• १९ असोज २०८१, शनिबार

पञ्चशीलको सिद्धान्तमा अडिग छौँ : सञ्चारमन्त्री

blog

रमेश पौडेल 

पोखरा, असार ८ गते । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मित्रराष्ट्रबीच सुसम्बन्ध कायम गरी अघि बढ्नुपर्नेमा जोड दिनुभएको छ । पोखरामा आयोजित ‘पत्रकारिता सम्मान वितरण’ कार्यक्रमलाई मङ्गलबार सम्बोधन गर्दै उहाँले नेपाल पञ्चशीलको सिद्धान्तमा अडिग र आत्मसात् गर्दै आएको स्पष्ट पार्नुभयो । अन्य राष्ट्रसँग पनि सम्बन्ध विस्तार गर्दै अघि बढ्ने हो, मन्त्री कार्कीले भन्नुभयो, “सरकारले अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) अघि नबढाउने निर्णय गरिसकेको छ ।” 

हामी एक्लै हिँडेर कहीँ पुग्न नसकिने र सबैको सहयोगका साथ अघि बढेमा मुलुकको भविष्य राम्रो हुनेमा सबै एकमत रहेको बताउँदै उहाँले लोकतान्त्रिक स्थिरता हुन सकेको अवस्थामा १० वर्षमा नेपाल दक्षिण एसियाको धनी मुलुक बन्ने दाबी गर्नुभयो  । 

मन्त्री कार्कीले महँगीका कारण जनतालाई मार परेको तर यसको पछाडि सरकारलाई मात्र दोषी देख्न नहुने बताउनुभयो । अन्तर्राष्ट्रियस्तरमा पेट्रोलियम पदार्थको मूल्य वृद्धि प्रमुख कारण हो, उहाँले थप्नुभयो, ‘पेट्रोललाई विस्थापित गर्न ऊर्जाको विकासलाई पँुजी निर्माणका लागि लगानी मैत्री वातावरण बनाउन र यसलाई व्यवस्थित र खपत बढाउनतर्फ सरकार लागेको छ ।

उहाँले निजी क्षेत्रलाई प्रोत्साहन गरी अपार जलस्रोतको उपयोग गर्न सके मात्रै देशको समृद्धिमा महìवपूर्ण योगदान पुग्ने बताउनुभयो । आगामी पुस्तालाई समृद्ध पुस्ता बनाउने गरी लाग्न सबैको साथ सहयोग आवश्यक रहेको उहाँले प्रस्ट पार्नुभयो ।  वर्तमान सरकार प्रेस स्वतन्त्रताको पक्षमा रहेको स्पष्ट पार्दै उहाँले भन्नुभयो, “संविधानले परिकल्पना गरेको अभिव्यक्ति स्वतन्त्रता, व्यक्तिगत स्वतन्त्रतालाई सरकार अक्षुण्ण राख्न चाहन्छ ।” 

कुनै पनि पत्रकारलाई विचार व्यक्त गरेको आधारमा सरकारले दण्डित नगर्ने दाबीसमेत उहाँले गर्नुभयो । नेपाललाई दक्षिण एसियामा नै स्वतन्त्र प्रेसको नमुना देश बनाउन कानुनी र संरचनागत व्यवस्था गर्न सरकार तयार रहेको मन्त्री कार्कीले बताउनुभयो ।

सो अवसरमा मन्त्री कार्कीले नेपाल पत्रकार महासङ्घ कास्कीद्वारा स्थापित दयाशङ्कर पालिखे स्मृति पत्रकारिता सम्मान–२०७८ पत्रकार बबिता बस्नेतलाई प्रदान गर्नुभयो । उक्त सम्मानको राशि सम्मानपत्रसहित एक लाख एक हजार एक सय ११ रुपियाँ रहेको छ । महासङ्घ कास्कीका अध्यक्ष विमला भण्डारीले पत्रकारिताका माध्यमबाट सचेतना, महिला जागरण आदिमा महìवपूर्ण योगदान गरेका कारण बबिता बस्नेतलाई सम्मान प्रदान गरिएको बताउनुभयो ।

प्रतिभा छनोट समितिका संयोजक तथा महासङ्घ कास्कीका पूर्वअध्यक्ष रवीन्द्र बास्तोलाले समाजको रूपान्तरणका साथै प्रजातन्त्रको स्थापनामा महìवपूर्ण योगदान गरेका दयाशङ्कर पालिखेको स्मृतिमा स्थापित पुरस्कार तथा सम्मान आफैँमा महìवपूर्ण रहेको बताउनुभयो ।