भावना जोशी
अत्तरिया, साउन १३ गते । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले लामो समयदेखि अलपत्र परेको बहुप्रतिक्षित पञ्चेश्वर बहुउद्देश्यीय परियोजनालाई अगाडि बढाउन गृहकार्य भइरहेको बताउनुभएको छ । नेपाल–भारत दुवैको हित हुने गरी परियोजनालाई अगाडि बढाउन काम थालिएको उहाँले बताउनुभयो ।
मन्त्री खड्काले प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न भारत भ्रमणका क्रममा पञ्चेश्वर परियोजना अगाडि बढाउने गरी महत्त्वपूर्ण सहमति जुट्ने अपेक्षा गरिएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “सम्झौता भएको २० वर्ष बितिसक्दा पनि कार्यान्वयन हुन नसक्दा नेपालले झन्डै एक खर्ब रुपियाँको घाटा बेहोर्नु परेको छ, अब बाँकी विवादित विषय टुङ्ग्याउने गरी गृहकार्य भइरहेको छ ।”
नेपालको ऊर्जा क्षेत्रमा अपार सम्भावना हुँदाहुँदै पनि स्रोत साधनको अभाव, कानुनी अड्चन र आर्थिक समस्याका कारण पञ्चेश्वर मात्र नभई पश्चिम सेतीजस्ता परियोजनाहरू पनि अघि बढ्न नसकेको उहाँले स्पष्ट पार्नुभयो ।