• १० साउन २०८२, शनिबार

इरान–अमेरिका दशकौँको तनाव

blog

अमेरिका र इरानबीच कहिल्यै औपचारिक रूपमा युद्ध भएन तर यी दुई देशबीच दशकौँदेखि तनाव रहिआएको छ । हामी अमेरिका र इरानबीच लामो समयदेखि चलिरहेको सङ्घर्ष तथा तनाव उत्कर्ष पुग्दा उठाइएका कदमका बारेमा यहाँ चर्चा गर्दै छौँ । 

इरानका प्रधानमन्त्री मोहम्मद मोसादेक अपदस्थ सन् १९५३ मा अमेरिकी र बेलायती गुप्तचर संस्थाले लोकतान्त्रिक रूपमा निर्वाचित इरानका प्रधानमन्त्री मोहम्मद मोसादेकलाई अपदस्थ गर्न सहकार्यमा सत्ताकब्जाको प्रपञ्च रचे । धर्मनिरपेक्ष मोसादेकले इरानको तेल उद्योगलाई राष्ट्रियकरण गर्ने घोषणा गरेका थिए । जुन उद्योगमा बेलायतको नियन्त्रण रहिआएको थियो । यसबीच अमेरिकी अधिकारीलाई कस्तो आशङ्का भयो भने सहयोगका लागि मोसादेक सोभियत सङ्घको निकट जान सक्छन् । सन् २०१३ मा सिआइएको सार्वजनिक गरिएको दस्ताबेजमा स्पष्ट रूपमा स्वीकारियो, सन् १९५३ को सत्ताकब्जा घटनामा सिआइएको संलग्नता थियो । त्यस सत्ताकब्जाले पश्चिमामैत्री साह राजसंस्थालाई पुनर्बहाली गर्‍यो । जुन कदमले गर्दा इरानमा राष्ट्रवादको यस्तो लहर सिर्जना गरिदियो जसको परिणाम सन् १९७९ मा इरानी क्रान्ति त्यहाँ सफल भयो । 

इरानी बन्धक सङ्कटका कारण कार्टरले पहिलो पटक इरानमाथि प्रतिबन्ध लगाए

सन् १९७९ नोभेम्बर ४ मा इरानी विद्यार्थीको एक समूहले तेहरानमा रहेको अमेरिकी दूतावासमा जबरजस्ती पसेर ६० भन्दा बढी अमेरिकीलाई बन्धक बनायो र यस घटनाबाट एक खालको अन्तर्राष्ट्रिय सङ्कट आइलाग्यो । अमेरिकाले इरानलाई कडा जवाफ दिन र झुकाउन उसमाथि प्रतिबन्ध लगाउने घोषणा गर्‍यो । ४४४ दिन लामो प्रतिबन्धले अमेरिकामा जिमी कार्टरको राष्ट्रपति काल कमजोर पार्‍यो, इरानमा नयाँ राजनीतिक युगको सूत्रपात भयो तथा अमेरिकी हस्तक्षेपको विरोध गर्ने एक क्रान्तिकारी धर्मगुरु अयातोल्लाह रुहोल्लाह खुमेनीलाई अन्तर्राष्ट्रिय छवि बनाइदियो । 

यस घटनाले अमेरिका र इरानबीच एक यस्तो स्थायी गतिरोधसमेत उत्पन्न गरिदियो जसमा प्रत्यक्ष वार्ता गरिनुको साटो प्रतिबन्धलाई नै मुख्य साधकका रूपमा अपनाइयो । राष्ट्रपति कार्टरले बन्धक सङ्कट उत्पन्न भएलगत्तै इरानमाथि प्रतिबन्ध लगाएको घोषणा गरी इरानको तेल बिक्रीमा ठूलो कटौती गर्नुका साथै इरानी सम्पत्तिमा रोक्का लगाए । बन्धक मुक्तिका लागि यी कदमसँगै चलाइएको कूटनीतिक प्रयास सार्थक हुन सकेन । यसर्थ बन्धक सङ्कट सुरु भएको २१२ दिनपछि सन् १९८० अप्रिल ७ मा कार्टरले झनै कठोर कदम उठाउने घोषणा गरे । अमेरिकाले इरानसँग कूटनीतिक सम्बन्ध विच्छेद ग¥यो, खाद्य सहायतामा कटौतीसहितका आर्थिक प्रतिबन्ध लगायो, अमेरिकामा इरानी संस्थाहरू बन्द गरिए तथा इरानबाट सबैखाले आयातमा प्रतिबन्ध लगाइयो ।  

