“दाइको घर कहाँ हो रे ?”
“भक्तपुर ।”
“म पहिले भक्तपुरमै बसेको थिएँ । मलाई भक्तपुरका धेरै ठाउँ थाहा छ । तपाईंको घर भक्तपुरमा कुन ठाउँमा हो ?”
“दुवाकोट ।”
“म सानोठिमीमा दुई/तीन वर्ष बसेको थिएँ, त्यतै काम गरेर । दुवाकोट थाहा रहेनछ मलाई ।”
मलाई त लाग्थ्यो, उमेरसँगै मान्छेले सम्झना शक्ति गुमाउँछन् तर ऊ त जवान २५ बर्से (मेरो अनुमान) केटो कसरी उसले बिर्सिन सक्छ पुराना संवादका कम्तीमा पनि केही अंश । उसले गरेका प्रश्न पनि उही हुन् र मेरा जवाफ पनि उही तर हाम्रो त्यो तेस्रो संवाद थियो ।
ऊ दोहाको मुग्लिना (उम्घुलिना) को एउटा माडबारीको क्याफेमा काम गथ्र्यो । कामको हिसाबले ऊ भान्से अर्थात् कुक हो । भित्र भान्सामा काम गर्ने भए पनि उसले मेरो उपस्थिति खोइ कसरी थाहा पाउँथ्यो, तुरुन्तै मेरोअगाडि हाजिर हुन्थ्यो । हात मिलाउँथ्यो र सुरु गरिहाल्थ्यो संवाद । प्रश्न उही, उत्तर पनि उही । उसले चौथो पटकको संवाद सुरु गर्नेबित्तिकै मैले पहिलो तीन संवादको सम्झना दिलाएपछि उसले ती प्रश्न र उत्तरको सिलसिला सधैँलाई बन्द ग¥यो । अब नयाँ संवाद सामान्यतया हालखबरको सोधपुछमै सीमित हुन थाल्यो ।
कहिलेकाहीँ म एक्लै पस्छु, त्यो क्याफेमा त कहिलकाहीँ मेरो साथमा मीनबहादुर खत्रीजी पनि हुन्छन् । सामान्यतया हामी सप्ताहान्तको बिहान वा साँझको पदयात्रा सकेपछि एक/एक कप सुलेमानी (कालो चिया) पिउँदै एकआपसमा गफिन पस्छौँ । कहिलेकाहीँ ब्रेकफास्टमा दक्षिण इन्डियन खाना डोसा खानका लागि पनि पस्ने गर्छौं ।
केरलावाला वा माडबारीको साझेदारीमा सञ्चालित क्याफे हो त्यो । मैले देखेका माडबारीहरूको एउटा विशेषता के हो भने तिनीहरू निकै ठुलै सङ्ख्याको साझेदारका बिच पनि व्यापार व्यवसाय गर्छन् । त्यस्ता धेरै व्यवसाय देखेँ मैले कतारमा जुन माडबारी मिलेर संयुक्त रूपमा सञ्चालन गरेका थिए । मैले त्यस्तो क्षमता अरू समुदायका मान्छेमा देखिनँ । नेपालीको त झनै गाह्रो । सुरुमा मिलिहाले पनि लामो समयसम्म टिकेको देखिँदैन । साझेदारीमा चलिहाले पनि साझेदारबिच स्वस्थ सम्बन्ध लामो समय नटिकेको मैले देखेको थिएँ । मिलेर लामो समयसम्म सँगै व्यवसाय गरेको अपवाद नहोला भन्ने चाहिँ हैन ।
उचाइको हिसाबले होचो कदको भए पनि अनुहारले त्यो केटोको उमेरको उचाइ कम छैन भन्ने जनाउ दिन्थ्यो । माया लाग्थ्यो, त्यो केटाको । म सोच्थेँ कहिलेकाहीँ कि त्यत्रो सानो बच्चो कुन दुःखले परदेसिएको होला भनेर । यद्यपि कुरा गर्दा भने ऊ कुनै वयस्कभन्दा कम थिएन । कुरैले त ठुलाठुला गुड्डी हाँक्थ्यो । उसमाथि मम र चाउमिन बनाएर नेपाली ग्राहक तान्ने हिसाबले उसलाई भित्र्याएका माडबारी उसलाई महìवपूर्ण कामदारका रूपमा मान्थे भन्ने मेरो बुझाइ थियो । त्यसैले पनि उसमा एक प्रकारको फुर्ती देख्थेँ म । वास्तवमा ऊ त्यो क्याफेको कुनै खानाको विशेषज्ञ त थियो नै ।
“शुक्रबारको घुमाइ छैन भाइ ? कर्नेसतिर झरेनौ ?” म कहिलेकाहीँ शुक्रबार उसलाई काममै देखेपछि सोध्थेँ ।
“छैन, छुट्टी नै छैन दाइ । छुट्टी नै दिँदैनन् यिनीहरूले ।” ऊ जवाफ दिन्थ्यो थोरै असन्तुष्टि मिसाएर ।
“अरू दिन दिन्छ होला छुट्टी सट्टा बिदाका रूपमा ?”
