ढाका, साउन १९ गते । कुनै बेला कडा सुरक्षा भएको दरबार अर्थात् बङ्गलादेशकी अपदस्थ प्रधानमन्त्री शेख हसिनाको पूर्वसरकारी निवासलाई उहाँको निरङ्कुश शासनको चिरकालीन सम्झना दिलाउन सङ्ग्रहालयमा परिणत गर्न थालिएको छ ।
सन् २०२४ को अगष्ट ५ मा हसिना हेलिकाेप्टरबाट भारत भागेपछि ढाका दरबारको छतमा झण्डा फहराइरहेका भीडको तस्बिरले उहाँको सरकार ढाल्ने विद्यार्थी नेतृत्वको आन्दोलनको अवस्थाको चित्रण गरेको छ । करिब १७ करोड जनसङ्ख्या रहेको दक्षिण एसियाली राष्ट्रमा अझै पनि राजनीतिक उथलपुथल कायमै रहेको अवस्थामा एक वर्षपछि पनि गणभवन दरबारले भविष्यका लागि सन्देश दिने अधिकारीहरूले आशा गरेका छन् ।
उहाँको शासनको निन्दा गर्दै भित्तामा कोरिएका सङ्केतहरू यथावत राखिएका छन् । भित्तामा कोरिएका सङ्केतमध्ये एकमा लेखिएको छ, “स्वतन्त्रता ! हामी न्याय चाहन्छौँ ।” हसिनाको शासनकालमा राजनीतिक विरोधीहरूलाई सामूहिक हिरासत र गैरन्यायिक हत्या गर्नेजस्ता व्यापक मानव अधिकार उल्लङ्घन भएको थियो । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२४ को जुलाईदेखि अगष्टसम्मको अवधिमा सत्तामा टिकिरहने असफल प्रयासमा एक हजार ४०० जनाको मृत्यु भएको थियो ।
सतहत्तर वर्षीया पूर्वप्रधानमन्त्री हसिनाले ढाकामा मानवताविरुद्धको अपराधको अभियोगमा चलिरहेको सुनुवाइमा उपस्थित हुन अदालतको आदेशको अवहेलना गर्नुभएको छ । भाबी पुस्ताको लागि सुरक्षित कैयौँ अन्य सन्देशमध्ये अर्को एक सन्देशमा लेखिएको छ, “तानाशाह ! हत्यारा हसिना !”
पूर्व प्रधानमन्त्रीको कार्यालयलाई सङ्ग्रहालयमा रूपान्तरण गर्दा ‘उहाँको कुशासन र सत्ताबाट हटाउँदा जनताको आक्रोशको सम्झना जोगाउने’ सन् २०२६ को सुरुमा चुनाव नहुञ्जेल कामचलाउ सरकारको नेतृत्व गरिरहेका ८५ वर्षीय नोबेल शान्ति पुरस्कार विजेता मोहम्मद युनुसले बताउनुभयो ।
-फासीवादको प्रतीक-
अधिकारकर्मी तथा डकुमेन्ट्री फोटोग्राफर २७ वर्षीया मोस्फिकुर रहमान जोहानलगायतका हजारौं व्यक्तिले हसिनाको शयनकक्षमा पालोपालो गरी नाचेका थिए, भान्साकोठा भेटेको खाना खाएका थिए र हसीनाले माछा पालेको तालमा पौडी खेलेका थिए । “यसले विगतको आघात, विगतको पीडा र प्रतिरोधको कल्पना र प्रतीकलाई संरक्षण गर्ने छ,” उहाँले भन्नुभयो ।
