‘राष्ट्रियताका विषयमा राजाको र मेरो घाँटी एकै ठाउँमा छ’ विसं २०३३ सालमा ‘मेलमिलाप’ नीति लिएर फर्किने क्रममा महामानव बिपी कोइरालाले त्यस नीतिका बारेमा व्याख्या गर्दै भन्नुभएको यो वाक्यार्थलाई अहिले पनि विभिन्न कोणबाट विश्लेषण गरिन्छ । खास गरी ‘कम्युनिस्ट’ त्यसमा पनि ‘उग्रवाद’ मा रमाउनेहरूले बिपीको तत्कालीन भनाइलाई आजको सन्दर्भमा जोडेर ‘राजावादी’ भन्ने ट्याग लगाइरहेका छन् । सरसर्ती हेर्दा वा सुन्दा स्वाभाविक पनि लाग्छ । अर्को तितो यथार्थ के पनि हो भने बिपीका तिनै नीति, आदर्श, सिद्धान्त अनि चिन्तनको जगमा राजनीति गर्दै आएका कांग्रेसीले पनि आजसम्म त्यो कुराको चरितार्थ प्रस्ट्याउन सकेका छैनन् । आफ्ना मान्यतालाई स्थापित गर्न नसक्नु कांग्रेसीजनको सनातनी रोग नै हो । जसले बेला बेलामा कांग्रेस थला पनि पर्दै आएको छ ।
त्यो बिपी बाँचेको युग थियो । देश, काल र परिस्थितिको विश्लेषण थियो । तिनै परिधिलाई बिचारेर बिपीले त्यो नीति अँगाल्नुभएको थियो । आज बिपी हुनुहुन्न । राजा अनि राजसंस्था पनि छैनन् । बिपीले कहिल्यै भन्नुभएन कि सधैँ राजसंस्था चाहिन्छ । अहिले यो पनि भन्नुभएन कि हामीले कहिल्यै राजसंस्थाविरुद्ध सङ्घर्ष गर्ने छैनौँ ।
‘हामी भन्छौँ राजासँग हामी सङ्घर्ष गर्दैनौँ र व्यवस्थासमक्ष समर्पण गर्दैनौँ । मैले सङ्घर्ष नै नगर भनेको छैन । आफ्नो बुताबाट हुन सक्छ भने सङ्घर्ष गरे हुन्छ तर कुनै अरूको हतियार भएर सङ्घर्ष नगर’ बिपीले त्यो बेलै भन्नुभएको थियो । (सङ्कलित र सम्पादित पुस्तक राजा, राष्ट्रियता र राजनीति–गणेशराज शर्मा)
अझ राजा अनि राजसंस्था र राजाहरूको कदमबारे उहाँले लन्डनमा दिनुभएको एउटा अन्तर्वार्तामा पनि प्रस्ट पार्नुभएको । ‘मैले के भनेको छु भने ‘मोनार्की र डेमोक्रेसी इन कम्फर्टेबल कन्सेप्सन’ । ‘मोनार्की डिक्टेटरसिप’ पनि हुन सक्छ ‘डेमोक्रेटिक’ पनि हुन सक्छ । जहिले म ‘प्राइमिनिस्टर’ थिएँ, त्यसबखत पनि ‘मोनार्की’ थियो । हाम्रै नेपालमा ‘मोनार्की’ ले विभिन्न रूप धारण गरेको छ । कहिले ‘मोनार्की’ बन्दी भएर बसेको छ (राणाको पालामा १०४ वर्षसम्म) ।
कहिले दुई वटा ‘मोनार्की’ भएर बनेको छ, एउटा भागेर दिल्ली बसेको छ (तत्कालीन राजा त्रिभुवन) एउटा चाहिँ सानो ज्ञानेन्द्र राजा भएर बसेको छ । एकचोटि ‘इलेक्ट्रोल’ भएर ‘कन्स्टिच्युसनल’ भएर बसेको छ । फेरि अहिले ‘डिक्टेटरियल मोनार्की’ छ । त्यस कारण ‘मोनार्की’ भनेर भएन । हाम्रो इच्छा के हुन्छ भने ‘इन द डेमोक्रेटिक फ्रेमवर्क मोनार्की’ को ठाउँ छ । ठाउँ मात्रै होइन, बडो ‘इफेक्टिभ’ र इज्जत छ र रोल पनि छ ।
अहिले देशलाई अगाडि जानु परेको छ । स्क्य्राचबाट डेभलप गर्नु परेको छ । सबैको ‘एफोर्ट’, ‘नेसनल एफोर्ट’ चाहिएको छ । ‘किङको कोअपरेसन’ नभई त्यो पनि गाह्रो पर्छ । त्यो कुरा ‘लेट किङ’ (महेन्द्र) सँग पनि भनेको थिएँ । ‘लेट किङ’ सँग मेरो एक पटक बाझाबाझ जस्तो पनि भएको थियो । ‘लेट किङ’ ले या तिमी बस या म बस्छु भने जस्तो कुरा गरे । त्यसमा मैले भनेको थिएँ, दुवैको ‘रिप्रेजेन्टिभ’ अवयव छ जनताको पनि र ‘मोनार्की’ पनि । किनभने विकासको ‘जब हार्ड जब’ हो । यसका लागि ‘नेसनल एफोर्ट’ चाहिन्छ त्यसैले ‘मोनार्की’ पनि राख्न चाहन्छु म तर ‘अन्डर द डेमोक्रेटिक फ्रेमवर्क ।’ (बिपी कोइरालासँग वरिष्ठ पत्रकारद्वय राणा र अधिकारीले त्यस समयमा लन्डनमा लिएको अन्तर्वार्ता, १२ खरी अनलाइनमा प्रकाशित)