“दिँदैन ।”
“ओभरटाइम दिन्छ होला ?”
“दिँदैन, केही पनि दिँदैन, शुद्ध तलब मात्रै हो ।”
“तलब त समयमै दिन्छ होला नि ?”
“त्यो त दिन्छ, समयमै दिन्छ । कुनै महिना पनि ढिला गर्दैन ।” उसको जवाफ ।
शून्य लागत, हप्तामा छ दिन दैनिक साढे आठ घण्टा काम गर्नुपर्ने, तलब कम्तीमा यति भनेर वैदेशिक रोजगारीसँग सम्बन्धित संस्था र तिनका सञ्चालकले जति सुगारटाइ रटे पनि भुइँ यथार्थ फरक देखिन्छ । कम्तीमा पनि कतारमा त्यहाँको नियम अनुसार रोजगारदाताले नै कामदार लैजाँदाको खर्च बेहोर्नु पर्छ । कामदार लैजाँदाको खर्च भन्नाले भिसा शुल्क, हवाई टिकट आदि पर्छ । ठुला र प्रतिष्ठित संस्थाले सबै खर्च आफैँ बेहोर्छन् । उनीहरूले बदमासी गर्दैनन् तर साना व्यवसायी जस्तै कि सामान्य क्याफे, वर्कसप, सैलुन र बकाला जस्ता व्यावसायीले यस प्रकारको खर्च बेहोर्ने सम्भावना ज्यादै कम हुन्छ । उनीहरूले बेहोरे पनि नेपालबाट पठाउने वा कतारबाट झिकाउने सडके दलालले आफैँ हजम गर्छन् भन्ने सुनिन्छ । त्यो भाइ भन्थ्यो कि उसको नजिकको नातेदारले पैसा लिएर पठाएको हो रे उसलाई । डेढ दुई लाख जति खर्च भएको थियो भनेर बताउँथ्यो उसले । ऊ कुनै म्यानपावर एजेन्सीको विज्ञापनमार्फत पसेको थिएन, कतार । उसले एकमुष्ट रकम बुझायो आफन्तलाई र बाँकी काम उसकै आफन्तले ग¥यो म्यानपावर एजेन्सीमार्फत भन्ने मेरो बुझाइ थियो ।
“कति दिन्छ तलब ?” पहिलो पटकको भेटमा मैले सोधेथेँ ।
“तेह्र सय ।”
“के त्यति नै हो सम्झौता भएको ?”
“भन्न त अठार सय हुन्छ तलब, त्यसमाथि ओभरटाइम पनि दिन्छ भन्थ्यो तर दिएन नि !” हल्का असन्तुष्टि जाहेर
गरेथ्यो उसले ।
“भनेसी महिनाको ५० हजार रुपियाँ पूरै बच्छ नि ?”
मेरो जिज्ञासा ।
“अलि बच्दैन ।” उसको जवाफ ।
“टन्न खानु, ज्यान बनाउनु भाइ । स्वास्थ्य आफ्नो । खाएको बसेको त कटाउँदैन नि ?” मेरो प्रश्न ।
“कटाउँदैन, खानको पनि केही समस्या छैन । खालि इन्टरनेटको आफ्नो भागको तिर्नु पर्छ, २०÷२५ रियाल जति पर्छ महिनामा ।” उसको उत्तर ।
“ल ठिक छ, अहिले त्यति नै भए पनि केही छैन, खान बस्न खर्च भएन, तलब पूरै बचाउन सकिन्छ । कामको अनुभव राम्रो भएसी तलब बढाउँछ, बढाएन भने अर्को ठाउँमा जाने बाटो पनि बन्छ ।” म ढाडस दिन्छु ।
“हैन म त दुई वर्षको भिसा सकिनेबित्तिकै फर्किने हो । म जान्छु ।” ऊ जवाफ दिन्छ । मानौँ असन्तुष्टिको खात लाग्न थालिसक्यो ।
“अनि गएर के गर्ने नि नेपालमा ?” मेरो प्रश्न ।
“म थाइल्यान्ड जान्छु । सेटिङ भइसक्यो ।”
“काम के नि ?”
