• १३ असोज २०८१, आइतबार

रोकिएन नदीजन्य पदार्थको अवैध उत्खनन

blog

बाँकेको राप्तीसोनारीमा सञ्चालित अवैध क्रसर उद्योग । तस्बिर : सिराज खान

नेपालगञ्ज, असार ८ गते । बाँके जिल्लाका विभिन्न नदी र खोलाबाट हुँदै आएको नदीजन्य पदार्थ बालुवा, गिट्टी र ढुङ्गाको अवैध उत्खनन र ओसारपसार निरन्तर जारी छ । राप्तीसोनारी गाउँपालिकाबाट निर्वाचित जनप्रतिनिधिले अनुगमन गर्दा धेरै ठूलो परिमाणमा उत्खनन गरिएको अवैध नदीजन्य पदार्थ फेला परेपछि प्रहरी प्रशासनले सो रोक्न केही कडाइ गरे पनि अवैध उत्खनन र ओसारपसार निरन्तर छ । 

राप्तीसोनारीको राप्ती नदीबाट अवैध रूपमा नदीजन्य सामग्री उत्खनन र ओसारपसारमा संलग्न चारवटा सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएपछि अहिले अवैध उत्खनन र ओसारपसार निरन्तर जारी रहेको पुष्टि भएको हो । राप्ती नदीबाट ढुङ्गा लिएर आउँदै गरेका दुईवटा ट्याक्टर र अवैध रूपमा बालुवा तस्करी गर्न जाँदै गरेका थप दुइटा ट्याक्टरलाई प्रहरीले नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । इप्रका कोहलपुरका अनुसार राप्ती नदीमा अवैध रूपमा बालुवा उत्खनन गर्न जाँदै गरेका भे. १ त ८८६३ र भे. १ त ७१४० नम्बरका ट्याक्टरलाई प्रहरी चौकी कचनापुर र सशस्त्र प्रहरी बेस क्याम्प जिरोको टोलीले नियन्त्रणमा लिएको थियोे ।

दुइटा ट्याक्टरलाई सिक्टा सिँचाइको नहर हुँदै गएको बाटोबाट राप्तीसोनारी–२ स्थित मुगुवा खोलामा प्रवेश गर्दै गरेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको प्रहरी चौकी कचनापुरका प्रहरी सहायक निरीक्षक विष्णु खड्काले जानकारी गराउनुभएको छ । 

प्रहरी चौकी कचनापुरबाट प्रहरी सहायक निरीक्षक खड्काको नेतृत्वमा गएको टोलीले वडा नम्बर २ कै माथेवासमा जम्मा गरेर राखिएको ढुङ्गा लिएर आउँदै गरेको अवस्थामा भे. १ त ३३१६ र भे. १ त ७३६२ नम्बरका दुइटा ट्याक्टरलाई नियन्त्रणमा लिएको थियो ।