक्षा अध्ययन गर्ने विद्यार्थीलाई छात्रावृत्ति प्रदान गरिने छ ।

विद्यालयको पहुँचमा नभएकाबीचमै विद्यालय छाडेका बालबालिकालाई शिक्षा प्रदान गर्न विशेष प्रोत्सहान कार्यक्रम सञ्चालन, सामुदायिक विद्यालयमा बालमैत्री शिक्षण सिकाइ, शिक्षाको न्यूनतम गुणस्तरको मापदण्ड निर्धारण गरी हरेक विद्यालयमा रहेका बालविकास केन्द्रलाई नमुनाको रुपमा सञ्चालन गरिने उपमेयर विमला तामाङले जानकारी दिनुभयो ।

पूर्वाधार विकासतर्फ नगरभित्रका साना सडकलाई मुख्य सडकसँग जोडेर चक्रपथ निर्माण, सबै सडक कालोपत्रे तथा पहाडी सडकलाई स्तरोन्नति, नगरपालिकाको भवन निर्माण सम्पन्न तथा बाँकी रहेका वडा कार्यालय तथा स्वास्थ्यचौकीको भवन निर्माण गरिने उल्लेख छ ।