• ९ साउन २०८२, शुक्रबार

संरक्षण अधिकृतको सम्मानमा छावाको नामकरण

blog

लोकतन्त्रकली र उसले जन्माएको वेदगज छावा । तस्बिर : वसन्त पराजुली

वसन्त पराजुली

खोरसोर (सौराहा), साउन ८ गते । चितवन राष्ट्रिय निकुञ्जमा कार्यरत रहेर हालै निधन हुनुभएका संरक्षण अधिकृत वेदबहादुर खड्काको सम्मानमा नयाँ छावाको नामकरण गरिएकोे छ  । लामो समयसम्म निकुञ्जको संरक्षणका क्षेत्रमा उल्लेखनीय भूमिका निर्वाह गर्नुभएका खड्काको सम्मानमा हात्ती प्रजनन केन्द्र खोरसोर सौराहामा जन्मिएको नयाँ छावाको नाम राखिएको हो । बुधबार धार्मिक विधि अनुसार न्वारन गर्दै छावाको वेदगज नामकरण गरिएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत डा. गणेशप्रसाद पन्तले जानकारी दिनुभयो । 

हात्तीको छावा जन्मिएको १२ औँ दिनमा न्वारन गरिने प्रचलन छ । हात्ती प्रजनन केन्द्रमा जन्मिएका हात्तीको नाम प्रमुख संरक्षण अधिकृत आफैँले राख्ने परम्परा अनुसार बुधबार सो नाम राखिएको हो । प्रमुख संरक्षण अधिकृत डा. पन्तले वेदबहादुर खड्काले निकुञ्जमा कार्यरत रहँदा धेरै जोखिम मोलेर काम गरेकाले उहाँको सम्मानमा हात्तीको छावाको नाम राखिएको जानकारी दिनुभयो । 

“वेदजीको संरक्षणका क्षेत्रमा अतुलनीय योगदान छ,” उहाँले भन्नुभयो । चितवन राष्ट्रिय निकुञ्जका पूर्वप्रमुख संरक्षण अधिकृत कमलजङ कुँवरले पनि खड्का वन्यजन्तु संरक्षणका क्षेत्रमा जिम्मेवारीपूर्ण दायित्व र कर्तव्यप्रति निष्ठावान् भएको बताउनुभयो । “आफ्नो जिम्मेवारी र कर्तव्यप्रति निष्ठावान् संरक्षणकर्मी हो खड्का जी,” उहाँले भन्नुभयो । निकुञ्जमा ‘गोही गोठालो’ का उपनामले चिनिनुहुने खड्काको ब्रेनट्युमरका कारण गत जेठ ११ गते निधन भएको थियो । उहाँको सम्मानमा छावाको नामकरण गरिनु उहाँप्रति न्याय भएको संरक्षणकर्मीले बताएका छन् । 

वेदबहादुरले विसं २०७७ पुस २२ गते अनिवार्य अवकाश लिनुभएको थियो । उहाँ लाङटाङ राष्ट्रिय निकुञ्जबाट सरुवा भएर २०६६ जेठ ५ गतेदेखि चितवनमा कार्यरत हुनुहुन्थ्यो । निकुञ्जमा गिद्ध प्रजनन र गोही प्रजननका क्षेत्रमा उहाँको लामो अनुभव थियो । नयाँ नाम राखिएको वेदगज लोकतन्त्र कलीको तेस्रो सन्तान हो । २२ वर्षीय लोकतन्त्रकलीले आठ वर्षअघि बुधगज र चार वर्षअघि स्वर्णकलीलाई जन्म दिइसकेकी छे । हात्ती प्रजनन केन्द्रमा संरक्षणका क्षेत्रमा योगदान गरेका व्यक्तिका नाममा छावाको नाम राखिएको यो पहिलो भने होइन । तीन वर्षअघि हात्ती चराउने व्रmममा बाघले आक्रमण गरेर निधन भएका हात्ती सुसारे रमेश चौधरीका नाममा रमेशगज, निकुञ्जभित्र तस्करसँगको भिडन्तमा ११ वर्षअघि मारिएका सिनियर गेम स्काउट शेषचन्द्र चौधरीका नाममा शेषचन्द्र गज छावाको नाम राखिएको प्रजनन केन्द्रको विवरणमा उल्लेख छ । सिनियर गेम स्काउट चौधरीको २०७१ असोज ९ गते हत्या गरिएको हो भने हात्ती सुसारे रमेश चौधरीलाई २०७९ वैशाख १६ गते बाघले आक्रमण गरेर मारेको थियो । 

केन्द्रका प्रमुख मनिपुरन चौधरी संरक्षणका क्रममा ज्यान गुमाएका मात्रै नभई यसअघिका प्रमुख संरक्षण अधिकृतका नाममा पनि छावाको नाम राखिएको छ । “हरिभद्र आचार्य चिफसाप (प्रमुख संरक्षण अधिकृत) हुँदा उहाँकै नाममा भद्रगज र दिलबहादुर पुन चिफसाप हुँदा उहाँकै नाममा छावाको नाम दिलगज राखिएको छ,” उहाँले भन्नुभयो । यस्तै दुई वर्षअघि जन्मिएको एउटा छावाको नाम निकुञ्जका वन्यजन्तु चिकित्सक डा. विजयकुमार श्रेष्ठको नाममा विजयगज राखिएको छ । 

हात्ती प्रजनन केन्द्रमा हात्तीले बच्चा जन्माउनुलाई उत्सवका रूपमा लिने गरिन्छ । हात्ती जन्मिएको १२ औँ दिनमा धार्मिक विधि अनुसार न्वारन गरिसकेपछि त्यसको नाम प्रमुख संरक्षण अधिकृतले राख्ने प्रचलन छ । त्यही प्रचलन अनुसार नै बुधबार छावाको नामकरण गरिएको हो । राजतन्त्रकालमा राजाले नै हात्तीको नामकरण गर्ने प्रचलन थियो । पछिल्लो समयमा प्रमुख संरक्षण अधिकृतले नै नाम राख्ने गरिएको छ । हात्तीको नाम राख्दा संरक्षणकर्मीको नामसँगै कुनै दिन विशेष, घटना विशेष वा सर्वसाधारणले राख्ने जस्तो नाम पनि राख्न थालिएको प्रमुख संरक्षण अधिकृत डा. पन्तले जानकारी दिनुभयो । 

भारत, थाल्यान्ड र मेनमारबाट विसं २०४४ सालमा छ वटा मत्ता र १४ वटा ढोई हात्ती ल्याएर प्रजनन केन्द्र स्थापना गरिएको हो । केन्द्रमा पहिलो पटक २०४९ चैतमा बच्चा जन्मिएको थियो । प्रजनन केन्द्र स्थापना भएयता ३९ वटा भाले र २९ वटा पोथी गरी ६८ वटा बच्चा जन्मिसकेका छन् । जन्मिएकामध्ये सात वटाको मृत्यु भएसकेको छ । केन्द्रका अनुसार प्रजनन केन्द्रमा रहेका ढोईलाई जङ्गली हात्तीको सहवासबाट गर्भवती गराइन्छ ।