• ९ साउन २०८२, शुक्रबार

चुरे बस्तीको सिँचाइ कुलो बहुउपयोगी

blog

तल्लो भाँवर सिँचाइ योजनाको पक्की कुलो ।

अमरगढी समाचारदाता

डडेलधुरा, साउन ८ गते । चुरे बस्तीमा पक्की सिँचाइ कुलो निर्माण भएपछि स्थानीयका लागि बहुउपयोगी बनेको छ । भित्रीमधेश क्षेत्र चुरेको आलितालबाट परशुराम नगरपालिका हुँदै महाकाली नदीमा मिसिने रङ्गुन खोलाबाट पक्की कुलो निर्माण गरिएपछि खेतमा सिँचाइसँगै घरपालुवा जनावरलाई पानी खुवाउन र सरसफाइका लागि स्थानीयलाई सहज भएको छ । 

पक्की कुलो निर्माण गरिएपछि आलिताल गाउँपालिका–५ को भाँवर गाउँका ४० बढी घरधुरीको सयौँ रोपनी जमिनमा सहज सिँचाइको पहुँच भएको छ । साथै स्थानीयलाई अन्य कामका लागि पानी उपयोग गर्न सहज भएको स्थानीय गगन रावतले बताउनुभयो ।

जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय डडेलधुराको गत आर्थिक वर्ष २०८१/८२ मा २० लाख रुपियाँ लागतमा सुन्दर नगर तल्लो भावर सिँचाइ योजना निर्माण गरिएको थियो । चुरेको रङ्गुन खोलाबाट करिब ३२० मिटर लामो कुलो निर्माण गरिएको सुन्दरनगर तल्लो भाँवर सिँचाइ योजना उपभोक्ता समितिका अध्यक्षसमेत रहनुभएका रावतले बताउनुभयो । 

पक्की कुलो निर्माण गरिएपछि बेलाबेला ठाउँ ठाउँमा कुलो फुटेर पानी नआउने समस्याबाट मुक्त भएको उहाँले बताउनुभयो । पक्की कुलो निर्माण हुनुअघि यस क्षेत्रमा कच्ची कुलो थियो । कच्ची कुलो हुँदा ठाउँ ठाउँमा फुटेर पानी बग्ने भएकाले रोपाइँको सिजनमा एक जनाको दिनभरको काम कुलोमा पानी मात्रै ल्याउने हुन्थ्यो । 

उहाँले भन्नुभयो, “अहिले पक्की कुलो निर्माण गरिएपछि सो समस्याबाट मुक्त भएका छौँ । कुलोमा पानी निरन्तर आउने भएकाले घरपालुवा जनावरलाई पानी खुवाउनदेखि नुहाइधुवाई, लुगा धुन स्थानीयलाई सहज भएको छ । पक्की कुलो निर्माण गरिएपछि यस वर्ष चाँडै रोपाइँ सकिएको उहाँले बताउनुभयो । मुहानदेखि गाउँसम्म पक्की कुलो निर्माण गरिए पनि खेतसम्म पुगाउन नसकिएकाले अझै बजेट आवश्यक रहेको उहाँको भनाइ छ । जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय डडेलधुराका कार्यालय प्रमुख इन्जिनियर अमरबहादुर पालका अनुसार गत आर्थिक वर्षमा साढे २५ करोड बजेटका सिँचाइ र तटबन्धका गरेर २०६ वटा योजना रहेका थिए । 

यीमध्ये १४० वटा योजना सिँचाइका मात्रै थिए । योजना अनुसार सबै काम सम्झौता भएर सुरु भएको उहाँले बताउनुभयो तर असार मसान्तसम्म पाँच÷छ योजनाको काम पूरा नहुँदा करिब दुई करोड रकम फ्रिज भएको जानकारी उहाँले दिनुभयो ।