• १९ साउन २०८२, सोमबार

खोटाङ दुर्घटना : एकको मृत्यु, १० जना काठमाडौँ रेफर

blog

राजकुमार भट्टराई

खोटाङ, साउन १९ गते । खोटाङमा तिर्थयात्री बोकेको गाडी दुर्घटना हुँदा घाइते भएका एक जनाको मृत्यु भएको छ । 

मृत्यु हुनेमा सिराहा नराह गाउँपालिका–५ का मनोज यादवको श्रीमती करिब ३० वर्षीया ममतादेवी यादव रहेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ । 

ममतादेवीलाई प्रादेशिक अस्पताल कटारीले सोमबार अपरान्ह मृत घोषणा गरेको हो । घाइते १० जनालाई उपचारका लागि काठमाडौँ पठाइएको छ । 

हलेसी दर्शनपछि सिराहा फर्कँदै गरेको गाडी हलेसी तुवाचुङ नगरपालिका–१, बाहुनीडाँडाको दौंते खोला नजिक सोमबार बिहान करिब ८ बजे पल्टिएको थियो । 

प्र.२–०१–००१ ज. ००५३ नम्बरको विङगर गाडी अनियन्त्रित भई मध्य पहाडी लोकमार्गबाट करिब २ सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय  खोटाङका सूचना अधिकारी (प्रहरी निरीक्षक) शुसान्त मिश्रले बताउनुभयो ।  

गाडीमा चालक सहित सुरुमा १६ जना भनिए पनि १८ जना रहेको खुलेको छ । चालक सिराहा नगरपालिका–३ का २८ वर्षीय रामनाथ साह फरार रहेका छन् । उदयपुरस्थित घुर्मीमा प्राथमिक उपचार पश्चात सामान्य घाइते ६ जना डिस्चार्ज भएको प्रहरी निरीक्षक मिश्रले बताउनुभयो । 

स्थानीय, अन्य यात्रु र प्रहरीहरूले घटनास्थलबाट उद्धार गरी घाइतेहरूलाई हलेसी तुवाचुङ नगरपालिकाको एम्बुलेन्स र अन्य सवारी साधनमार्फत अस्पताल पुर्‍याएका हुन् ।  

प्राथमिक उपचार पश्चात थप उपचारका लागि ट्रमा सेन्टर काठमाडाैँ रेफर हुनेहरुमा करिब ४० वर्षीय राजु यादव, नाम नखुलेको रामशरण ठाकुरको श्रीमती, ३२ वर्षीया सविताकुमारी यादव, ४० वर्षीया मिथिलाकुमारी यादव, ७९ वर्षीय दुर्योधन यादव, ३० वर्षीया पुनम यादव, ३२ वर्षीया लक्ष्मी शर्मा, ३२ वर्षीय नदिन शर्मा, ५७ वर्षीय धनेश्वर यादव र झालुदेवी यादव रहेका छन् । उनीहरू सबै सिरहाकै रहेका छन् । नाम नखुलेको रामशरण ठाकुरको श्रीमतीको अवस्था भने गम्भिर रहेको प्रहरीले जनाएको छ । 

प्राथमिक उपचार पश्चात डिस्चार्ज हुनेहरूमा रञ्जित यादव, मीनाकुमारी शर्मा, दिपेन्द्र यादव, नदिन शर्माको छोरा १० वर्षीया शिवम शर्मा र कुस्मवती यादव रहेको प्रहरी निरीक्षक मिश्रले बताउनुभयो ।

खोटाङ जिल्लामा अवस्थित त्रि–धार्मिक स्थल हलेसी दर्शन पश्चात फर्किएको उक्त गाडी दुर्घटना भएको हो । साउनको सोमबार हलेसीमा बोलबम मेला भर्न अर्थात हलेसी दर्शन गर्न उनीहरू हलेसी आएका थिए ।