“किचनमै हो, कुक ।”
“ए ल ठिक छ, कामको पक्का छ र राम्रै दाम मिल्छ भने तर थाइल्यान्डमा त भ्यागुता, गँड्यौला, फटेङ्ग्रा सबै बनाउनु पर्छ नि । सक्छौ के ? कि मम चाउमिन नै हो त्यहाँ पनि ?” मैले ठट्यौलो पाराले सोधेथँे ।
“ओहो ! हो र ? छ्या त्यस्तो कुरा त म पकाउन सक्दिनँ । भान्सामा देखेँ भने पनि कसरी काम गर्न सकिएला र ।” उसको अनुहारमा अनौठो प्रतिक्रिया देखियो शब्दहरूसँगै ।
त्यस दिनपछि उसले थाइल्यान्ड जान्छु भनेर कहिल्यै भनेन ।
“अनि तपाईंको कोठा कति टाढा छ ?” एकदिन सोधेथ्यो ।
“नजिकै छ ।”
“कति जना बस्नुहुन्छ कोठामा, कति पर्छ भाडा महिनाको, तलब कति हो, कति बच्छ ?” एकमुष्ट प्रश्नको वर्षा गरेथ्यो उसले ।
मैले म परिवारसँगै बस्छु भन्दा ऊ तीनछक प¥यो । उसले कल्पना पनि गरेको रहेनछ कि वैदेशिक रोजगारीमा निक्लिने नेपालीले परिवार पनि कतार लगेर सँगै बसेको हुन्छ भनेर । उसले सोचेको रहेछ कि सबै नेपाली डेरा बस्ने भनेको एउटै कोठामा धेरै जना गुडुल्किने नै हो ।
हरेक पटक त्यो क्याफेमा जाँदा ऊ आएर म वा हामीसँगै टेबलको एक छेउको मेचमा बसेर दुई/चार कुरा गथ्र्यो । नयाँ कुरा खोतल्थ्यो । ऊ चाहन्थ्यो उसको हामीसँगको संवाद उसको मालिक वर्गले देखोस्, सुनोस् र प्रशंसा गरोस् कि नेपाली दाजुभाइ राम्रो कम्पनीमा काम गर्ने पनि छन् । उ नेपालीभित्रको क्षमता देखाउन खोज्थ्यो । उसको त्यो अन्दाज म बुझ्थेँ । निक्लिँदै गर्दा भनिदिन्थे उसको माडबारी साहुजी वा तिनका पार्टनरलाई “ये भाइ बहुत अच्छा हे, अच्छा काम करता है ।” उसको मालिकमध्ये एउटाले जवाफ दिन्थ्योँ “हा हमको मालुम हे ।”
सम्झौता अनुसार तलब सुविधा नभए पनि ऊ खुसी देखिन्थ्यो । सप्ताहान्तमा छुट्टी नदिए पनि र अतिरिक्त समय काम गरेबापत ओभरटाइम नदिए पनि ऊसँग विद्रोह गर्ने सामथ्र्य थिएन । विद्रोहको कुनै अर्थ पनि थिएन किनकि ऊ कुनै आधिकारिक म्यानपावर एजेन्टबाट आएको पनि थिएन । सडके दलालको सञ्जालबाट पसेथ्यो उ मुगलान जसको कुनै लिखत वा भर्पाई नै हुँदैन ।
म त्यो क्याफेअगाडिको बाटोबाट आउँदा जाँदा त्यो क्याफेमा नपसे पनि बाहिरैबाट ऊसँग हेलो हाई गर्थें जब ऊ देखिन्थ्यो । ऊ निकै खुसी हुन्थ्यो ।
म त देश फर्किसकेँ, ऊ फर्केको छैन । कतार सम्झिँदा त्यहाँ भेटेका केही पात्र सम्झिन्छु । त्यो फुच्चे कुक केटो पनि मेरो मानसपटलमा सधैँ छाइरहने एउटा पात्र हो । मेरो सम्झनाको डायरीमा उसको नाम ‘पुन्टे कुक’ भनेर लेखिएको थियो । सम्बोधन गर्दा भाइ भन्थेँ, त्यसैले मलाई उसको नाम सोध्नुपर्ने खाँचै परेन ।