रङ्गेली समाचारदाता
विराटनगर, जेठ ३ गते । सञ्जय दर्नाल मेरुदण्ड पक्षघातका कारण अपाङ्गता भएका हुनुहुन्छ । विराटनगरमा घर भएपछि दैनिक जीविकोपार्जनको विकल्प खोज्नु उहाँको बाध्यता थियो । पछिल्लो १६ वर्षयता दर्नालको दैनिकी सीमापार भारतीय बजार जोगबनी पुग्ने अनि ट्राइसाइकलमा सामान ल्याएर विराटनगरका पसलमा बिक्री गर्ने बन्यो ।
खाद्यान्नसहित माग अनुसारको सामान ल्याएर बिक्री गर्दा दैनिक एक हजार रुपियाँसम्म कमाइ हुन्थ्यो । शारीरिक अपाङ्गता भएका व्यक्तिका लागि भौतिक सीमितता पनि उत्तिकै जटिल कुरा हुन्थ्यो । सीमापारबाट सामान ल्याउने कार्य कानुनी थिएन, गैरकानुनी काम गर्न दिन सरकार सधैँ तयार भएन ।
दर्नालसँगै सामान ल्याउने १७ जनाको समूह थियो । यीमध्ये सबै स्पाइनल कर्ड इन्जुरी अपाङ्गता अर्थात् मेरुदण्ड पक्षघात नै भएका छन् । सामान ल्याउन झमेला बेहोर्नु परेपछि दर्नाल नेतृत्वको यो १७ जनाको समूहले अहिले उद्योग दर्ता गराएर उद्योगी बन्ने लक्ष्य लियो । साथी फुटवेयर घरेलु उद्योग स्थापना गरेसँगै अब त्यसबाट कसरी स्वरोजगार बन्ने र आयआर्जनमा जोडिने भन्ने योजना बनाइयो ।
स्थानीय प्रशासनले सीमाक्षेत्रमा कडाइ गरेपछि उहाँहरू जिल्ला प्रशासन कार्यालयमा धर्ना दिनुभयो तर अवैध व्यापारलाई कार्यालयले साथ दिने कुरै भएन । तर उहाँहरूलाई सिप विकासमार्फत उद्यममा लगाउने योजना बन्यो । त्यही योजनालाई सार्थक बनाउन विराटनगर महानगरपालिकाले १० लाख ९५ हजार रुपियाँ बजेट उपलब्ध गराएर मेरुदण्ड पक्षघात भएका २० नागरिकलाई शुक्रबारदेखि एकमहिने सिपमूलक तालिम दिन सुरु गरेको छ । २० जनामध्ये विराटनगरकै स्थानीय रहेका १७ जनाले साथी फुट वेयर उद्योग दर्तासमेत गर्नुभएको छ ।
राष्ट्रिय अपाङ्ग महासङ्घ कोशीका व्यवस्थापक सरोज नेपालीका अनुसार यो तालिममा विराटनगर महानगरपालिका उपप्रमुख शिल्पा निराला कार्कीले नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएको हो । नेपालीका अनुसार यो एकमहिने तालिमकै क्रममा अपाङ्गता भएका व्यक्तिले स्थापना गरेको उद्योगको उद्घाटन हुने छ । त्यसपछि उद्योगलाई आवश्यक पर्ने बिउ पुँजीसमेत स्थानीय सरकारले उपलब्ध गराउने आश्वासन दिएको छ ।
उदघाटन सत्रमा राष्ट्रिय अपाङ्ग महासङ्घका सचिव गोपालमान थापाले फुटवेयर उद्योग स्थापना गर्ने चाहना राखेपछि यसको प्रक्रिया बढाइएको बताउनुहुन्छ । उहाँका अनुसार स्थानीय प्रशासनले सामान ल्याउन नदिने भनिसकेपछि विकल्पमा कसरी लैजाने भन्ने बहसको निष्कर्ष नै जुत्ताचप्पल उद्योग स्थापना गर्ने निकालिएको थियो । त्यसका आधारमा स्थानीय सरकारले नेतृत्वदायी भूमिका निर्वाह गरिदिएको हो । यो उद्योगले उत्पादन गरेका जुत्ताचप्पललाई निश्चित संस्था वा विद्यालय केन्द्रीत गर्नेतर्फ विशेष जोड दिइने छ ।
साथी फुटवेयर उद्योगका अध्यक्ष दर्नालका अनुसार घरेलुमा दर्ता गरिएको उद्योगको सञ्चालक समितिमा सात सदस्य राखिएको छ । १७ जनाकै एकीकृत प्रयासमा उद्योग सञ्चालन गर्न विराटनगर–१४ मा घर भाडामा लिएर त्यहीँ तालिम सुरु गरिएको हो । स्थानीय सरकार, प्रदेश सरकारसँगै यहाँका केही उद्योगी व्यवसायीका संस्थासँग समेत सहयोग मागेर मेसिन तथा अन्य आवश्यक वस्तु जुटाउने अपेक्षा उहाँहरूको छ । दर्नालले प्रारम्भिक चरणमा कच्चालगायत केही मेसिन सहयोग गरिदिन मनकारी दातासँग अनुरोधसमेत गर्नुभयो । “हामी अब माग्ने पनि छैनौँ, सामान अवैध रूपमा ल्याएर बेच्ने पनि छैनौँ, उद्योगी बनेर आफ्नो उत्पादन नै बिक्री गर्ने छौँ,” दर्नालले आफ्नो अठोट सुनाउनुभयो ।