त्यतिबेला कार्टरले राष्ट्रलाई सम्बोधन गर्दै भनेका थिए, “बन्धकको सुरक्षित रिहाइका लागि म प्रतिबद्ध छु । आज मैले जुन आदेश जारी गरेको छु ती अत्यावश्यक थिए । यदि यी आदेशबाट बन्धकको शीघ्र रिहाइमा योगदान भएन भने थप कदम जरुरी हुने छन् ।” 

इरानमा बन्धक रिहा भएनन् । बन्धक सङ्कट जारी रहेपछि कार्टरले यस्तो दुर्भाग्यपूर्ण उद्धार अभियानलाई मञ्जुरी दिए जसलाई बालुवाको आँधीले आठ सैन्यकर्मीको मृत्यु भएपछि रद्द गर्नु प¥यो । राष्ट्रपति पदमा पुनः निर्वाचित हुने कार्टरको प्रयास विफल भएपछि मात्र बन्धक सङ्कट समाप्त भएको थियो । 

बेरुत ब्यारेकमा बम विस्फोटपछि रेगनले इरानलाई ‘एक आतङ्कवाद प्रायोजक राज्य’ भने । सन् १९८१ मा राष्ट्रपति निर्वाचित रोनाल्ड रेगनले पदभार ग्रहण गरेको केही घण्टामै इरानमा बन्धकलाई रिहा गरिए पनि अमेरिकाले इरानमाथि आफूले लगाएको प्रतिबन्ध हटाएन । बन्धकलाई सकुशल रिहा गरेमा आफूले इरानमाथि लगाएका सबै व्यापार प्रतिबन्ध हटाउने सहमति जनाएको थियो तर कार्टरले लादेका सबै खालका आर्थिक प्रतिबन्ध अमेरिकाले तत्कालै हटाएन ।  

यसबीच सन् १९८० मा इरानले इराकमाथि आक्रमण सुरु गर्‍यो र यो युद्ध आठ वर्षसम्म चल्यो । आरम्भमा अमेरिकाले यस लडाइँमा आफूलाई तटस्थ राखेको थियो तर समय बित्दै जाँदा अमेरिकाले इराकलाई समर्थन गर्न थाल्यो ।   

सन् १९८३ मा लेबनानको बेरुतमा रहेको अमेरिकी सेनाको ब्यारेकमा एक भयङ्कर ट्रक बम विस्फोट हुँदा २४१ सैनिक मारिए । आतङ्कवादीद्वारा कारबाही गरिएको यस घटनामा इरानको कम्तीमा पनि आंशिक भूमिका रहेको आशङ्का रह्यो रेगन प्रशासनको ।    


यस कारण अमेरिकाले इरानलाई ‘एक आतङ्कवाद प्रायोजक राज्य’ को संज्ञा दियो । यस्तो पदनाम दिएपछि इरानमाथि थप प्रतिबन्ध लगाउन अमेरिकालाई मार्गप्रशस्त हुन्थ्यो । इरानलाई यस्तो संज्ञा दिइएपछि ऋण र वैदेशिक सहायता रोकिए, आवश्यक क्षेत्रमा प्रयोगका साथै युद्ध बन्दोबस्तीमा समेत प्रयोग गर्न मिल्ने दोहोरो उपयोगिता भएका वस्तु, प्रविधि र मालवस्तुको बिक्रीमा रोक लाग्यो । रेगन प्रशासनले इरानलाई गोप्य तवरमा हातहतियार र धन उपलब्ध गरायो ।

