• ८ साउन २०८२, बिहिबार

इमानदार कार्यकर्तालाई न्याय हुन सकेन

blog

पोखरा समाचारदाता

पोखरा, साउन ७ गते । नेपाली कांग्रेसका संस्थापक नेता बिपी कोइरालाको ४३ औैँ स्मृति दिवस पोखरामा विभिन्न कार्यक्रम गरी मनाइएको छ । नेपाली कांग्रेस गण्डकी प्रदेशद्वारा आयोजित कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका नेता एवं पूर्वअर्थमन्त्री महेश आचार्यले पार्टीमा बिपीको विचार कमजोरी बन्दै जाँदा गुट र उपगुट बलियो भई व्यक्तिवादी चरित्र हाबी भएको बताउनुभएको छ । उहाँले गुटको दास भएर बस्नु बिपी विचारको विपरीत हुनु हो भन्दै पार्टीभित्र निष्ठा र नैतिकता कमजोर भएको, त्यागी र इमानदार कार्यकर्तामा न्याय हुन नसकेको स्पष्ट पार्नुभयो ।

सत्तामा बस्नेले राज्यकोषको दुरुपयोग गरी भ्रष्टाचारमा डुबेको उल्लेख गर्दै उहाँले भ्रष्टाचार गरेको कुराकानीको अडियो टेप नै बाहिर आउँदा भ्रष्टाचारी मन्त्रीलाई कारबाही नहुनु दुर्भाग्य भएको बताउनुभयो । 

बिपीले शक्ति पृथकीकरणको सिद्धान्तको मर्म अहिलेका सरकारले लिन नसकेको आचार्यले बताउनुभयो । राष्ट्रिय एकताको आधार नै प्रजातन्त्र रहेकाले प्रजातन्त्र कमजोर भए राष्ट्र कमजोर हुन्छ भन्ने बिपीको मूल मन्त्रलाई  सदा स्मरण गर्नुपर्ने उहाँको भनाइ थियो । 

त्यसै गरी नेपाली कांग्रेसका केन्द्रीय सदस्य शारदा पौडेलले बिपीको समाजवादलाई न्याय गर्न नसकिएको बताउनुभयो । पूर्वमन्त्री यज्ञबहादुर थापाले बिपीको विचार कमजोर भएमा कांग्रेस मात्र नभई मुलुक नै कमजोर हुने विचार व्यक्त गर्नुभयो । नेपाली कांग्रेस कास्कीका अध्यक्ष किशोरदत्त बरालले पार्टी अनुशासनमा नरहनेलाई केन्द्रले कारबाही गरेको जिकिर गर्नुभयो । 

त्यसै गरी पार्टीका पूर्वअध्यक्ष कृष्ण केसीले पार्टी नेतृत्व संयम र जिम्मेवार हुँदै विचलित नभई कार्य गर्नुपर्नेमा जोड दिनुभयो । आफूलाई पार्टीले कारबाही गरे पनि आफू विचलित नभई जनतामाझ कांग्रेसका उद्देश्य लिएर अगाडि बढेको बताउनुभयो । नेपाली कांग्रेसका गण्डकी प्रदेशका कार्यवाहक सभापति कल्पना तिवारीले बिपी कुनै व्यक्ति नभई विचार भएको बताउनुभयो । त्यसै गरी प्राध्यापक डा. कुस्माकर न्यौपानेले बिपीको राजनीतिमा मात्र नभई साहित्यमा पनि राष्ट्र, राष्ट्रियता र प्रजातन्त्र समाजवाद झल्किएको बताउनुभयो । त्यसै गरी बिपी स्मृतिका अवसरमा  नेपाली कांग्रेस पोखरा महानगर समितिद्वारा आयोजित रक्तदान कार्यक्रममा ६० युनिटभन्दा बढी रगत सङ्कलन गरिएको छ । 

यसैबिच तनहुँ समाचारदाताका अनुसार जननायक बिपी कोइरालाले देखाएको मार्ग अवलम्बन नगर्दा पार्टी कमजोर भएकाले सच्चिएर हिँड्नुपर्नेमा वक्ताहरूले जोड दिएका छन्  । ४३ औँ बिपी स्मृति दिवसका अवसरमा व्यास नगरपालिका–३, दमौलीस्थित बिपी पार्कमा मङ्गलबार  गरिएको बिरुवा गोडमेल तथा अन्तर्क्रिया कार्यक्रमका वक्ताले बिपीको मार्ग भुलेर व्यक्तिगत स्वार्थमा लाग्दा पार्टी कमजोर भएको बताउनुभयो । 

नेपाली कांग्रेस तनहुँका सभापति तथा गण्डकी प्रदेश सभा सदस्य जितप्रकाश आलेले बिपीले देखाएको मार्ग अहिले उत्तिकै सान्दर्भिक रहेको उल्लेख गर्दै उहाँले देखाएको मार्गमा हिँडे मात्रै पार्टी बलियो हुने बताउनुभयो ।