उहाँले थप्नुभयो, “गणभवन फासीवादको र निरंकुश शासनको प्रतीक हो ।” यो भवन हसिनाका पिता, बङ्गलादेशका प्रथम नेता शेख मुजिबुर रहमानले निर्माण गर्नुभएको थियो र हसिनाले आफ्नो १५ वर्षको शासनकालमा यसलाई आफ्नो आधिकारिक निवास बनाउनुभएको थियो । निर्माणाधीन सङ्ग्रहालयका क्युरेटर तान्जिम वहाबले एएफपीसँग कुरा गर्दै सङ्ग्रहालयमा प्रदर्शनमा मारिएका प्रदर्शनकारीका कलाकृति समावेश गरिने बताउनुभयो ।
उनीहरूको जीवनकथा फिल्म र फोटोग्राफको माध्यमबाट सुनाइने छ भने हसिनाको शासनको लामो अवधिमा सुरक्षा फौजद्वारा मारिएका व्यक्तिको नाम पनि त्यहाँ राखिनेछ । वहाबले भन्नुभयो, “सङ्ग्रहालयको प्रमुख उद्देश्य विगतलाई प्रदर्शन गर्ने हो । यसले लामो समयदेखिको कुशासन र उत्पीडनलाई फर्केर हेर्न सहयोग गर्ने छ ।”
उहाँले भन्नुभयो, “मलाई विश्वास छ, यो परियोजनाको सबैभन्दा महत्त्वपूर्ण पक्षहरूमध्ये एक हो ।” वहाबले सङ्ग्रहालयमा ‘एनिमेसन’ र अन्तरक्रियात्मक सामग्रीहरू राखिने छ । “हामी युवाहरू यसलाई लोकतान्त्रिक विचार, नयाँ सोच र नयाँ बङ्गलादेश कसरी निर्माण गर्ने भन्ने विषयमा छलफल गर्ने मञ्चका रूपमा प्रयोग गन चाहन्छौँ,” वहाबले भन्नुभयो ।
-‘तानाशाहका मूर्ति’-
अन्तरिम नेता युनुसले चुनावअघि सुनिश्चित गर्न चाहेका लोकतान्त्रिक संस्थाहरूलाई बलियो बनाउने वाचा गरेसँगै राजनीतिक दलहरू सत्ताका लागि होडबाजी चल्दा प्रयासहरू सुस्त भएका छन् । क्रान्तिको एक वर्षे वार्षिकोत्सवको पूर्वसन्ध्यामा ह्युमन राइट्स वाचले चेतावनी दिँदै अन्तरिम नेता युनुसलेसामना गर्नुपरेका चुनौतीहरू अथाह भएको जनाएको छ ।
एचआरडब्लुले भनेको छ, “बङ्गलादेशीहरूको अधिकारको रक्षा गर्नुको सट्टा हसिनाका समर्थकहरूमाथि प्रतिशोध लिनमा बढी केन्द्रित हिंस्रक धार्मिक कट्टरपन्थी र राजनीतिक समूहका गतिविधिका कारण अन्तरिम सरकार अड्केको जस्तो देखिन्छ ।” हसिनाको दरबारको संरक्षण गरिरहँदा प्रदर्शनकारीहरूले उहाँको शासनका अन्य थुप्रै दृश्यचिन्हहरू च्यातेका छन् । हसिनाका पिताको मूर्ति भत्काइएको छ र दुवैको चित्र च्यातेर जलाइएको छ ।
प्रदर्शनकारीहरूले हसिनाले आफ्ना पिता शेख मुजिबुर रहमानको घरलाई का लागि उहाँकै कामको संस्मरणमा सङ्ग्रहालयमा परिणत गर्नुभएको थियो । रहमानका ऐतिहासिक घर भत्काउने भीडमा रहेका एक प्रदर्शनकारी मुहिबुल्लाह अल मस्नुनले भन्नुभयो, “तानाशाहको पतनसँगै उसका आकर्षण पनि अन्त्य हुन्छन् ।” बङ्गलादेशलाई राम्रो भविष्यतर्फ अघि बढाउन यस्ता चिह्न हटाउन आवश्यक रहेको २३ वर्षीया छात्रा मस्नुनले बताउनुभयो । “ती तानाशाहका मूर्तिहरू थिए,” मस्नुनले भन्नुभयो । रासस/एएफपी