• १८ साउन २०८२, आइतबार

सुन्तलाका दाना झरेपछि स्याङ्जाका कृषक चिन्तित

blog

वालिङ नगरपालिका–१२ का कृषक सिता थापाले लगाउनु भएको सुन्तलाको बोट र झेरका सुन्तला । तस्बिर : राधाकृष्ण डुम्रे

राधाकृष्ण डुम्रे
वालिङ (स्याङ्जा) साउन १८ गते ।
सुन्तलाका दाना झर्न थालेपछि स्याङ्जाका कृषक चिन्तित भएका छन् । पुष्टिएका, हरिया र राम्रा दाना बनिसकेका सुन्तला एकाएक झर्न थालेपछि सुन्तला कृषक चिन्तामा परेका हुन् । पतेराको आक्रमणसँगै गर्मी र बर्षाको कारण सुन्तलाको दाना झर्ने गरेको हो ।

सुन्तलाका दाना मौसम र पतेरा गरी दुई कारणले झर्ने गरेको राष्ट्रिय कृषि आधुनिकीरण कार्यक्रम स्याङ्जाका सुन्तला प्राविधिक प्रमुख ईन्द्रप्रसाद सुवेदीले जानकारी दिनुभयो । दाना झर्न नदिन पतेरा नियन्त्रण र बिषादीको सहि उपयोगमा ध्यान दिन कृषकलाई उहाँको सुझाव छ ।

यो पटक सुन्तला धेरै झरेको वालिङ नगरपालिका–१२ का कृषक सिता थापाले बताउनुभयो । उहाँले भन्नुभयो, “दिनहुँजसो सुन्तलाका दाना झरिरहेका छन्, जसले चिन्ता थपेको छ ।”

सुन्तला बोटको राम्रो गोडमेल, स्याहार र सरसफाईमा ध्यान दिनु पर्ने प्राविधिक सुवेदीको भनाइ छ । आवश्यकता बमोजिम खाद्यान्न, मल, जल चाहिने जानकारी गराउँनु हुँदै उहाँले पौष्टिक तत्व र भिटामिन नपुग्दा दाना झर्ने गरेको हुन सक्छ ।

सुन्तलाका लागि उपयुक्त हावापानी भएका कारण स्याङ्जा सुन्तलाका लागि प्रसिद्ध छ । नगदेबालीको रुपमा जिल्लाका कृषकले व्यवसायिक सुन्तला खेती गर्दै आएका छन् । जिल्लामा सञ्चालनमा रहेको सुन्तला सुपरजोन परियोजना सुन्तला उत्पादन र बजारीकरणमा सहयोग पुु¥याउँदै आएको परियोजनाका अध्यक्ष बोधराज अर्यालले जानकारी दिनुभयो ।

जिल्लाका ११ पालिका र ९७ वडा मध्ये ५/६ वडा बाहेक सबै वडामा सुन्तला खेती गरिएको छ । झण्डै २ हजार ३५० हेक्टर क्षेत्रफलमा सुन्तला खेती गरिएको छ ।

गतबर्ष २० हजार मेट्रिक टन सुन्तला उत्पादन गरेका जिल्लाका कृषकले सुन्तला बिक्रीबाट एक अर्ब १२ करोड नगद हात पारेका थिए ।

जिल्लामा स्थानीयदेखि जापानी, उन्सु, खोकु लगायतका मौसमी तथा बेमौसमी सुन्तला खेती पनि गरिन्छ । एउटै किसानले एक सिजनमा सुन्तलाबाट ५५ लाख भन्दाबढी आम्दानी गर्दै आएका छन् । स्याङ्जामा २४ सहकारी, ८७ कृषक समूह र २५१ निजी फर्ममा सुन्तला उत्पादन हुन्छ ।