• १८ साउन २०८२, आइतबार

गोरखापत्र समाचार प्रभाव

अनाथ तथा विपन्नका लागि सुविधायुक्त छात्रावास

blog

बाजुरा समाचारदाता

बाजुरा, साउन १८ गते । बाजुराको बुढीनन्दा नगरपालिका–९ को डप्कमा रहेको सिद्धेश्वरी अनाथ विपन्न तथा जनजाति आवासीय आधारभूत विद्यालयमा अहिले तीन करोड रुपियाँभन्दा बढी लागतका सुविधायुक्त छात्रावास निर्माणको काम तीव्र रूपमा अघि बढेको छ । यस विद्यालयमा प्रायः अनाथ तथा भोटे समुदायका बालबालिका मात्र अध्ययन गर्दै आएका छन् । २०७९ देखि यो विद्यालयले यहाँ पढ्दै गरेका अनाथ तथा भोटे समुदायका बालबालिकालाई विद्यालयमै राखेर पढाउने गरेको छ । 

विद्यालयले यहाँ बस्ने गरेका बालबालिकालाई खाना, लगाउने कपडालगायतको राम्रो व्यवस्था गर्दै आएको भए पनि उनीहरूलाई राति बास बस्नका लागि भने यहाँ राम्रो भवन नहुँदा समस्या थियो । 

विद्यालयले उनीहरूलाई कर्कट पाताले छाएको छाप्रोमा राखेर पढाउने गरेको थियो । यहाँ पढ्ने ती अनाथ बालबालिका पनि त्यही सानो छाप्रोमा बस्ने गरेको थिए । करिब तीन वर्षअघि बाजुरामा आएको भूकम्पका कारण छाप्रो नष्ट भएको थियो । हिउँदको महिना यहाँ सधैँ बाक्लो हिमपात हुने गरेको र हिउँ परिसकेपछि त्यो हिउँ लामो समयसम्म रहने भएकाले यहाँका शिक्षकशिक्षिकाले उनीहरूको पठनपाठन नरोकिने गरेर त्यही बाक्लो हिउँमाथि बेन्च राखेर कक्षा सञ्चालन गरेका थिए । सोही अवस्थालाई चित्रण गरे हिउँमाथि बालबालिकाहरूको पढाइ भन्ने शीर्षकमा गोरखापत्र समाचार छापिएको थियो । सोही समाचारको प्रभावका कारण स्विजरल्यान्डकी एक समाजसेवी महिला हाना रोबरले विद्यालयको छात्रावास निर्माणका लागि पहल गर्नुभयो । पछि उहाँको निधन भइसकेको छ ।

स्विजरल्यन्डको नेफा संस्थाका अध्यक्ष वार्ननर स्थलनले गोरखापत्रमा छापिएको समाचार लिएर बाजुरा आउनुभयो र त्यही दिन यहाँ छात्रावास बनाउने निधो गर्नुभयो । अहिले उनै स्व. हानाको पहलमा सुरु भएको कामलाई निरन्तरता दिँदै नेफा संस्थाको तीन करोडभन्दा बढीको आर्थिक सहयोगले सो विद्यालयमा छात्रावास, भान्छा घर, शौचालयसहित १६ कोठे भवन निर्माण भइरहेको छ ।  गोरखापत्रको समाचारको प्रभावले नै अहिले हाम्रो विद्यालयमा कहिल्यै निर्माण हुन नसकेको र विद्यालयको क्षमताभन्दाबाहिर रहेको सुविधायुक्त छात्रावास प्राप्त भएकाले सो विद्यालयका प्रधानाध्यापक तुलाबहादुर थापाले बताउनुभयो ।