देश, काल र परिस्थितिलाई विचार गर्ने नेपाली कांग्रेसको नेतृत्वले जुनखाले राजनीतिक निर्णय शक्तिको विकास गरेको हुन्छ त्यो अरूमा कमै हुन्छ । देशका हरेक परिवर्तनका मोडहरूमा कांग्रेसले निर्णायक नेतृत्व गरेको छ । एउटा अर्को जीवित सत्य र यथार्थता त के हो भने कांग्रेसले नचाहेको भए अझ खास गरी नेता गिरिजाप्रसाद कोइरालाले आफ्नो सारा राजनीतिक जीवन दाउँमा राखेर निर्णय नलिएको भने अहिलेको गणतन्त्र देख्न अझै कैयौँ पुस्ता कुर्नुपर्ने पनि हुन सक्थ्यो । त्यो त्यसैले भयो किनकि गिरिजाप्रसादको राजनीतिक जीवन महामानव बिपीको दीक्षा थियो, कुनै राजा रजौटाको श्राप होइन ।
यस कारण हामी छाती ठोकेरै भन्न सक्छौँ– बिपी राजावादी होइनन्...। हो, उनै बिपीको स्मृति दिवस गत साउन ६ गते मनाइयो । हामीले कति र कसरी सम्झियौँ बिपीलाई आत्म मनन गरौँ । बिपी एउटा त्यस्तो नाम हो, जो नेपालको इतिहासमा सधैँ अजर अनि अमर भएर बाँचिरहेको हुन्छ र बाँचिरहने छ ।
आज हामी जुन राजनीतिक उद्देश्यको यात्राको दौरमा छौँ त्यसको गन्तव्य त्यो बेलै तय गरिसक्नुभएको थियो– प्रजातान्त्रिक समाजवाद । जसको बाटोमा नेपालका सारा राजनीतिक दल लम्किरहेका छन् । गोरेटो त्यही हो । मात्रै अहिले हाम्रो राजनीति अलि फराकिलो राजमार्गमा यात्रारत छ, त्यो भनेको पनि समाजवादको त्यही लक्ष्य पछ्याउन हो । बिपीलाई आधारभूत मानवीय मूल्य भनेको समानतामा आधारित सिद्धान्त हो र यो प्रजातान्त्रिक पद्धति र समाजवादबाट हासिल हुन्छ भन्ने दृढ विश्वास थियो । बिपीको यही दृढता आज नेपाली राजनीतिको एउटा मार्ग सिद्धान्त बनेको छ ।
बिपीले कोरेको समाजवादको रेखा अहिलेका कम्युनिस्ट पार्टीले समाएको कोरा सिद्धान्तको अनन्त आयतन होइन, जो एक अभीष्ट मात्रै हो । बिपीले भन्नुभएको समाजवाद भनेको जनताको जीवन हो । उनीहरूले हरेक दिन बाँच्ने जीवनशैलीको स्तरोन्नति नै समाजवादको धरातल हो । त्यही धरातल जहाँ लाखौँ करोडौँ जनताको जीवन पद्धति गाँसिएको हुन्छ । बिपीले सधैँ भन्नुहुन्थ्यो ‘हरेक घरमा हल गोरु होऊन्, हरेक घरमा दुहुनो गाई (भैँसी) होओस्...।’ यो नेपालीको वास्तविक जीवनशैली हो ।
राजनीतिक जीवनका करिब १५ वर्ष बिपीले जेलमै बिताउनुभयो । देशनिकाला भएको कोइराला परिवार प्रवासमै रहँदा जन्मिनुभएका बिपी कोइरालाले २००७ देखि २०१७ सालसम्म १० वर्ष र २०३३ देखि २०३९ सालसम्मको छ वर्ष गरी जम्मा १६ वर्ष मात्रै देशभित्र खुला जीवन बिताउन पाउनुभयो । जेल होस् या निर्वासन बिपीले हरपल राजनीतिक जीवन नै बाँच्नुभयो । जनताका अधिकारका लागि शासकसँग जीवनभरि लडिरहनुभयो ।
