काठमाडौँ, साउन १३ गते । उपप्रधानमन्त्री एवम् सहरी विकास मन्त्री प्रकाशमान सिंहले जनतामा भएको आस्था जोगाउन धार्मिक क्षेत्रहरूको संरक्षण गर्नुपर्ने बताउनुभएको छ । भक्तपुरको कलममसीमा १३औँ नागपञ्चमी मेला तथा २७ फिट लामो कालिनागको विशेष रुद्री पूजा कार्यक्रममा उपप्रधानमन्त्री सिंहले धार्मिक क्षेत्रको संरक्षणमा जोड दिनुभएको हो ।
चाँगुनारायण नगरपालिका ८ मा पर्ने कलममसीमा ७ फिट लामो कालिनागको मन्दिर छ । सोही स्थानमा श्री कलममसी कल्पेश्वर महादेव तथा कालिका देवी संरक्षण समाजले १०८ फिट उचाइको महादेवको मन्दिर बनाउँदै छ । उपप्रधानमन्त्री सिंहले समय लागे पनि सो मन्दिर छिटै निर्माण हुने विश्वास व्यक्त गर्दै त्यसका लागि आफूले सकेको सहयोग गर्ने बताउनुभयो ।
नाग पूजाको पावन अवसरमा आयोजित कार्यक्रममा सहभागी हुन पाउँदा खुसी लागेको बताउनुभयो । उहाँले धार्मिक क्षेत्रको संरक्षण र प्रवर्द्धन गर्न सके कालोमसी क्षेत्र धार्मिक पर्यटनको केन्द्र बन्ने बताउनुभयो । त्यस्तै, उपप्रधानमन्त्री सिंहले अहिले विभिन्न स्थानमा खडेरी परेको भन्दै त्यसबाट बचाउन वातावरण जोगाउनेतर्फ सबैले आआफ्नो ठाउँबाट योगदान गर्नुपर्नेमा पनि जोड दिनुभयो ।
कार्यक्रममा चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीले मन्दिर निर्माणका लागि सहयोग गरेको भन्दै उपप्रधानमन्त्री सिंहलाई धन्यवाद दिनुभयो । विश्व सम्पदा सूचीमा सूचिकृत चाँगुनारायण मन्दिर देखि कल्पेश्वर क्षेत्रसम्म धार्मिक हिसाबले महत्त्वपूर्ण स्थल रहेको भन्दै यसलाई धार्मिक क्षेत्रका रूपमा विकास गर्ने गरि आफूले काम गरिरहेको बताउनुभयो ।
कार्यक्रममा भक्त्तपुरबाट निर्वाचित प्रतिनिधिसभा सदस्य दुर्लभ थापा, उपत्यका विकास प्राधिकरणकी आयुक्त जानुका ढकाललगायत सहभागी हुनुहुन्थ्यो ।