धनगढी समाचारदाता
धनगढी, साउन १८ गते । सुदूरपश्चिम प्रदेश सरकारले एक वर्षमा १० अर्ब एक करोड रुपियाँ बराबरको भौतिक पूर्वाधार निर्माण गरेको छ । प्रदेश सरकारले आर्थिक वर्ष २०८१/८२ मा त्यति बजेट खर्चेर प्रदेशमा सडक, भवन, सडक पुल, कुलोलगायतका भौतिक पूर्वाधार निर्माण गरेको भौतिक पूर्वाधार विकास मन्त्रालयका इन्जिनियर नरेश शर्माले बताउनुभयो ।
यस आर्थिक वर्षमा मात्र प्रदेशमा १०६ किलोमिटर कालोपत्रे सडक निर्माण गरिएको मन्त्रालयले जनाएको छ । त्यस्तै १०३ किलोमिटर ग्राभेल, १४७ किलोमिटर माटे सडक र एक वर्षमा छ वटा सडक पुल निर्माण भएको उहाँले बताउनुभयो । सरकारी तथा सामुदायिक भवन छ वटा निर्माण गरिएका छन् । जनताको आवास कार्यक्रम अन्तर्गत ११० वटा निजी आवास र तीन वटा एकीकृत आवास निर्माण भएको इन्जिनियर शर्माले जानकारी दिनुभयो । २७ वटा सरकारी तथा सामुदायिक भवन मर्मत, कभर्ड हल दुई वटा, पार्क तीन वटा, खेल मैदान १० वटा निर्माण गरेको जनाइएको छ ।
प्रदेश सरकारको लगानीमा २६ किलोमिटर तटबन्ध निर्माण भई ३७ हेक्टर जमिन नदी कटान हुनबाट उकास गरिएको मन्त्रालयले जानकारी दिएको छ । त्यस्तै १३ हजार ९४७ हेक्टर जमिनमा सिँचाइ विस्तार गरिएको छ । सिँचाइ सुविधा विस्तारका लागि २४१ किलोमिटर पक्की कुलो, दुई किलोमिटर कच्ची कुलो, ३२ वटा डिप ट्युबेल, १६६ वटा सिँचाइ पोखरी र ७६ किलोमिटर पाइपलाइन निर्माण भएको मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ ।
गत आवमा प्रदेश सरकारले भौतिक पूर्वाधार विकास मन्त्रालयका लागि १४ अर्ब ४१ करोड रुपियाँ बजेट विनियोजन गरेको थियो । जसमध्ये चार अर्ब पूर्वाधार विकास बजेट खर्च हुन नसकेको मन्त्रालयले जानकारी दिएको छ ।