२०१५ सालमा पहिलो पटक नेपालमा आम निर्वाचन भयो । कांग्रेस ठुलो राजनीतिक दल बन्यो अनि बिपी कोइराला पहिलो जननिर्वाचित प्रधानमन्त्री हुनुभयो । झन्डै १८ महिने उहाँको प्रधानमन्त्रीत्वकाल प्रजातन्त्रका लागि स्वर्णकाल पनि मानिन्छ । २००७ सालको क्रान्तिपछि नेपाली कांग्रेसलले अभ्यास गरेको यो छोटो सत्ताभ्यास थियो । देशको आधुनिकीकरण अनि विकासको एउटा प्रस्थानविन्दु मात्रै थिएन, बरु त्यो प्रस्ट दृष्टिकोण र दूरदृष्टिपूर्ण राजनीतिको एउटा सुरुवात पनि थियो । जहाँ समाजवादको मौलिकीकरण अनि सिद्धान्तको राजनीतिको गर्भ रचना थियो । त्यो नै बिपी चिनाउने एउटा विम्ब बनेको छ, नेपाली राजनीतिमा । देशको कार्यकारी नेतृत्वकर्ता भएर उहाँले नेतृत्व गर्नुभएको करिब १८ महिनामै पनि देशको एउटा भविष्यरेखा कोरिएको थियो । बिपीले छोडेका तिनै पदचापको बीजारोपण हो– नेपाली कांग्रेस ।
त्यो बेला कांग्रेसले अख्तियार गरेका धेरै नीति कांग्रेसको गर्भसिद्धान्त अर्थात् समाजवादी दर्शनकै विम्ब थिए । त्यसअघि वीरगन्जमा सम्पन्न कांग्रेसको छैटौँ महाधिवेशनले प्रजातान्त्रिक समाजवादको सिद्धान्तलाई पार्टीको मूल सिद्धान्तका रूपमा प्राणप्रतिष्ठा गरेको थियो । यही महाधिवेशनमा बिपीले प्रस्तुत गरेको समाजवादी समाज निर्माणका लागि राष्ट्रिय योजना समिति निर्माण गर्नेलगायत विभिन्न १८ वटा प्रस्ताव पारित गरेको थियो ।
‘विकास भनेको केही ठुला घर, होटल, ठुला सडक, मोटरगाडी, हवाईजहाज र अझ केही औद्योगिक उत्पादन वृद्धिका तथ्याङ्क पनि होइनन् भन्ने मलाई लाग्छ । विकास भनेको के हो भन्ने प्रश्नका साथै विकास कसका लागि हो भन्ने प्रश्नसमेत सोचेर मात्र हामीले त्यसको परिभाषा गर्न सकिन्छ’ बिपीले भन्नुभएको छ, “मैले प्रधानमन्त्री छँदा योजना आयोगको मिटिङलाई भनेको थिएँ– तपाईंहरू भित्तामा राजाको तस्बिरसँगै नेपालको गरिब गाउँले किसान आफ्नो झुपडी अगाडि उभिरहेको चित्र पनि राख्नोस् र त्यसको अनुहार हेरेर योजना बनाउनोस् र सोध्नोस्– यस योजनाले त्यो झुपडीमा बस्ने किसानलाई के लाभ दिन सक्छ ? म आज पनि त्यही प्रश्न सोध्दै छु ।”
कुनै बेला कम्युनिस्टको विश्वव्यापी रूपमै जगजगी थियो । कम्युनिस्टले जन्माएको गर्भनारा ‘साम्यवाद’ को अभीष्टले विश्वभरि नै उथलपुथल थियो । कम्युनिस्ट आन्दोलनले नेपाललाई पनि नछोएको होइन तर बिपीको ‘मेलमिलाप’ को सिद्धान्तले ती सबैलाई एउटै मालामा गोलबद्ध गरिदियो । त्यसबाट नेपालको कम्युनिस्ट आन्दोलन पनि जडसूत्रवादी वा रूढिवादी हुन पाएन । बिपीको त्यही दर्शन हो आजका कम्युनिस्टले अपनाएको ‘समाजवादी’ बाटो । समाजवादको त्यही गर्भसिद्धान्तबाट जन्मिएको कांग्रेसले आज हिँडिरहेको बाटोले कहाँ पु¥याउने हो स्वयम् आजका अधिकांश कांग्रेसी नेतालाई पनि कुनै भेउ छैन ।
त्यति बेला बिपीले भन्नुभए जस्तै आजको नेपाली समाजलाई समृद्धिको लक्ष्यसम्म पु¥याउनका लागि नेपाली कांग्रेसले नै ‘समाजवादी’ आन्दोलनको नेतृत्व गर्नै पर्छ तर त्यसका लागि कांग्रेसको नेतृत्व आफैँमा कस्तो छ भन्ने प्रश्न रहन्छ । बिपीका नारा र समाजवादको मन्त्र पढेर अनि कोरा अक्षरमा बिपीको नाम पुकारेर उहाँले देख्नुभएको सपना र उहाँले हाम्रो काँधमाथि छोडेर जानुभएको लक्ष्यको भारीलाई हामीले गन्तव्यसम्म कहिल्यै पु¥याउन सक्दैनौँ । महामानव बिपीप्रति हार्दिक श्रद्धासुमन !