बाजुरा समाचारदाता
बाजुरा, साउन १८ गते । गत जेठ २३ गते भीषण आगलागीबाट ध्वस्त भएको बाजुराको बुढीगङ्गा नगरपालिका–६ को बाम्का बजारको स्वरूप फेरिँदै गएको छ । यहाँको मुख्य व्यापारिक केन्द्रका रूपमा चिनिँदै आएको यो बजारमा गत जेठ २३ गते नवदुर्गा होटेलमा राखेको सिलिन्डर ग्यास पड्किएर भीषण आगलागी भएको थियो । आगलागीबाट यहाँका झन्डै ३६ वटा पसल जलेर पूरै नष्ट भएका थिए ।
अहिले स्थानीय, प्रदेश तथा सङ्घीय सरकारलगायत विभिन्न सङ्घ संस्था र समाजसेवीको आर्थिक सहयोगले आगलागीबाट ध्वस्त भएको बाम्का बजार पुनर्निर्माण भएसँगै यसको स्वरूप पनि फेरिँदै गएको हो । विसं २०६३ देखि यहाँ सोलार र बिजुलीको पसल राखेर व्यापार गर्दै आएका पीडित दीपक साउदले बाहिरका लागि बाम्का बजार बजार देखिए पनि आफूहरूका लागि घरबास जस्तै रहेको बताउनुभयो । अहिले आफन्त, इष्टमित्रले गरेको यो सानो सहयोगले पुनः पसल निर्माण गरेर व्यापार सुरु गरे पनि आर्थिक कारोबारले भने निकै समस्या भएको आगलागीपीडित साउदले बताउनुभयो ।
बाम्का बाजुराको एक मुख्य बजार हो । यस भेगका अन्य बजारभन्दा यहाँ बढी कारोबार हुन्थ्यो । आगलागीबाट बजार नष्ट भएपछि केही समय यो बजार उराठलाग्दो थियो । अहिले यसको पुनर्निर्माण गरेसँगै स्वरूप बदलिएको छ । स्वरूप बदलिए पनि आगलागीपीडितको मन भने शान्त भएको छैन । यहाँका व्यापारीले २० वर्ष व्यापार गरेर कमाइ गरेको सबै सम्पत्ति एकैछिनमा स्वाहा भएपछि अब त्यो सम्पत्ति कसरी जोड्ने भन्ने उनीहरूको मनमा पीडा थपिएको छ । यो बजार त्रिवेणी, बुढीगङ्गा नगरपालिका, खप्तडछेडेदह गाउँपालिकालगायतका स्थानीयको दैनिक कारोबार गर्ने ठाउँ हो ।
यो ठाउँ तीन स्थानीय तहको सङ्गमस्थल पनि हो । यो बजारमा लुगाकपडा र दैनिक उपभोग्य सामग्रीसमेत सुपथ मूल्यमा पाइने गरेकाले पनि जिल्लाका अन्य बजारभन्दा यो बजारमा चहलपहल बढी हुने गर्छ । आगलागी हुँदा यहाँका ३६ पसलमा झन्डै यहाँ १५ करोड रुपियाँभन्दा बढीको धनमाल क्षति भएको थियो ।