रेगनले राष्ट्रिय मञ्चमा उभिएर सार्वजनिक रूपमा इरानमाथि कठोर प्रतिबन्धलाई जारी राखेको प्रदर्शन गरिराखे तर पर्दापछाडि उनको प्रशासनका अधिकारी लेबनानमा इरान समर्थित आतङ्कवादी समूहद्वारा बन्धक बनाइएका अमेरिकीलाई मुक्त गराउन हतियारमाथि प्रतिबन्ध लगाइएको भए पनि इरानलाई गुप्त रूपमा हातहतियार र धन उपलब्ध गराइरहेका थिए । जुन कुरा पछि इरान–कन्ट्रा मामिलाका रूपमा परिचित भयो । 

सन् १९८७ सम्म गुप्त कार्यक्रम सार्वजनिक नभए पनि यसले इरानप्रति रेगन प्रशासनको नीतिलाई आकार चाहिँ दिएको थियो । हातहतियार काण्डका बारेमा भएको सुनुवाइमा लेफ्टिनेन्ट कर्नेल ओलिभर नर्थले राष्ट्रपति रेगन अवगत रहेको दाबी गर्दै हातहतियार सम्झौतामा आफू सहभागी मात्र होइन इरानसँगको हतियार सम्झौताबाट प्राप्त धन निकारागुआका कन्ट्रासलाई हस्तान्तरण गरेको स्वीकारसमेत गरेका थिए । 

रेगनले बन्धक रिहाइका लागि हतियार दिएको कुरा अस्वीकार गरे । बरु उनले उदारवादी इरानीलाई अमेरिकाको समर्थनमा उभिन प्रोत्साहित गर्न सकियोस् भनी कार्यक्रममा सहभागिता जनाएको कुरामा जोड दिए । सन् १९८७ मा अमेरिकाले आफ्नो रणनीतिक पेट्रोलियम भण्डारणका लागि इरानी तेल किन्यो । राजनीतिक दबाबमा रेगनले अमेरिकाबाट कुनै पनि खालका मालवस्तु आयात गर्न नपाउने गरी इरानमाथि प्रतिबन्ध लगाइदिए । तथापि उनले इरानको आक्रामकताको प्रतिवादमा उठाइएको भनेर आफ्नो यस कदमको औचित्य पुष्टि गर्न खोजे ।  

व्यापार प्रतिबन्धका बारेमा राष्ट्रलाई सम्बोधन गर्दै रेगनले इरानसँगको तनाव कम गर्न बारम्बारको प्रयास असफल हुँदा तथा इरानी सरकारको कलहप्रिय व्यवहारको प्रतिवादमा यस्तो कदम चालिएको बताएका थिए ।  

यसबीच पर्सियन खाडीमा अमेरिकाको युद्धपोत युएसएस सामुयल रोबर्ट्स कुवेती तेलवाहक जहाजको मार्ग संरक्षणमा खटिएका बेला  सन् १९८८ अप्रिलमा बारुदी सुरङको चपेटामा पर्न गयो । अमेरिकाले १० जना नाविक घाइते हुने गरी भएको यस घटनाको दोष इरानलाई दियो । प्रतिवाद गर्दै अमेरिकी जलसेनाले इरानका दुई निगरानी मचान नष्ट गरिदिए तथा उसका दुई जहाजसमेत डुबाइदिए । अपरेसन प्रेइङ मान्टिस नाम दिएको यस कारबाहीमा थप एक जहाज नराम्रोसँग क्षतिग्रस्त भयो । 

इरानको एक यात्रुवाहक विमान खसालियो 

सन् १९८८ जुलाई ३ मा अमेरिकी युद्धपोतबाट प्रहार गरिएको एक निर्देशित क्षेप्यास्त्रले गल्तीले इरान एयर फ्लाइट ६५५ लाई खसालेको थियो । तेहरानबाट उडेर बन्दर अब्बास हुँदै दुवई गइरहेको सो विमानमा सवार सबै २९० यात्रुको मृत्यु भयो । पछि अमेरिकाले एयरबस ए३०० लाई गल्तीले लडाकु विमान ठानेर खसालिएको बतायो । 

