• ९ साउन २०८२, शुक्रबार

झ्याप्ले खोलामा पहिरो रोकथामसहित सडक निर्माण तीव्र

blog

अस्मिता पोखरेल 
धादिङबेंसी, साउन ८ गते । 
एक वर्षअघि नागढुङ्गा–मुग्लिङ सडकखण्डअन्तर्गतको झ्याप्ले खोलामा पहिरो खस्दा ३५ जनाको अकालमै ज्यान गुमाउनु परेको थियो । यो दर्दनाक घटना पुनः दोहोरिन नदिन अहिले उक्त क्षेत्रको पहिरो रोकथाम र सडक निर्माण कार्यलाई तीव्रता दिइएको छ ।

स्थानीयको भनाइ अनुसार, त्यहाँ विसं २०५७/०५८ मा पनि ठुलो पहिरो गएको थियो । गत वर्ष लगातार दुई/तीन दिन भएको वर्षाले भिरालो ठाउँमा माटो गलेर पहिरो झरेको भन्ने अनुमान गरिएको छ । नागढुङ्गा–मुग्लिङ सडकको पूर्वीखण्डका योजना प्रमुख केशव ओझाका अनुसार पहिला त्यहाँ लगाइएको टेवा पर्खालमा माइव्रmोपाइल प्रविधिको प्रयोग गरेर काम गरिएको छ । हाल टेवा पर्खालको पुनर्निर्माण, स्वाइल एङ्करिङ र ग्याबिन वालको काम भइरहेको छ । टेवा पर्खाल भत्किएको ठाउँमा पहिरो रोक्न, पर्खाल बलियो बनाउन वा सडक टिकाउनका लागि स्वाइल एनकरेज गर्ने गरी काम भइरहेको छ ।

माटो खसेर सवारीसाधन पुरिएका ठाउँमा लेदो माटो पन्छाएर ग्याबिन पर्खाल निर्माणको काम अन्तिम चरणमा पुगेको छ । अहिले बर्खाको समयमा पनि गर्न मिल्ने काम भएको हुनाले नियमित रूपमा काम भइरहेको योजना प्रमुख ओझाको भनाइ छ । हालको मनसुनको समयमा सडक सञ्चालनमा समस्या नआओस् भनेर तत्कालीन उपाय लागू गरिएको ओझाले जानकारी दिनुभयो ।

झ्याप्ले खोलाको सम्पूर्ण कामका लागि लागत धेरै हुने र अहिले निर्माण भइरहेको ठेक्काबाट सम्भव नहुने हुनाले त्यसको दीर्घकालीन कामपछि अध्ययनबाट प्राप्त भएबमोजिम नै हुने छ । उहाँले भन्नुभयो, “यो तत्कालीन व्यवस्थापनका लागि मात्रै हो, पहिरो व्यवस्थापनको सम्पूर्ण काम अहिले नै गरेको होइन ।”

उक्त सडकखण्डको चारकिलो भन्ने स्थानमा महेश खोलाले गरेको कटान रोक्न टेवा पर्खाल निर्माण गरिएको छ । परेवाभिरमा सुक्खा पहिरोबाट खसेको माटोढुङ्गा सबै पन्छाएर ग्याबिन जाली लाउने काम सम्पन्न भएसकेको छ । उहाँका अनुसार कमेरेभिरको थप अध्ययन गर्ने काम भइरहेको र अध्ययन प्रतिवेदन आइसकेपछि स्रोत पहिचान गरेर काम अगाडि बढाइने छ ।

“नागढुङ्गा पूर्वीखण्ड आयोजनाअन्तर्गत दुई ओटा प्याकेज छन्,” योजना प्रमुख ओझाले भन्नुभयो, “एउटा प्याकेज नागढुङ्गादेखि नौबिसे खण्डसम्म १२.२ किलोमिटर र नौबिसेदेखि मलेखुसम्म ४३.५ किमी छ । कुल ५५ किमीमध्ये हालसम्म २७ किमी पहिलो तहको कालोपत्रे सम्पन्न भएको छ ।”

यस खण्डमा पर्ने १५ वटा पुलमध्ये नौ ओटा पुलमा गाडी चल्न सुरु भइसकेको छ । सडकतर्फ पनि चालु आवसम्म पहिलो तहको कालोपत्रे सबै सक्ने योजना रहेको छ । आयोजनाको कामको समग्रमा हेर्दा ४४ प्रतिशत भौतिक प्रगति देखिएको उहाँले बताउनुभयो । पहिलो प्याकेजको करिब ८४ प्रतिशत र दोस्रो प्याकेजको ४४ प्रतिशत काम भइसकेको छ ।