बैतडी समाचारदाता
बैतडी, साउन १८ गते । बैतडीका तेजसिंह कार्की पच्चीस वर्षदेखि परम्परागत ठेकी, बिण्णो, मदानी, नेती र थकाइलोका पोडा संरक्षण र बिक्री गर्दै आउनुभएको छ । दशरथ चन्द नगरपालिका–४, शाहीलेक बजारमा बिक्री केन्द्र नै राखेर उहाँले मोही पार्ने टिमुरको काठको मदानी, थकाइलोका बोक्राबाट निर्मित पोडा, अल्लो र केतकीको डोरीबाट निर्मित नेती बिक्री गर्दै आउनुभएको छ ।
गिठीको बिण्णोमा टिमुरको मदानी र थकाइलोका पोडा राखेर पारेको मोही असाध्यै मीठो हुने उहाँको अनुभव छ । उहाँले भन्नुभयो, “अचेल ठेकी र बिण्णो पाइन मुस्किल हुन थालेको छ । मदानी र थकाइलोका पोडा भने नियमित बिक्री गरिरहेको छु । मदानीको ४५० र पोडाको १५ रुपियाँ दररेट रहेको छ । गिठीको बिण्णो कोर्ने पुराना पुस्ताका सिपालु कालिगडसँगै बिण्णो पनि हराउने अवस्थामा पुगेको छ ।” केही वर्षअघिसम्म जिल्लाको दशरथ चन्द नगरपालिका–६, शेरा, नकडी, पञ्चेश्वर, शिवनाथ, श्रीकोटलगायतका क्षेत्रमा चुनारा थरका कालिगड ठेकी र बिण्णो निर्माण गर्दथे । पुराना कालिगडको निधनसँगै सिपसमेत हराएको सामाजिक अगुवा गोविन्दराज जोशीले बताउनुभयो ।
पञ्चेश्वरका केही गाउँमा अहिले पनि बिण्णो निर्माण हुने गरेको पञ्चेश्वर गाउँपालिका–४ का युवा कालिगढ धर्मराम ओडले बताउनुभयो । परम्परागत पानी घट्ट जस्तै कुलो निर्माण गरेर पानीको सहायताले पङ्खा घुमाएर गिठीको काठबाट ठेकी र बिण्णो निर्माण हुने उहाँले बताउनुभयो ।
गोरसका परिकार लोप हुँदै
दुध, दही, मही, घिउ जस्ता गोरसका आमपरिकार भए पनि बैतडीलगायत सुदूरपश्चिमका पहाडी जिल्लामा मोहीबाट ‘गाल्युँ’ बनाउने चलन हराइसकेको छ । मसिनो कोराको कपडामा मही हालेर झुन्ड्याएर बाँकी रहेको बाक्लो थिग्रोलाई गाल्युँ भनिन्छ । भैँसी पालन घट्न थालेपछि गाल्युँ जस्ता परिकार विरलै पाइन्छन् । चामलमा मही हालेर पकाइने मैरी जस्ता परिकार पनि लोप भइसकेका छन् ।