क्लिन्टनले अमेरिकी कम्पनीलाई इरानसँग तेल सम्झौता गर्नमा रोक लगाए  

इरान–इराक युद्ध समाप्त भएपछि अमेरिकाका राष्ट्रपति बिल क्लिन्टनले इराक र इरानको घट्दो शक्तिको लाभ उठाउन ‘द्वैध नियन्त्रण’ नीति विकसित गरे । यो नीति सन् १९९० को दशकमा सबैभन्दा महत्वपूर्ण भूराजनीतिक सम्पत्ति–पर्सियन खाडीको तेलमा केन्द्रित थियो । इरानलाई झुकाउन नसक्ने भएपछि राष्ट्रपति क्लिन्टन प्रशासनले उसलाई कमजोर तुल्याउन तेल कूटनीति प्रयोग गर्ने रणनीति लियो । 

सन् १९९५ मा कनोको र इरानबीच एक अर्ब अमेरिकी डलरको एक यस्तो सम्झौता भयो जस अन्तर्गत अमेरिकी स्वामित्वमा रहेको कम्पनी कनोकोलाई इरानका दुई तेल क्षेत्रमा असाधारण पहुँच प्राप्त हुने भयो । क्लिन्टन प्रशासनले यसमा तत्क्षण प्रतिक्रिया देखाउँदै यस सम्झौताबाट राष्ट्रिय सुरक्षामा खतरा उत्पन्न भएको दाबी ग¥यो । कनोको सम्झौताबाट पछाडि हट्यो र क्लिन्टनले इरानसँग तेल सम्झौतामा सहभागी हुन नपाउने गरी अमेरिकी कम्पनीमाथि रोक लगाएको घोषणा गरे । यसलाई सन् १९९६ मा ‘इरान एन्ड लिबिया सेङ्सन्स एक्ट’ द्वारा अझ कठोर बनाइयो । यस कानुनले इरानविरुद्ध बहुपक्षीय व्यापार प्रतिबन्ध लगाउन अमेरिकालाई अधिकार प्रदान गर्दथ्यो ।  

इरानको परमाणु कार्यक्रमका कारण उसमाथि लगाइएको प्रतिबन्धले उसको अर्थव्यवस्था पतनोन्मुख इरानले युरेनियम प्रशोधन तथा परमाणु कार्यक्रम विकास गरिरहेको जानकारी सन् २००२ मा अन्तर्राष्ट्रिय समुदायले थाहा पायो । अमेरिका लामो समयदेखि इरानले गुप्त रूपमा परमाणु कार्यक्रम सञ्चालन गरिरहेको आशङ्का थियो तथा जब अमेरिकामा सेप्टेम्बर ११ मा आतङ्कवादी आक्रमण भयो त्यसलाई लिएर राष्ट्रपति जर्ज डब्लु बुसले इरानलाई ‘दुष्टको धुरी’ भनेपछि दुवै देशबीचको सम्बन्ध झनै खराब हुन थाल्यो ।   

चाँडै नै अमेरिकाले ती व्यक्ति र व्यवसायको सम्पत्ति रोक्का गर्न थाल्यो जसमाथि इरानलाई सहायता गरिरहेको आशङ्का उसले गरिरहेको थियो । अन्तर्राष्ट्रिय समुदायले इरानमाथि दबाब बनाउन थालेपछि अमेरिकाले आफ्नो विद्यमान प्रतिबन्धलाई अभैm कठोर बनाउँदै आफ्नो कठोर नियमको पालना नगर्ने व्यक्ति र बैङ्कलाई ठूलो जरिबाना गर्‍यो । 

राष्ट्रपति बाराक ओबामाको कार्यकालमा इरानमाथि पेच झनै कसियो । इरानको परमाणु गतिविधिको प्रतिकार्यमा ओबामा प्रशासनले उसको पेट्रोलियम खरिद, बैङ्क र अटोमोबाइल उद्योगलाई निसाना बनायो । अन्ततः अमेरिकाले इरानसँगको सबै व्यापारमा रोक लगायो । अमेरिकाको यस कार्यमा अन्तर्राष्ट्रिय समुदायको एक ठूलो समूह पनि सहभागी भयो तथा इरानमाथि महत्वपूर्ण आर्थिक र राजनीतिक प्रतिबन्ध थोपरियो । 

यसको नतिजा इरानको अर्थव्यवस्था धराशायी हुने अवस्थामा पुग्यो । स्वास्थ्य सेवा, बैङ्किङ र अन्य महìवपूर्ण क्षेत्र नराम्रोसँग प्रभावित भए तथा इरानको मुद्रा रियाल धेरै कमजोर भयो । प्रतिबन्धले इरानमा मालवस्तुको मूल्य आकासियो, मुद्रा स्फीतिको अवस्था आयो र बेरोजगारी बढ्यो । 

ओबामाको कार्यकालमा इरानको परमाणु सम्झौता भयो र ट्रम्पका बेला रद्द भयो राष्ट्रपति ओबामाले जब सन् २०१५ मा इरानको परमाणु कार्यक्रममा पूर्णविराम लगाउने सम्झौताको जवाफमा केही हदसम्म प्रतिबन्ध हटाउने घोषणा गरेपछि प्रतिबन्धको दण्डात्मक प्रभाव विस्थापन भयो । यस सम्झौताको मातहत इरानले अन्तर्राष्ट्रिय बजारमा आफ्नो तेल बेच्न पाउने भयो तथा दशकौँदेखिको प्रतिबन्धले विस्तारै बन्द हुने अवस्थामा पुगेको विश्व बजार प्रभावकारी रूपमा खुला भयो । 

तर सन् २०१८ मे ८ मा राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०१५ मा इरानसँग गरिएको परमाणु सम्झौताबाट अमेरिकालाई आफूले अलग गरेको घोषणा गरे । परमाणु सम्झौता खारेज गर्नुको अर्थ इरानमाथि आर्थिक प्रतिबन्धको नयाँ थालनी थियो ।  

अमेरिकी हमलामा इरानका एक प्रमुख सैन्य कमान्डरको मृत्यु

सन् २०२० जनवरीमा राष्ट्रपति ट्रम्पको आदेशबाट इराकमा अमेरिकी ड्रोनबाट प्रहार गरिएको क्षेप्यास्त्रद्वारा इरानका शक्तिशाली सैन्य कमान्डर जनरल कासिम सुलेमानी मारिए । इरान समर्थित मिलिसिया समूहलाई लक्ष्य बनाएर अमेरिकी सेनाले गरेको हवाई हमलाबाट क्रुद्ध हजारौँ प्रदर्शनकारीले बगदादमा रहेको अमेरिकी दूतावास परिसरमा प्रवेश गरी अमेरिकी सुरक्षा दस्तामाथि ढुङ्गामुढा हानेको केही दिनपछि इरानका शक्तिशाली सैन्य कमान्डरमाथि ड्रोनले आक्रमण गरिएको थियो । 

त्यसअघि सन् २०१९ जुनमा होमरुज जलडमरुमध्यमा इरानी सैन्य बलले एक अमेरिकी ड्रोन खसालिदिएका थिए । आफ्नो क्षेत्रमा उडिरहेका कारण त्यसलाई खसालिएको दाबी इरानले गर्‍यो । सुलेमानीको हत्याले दुई देशबीच अनौपचारिक द्वन्द्व चरमोत्कर्षमा पुग्यो । पेन्टागनले जारी गरेको एक विज्ञप्तिमा भनियो, सुलेमानीले इराक र त्यस क्षेत्रमा रहेका अमेरिकी कूटनीतिज्ञ र सैन्य बलमाथि आक्रमण गर्ने योजना बनाइरहेका थिए । 

सुलेमानी मारिएको बदला लिन सन् २०२० जनवरी ८ मा इरानले इराकमा रहेका दुई अमेरिकी सैन्य आधार शिविरमा २० भन्दा बढी क्षेप्यास्त्र प्रहार गरेको थियो । त्यस घटनामा कोही पनि हताहत भएन । 

हिस्ट्रीबाट उमेश ओझाद्वारा अनुवादित र सम्पादित 

  –युवामञ्च