कोलम्बो, साउन ६ गते । श्रीलङ्काका प्रहरी प्रमुखलाई बर्खास्त गर्ने तयारी गरिएको छ । देशको संसद्का सभामुखले मङ्गलबार महाभियोग सुनुवाइमा आपराधिक नेटवर्कको नेतृत्व गरेकोमा दोषी पाइएपछि प्रहरी प्रमुखलाई बर्खास्त गर्ने तयारी गरिएको घोषणा गर्नुभयो ।
महानिरीक्षक देशबन्धु तेन्नाकोन मुलुकको इतिहासमा यसको ८५ हजार सदस्यीय बलियो प्रहरी बलको नेतृत्व गर्न अयोग्य मानिएपछि महाभियोग लाग्ने पहिलो प्रहरी प्रमुख बन्नुहुनेछ । संसद्ले नियुक्त गरेको तीन सदस्यीय समितिले सर्वसम्मतिले तेन्नाकोनलाई उहाँमाथि लगाइएका आरोपहरूमा दोषी ठहर गरेको सभामुख जगत विक्रमरत्नेले बताउनुभयो ।
“यो हाम्रो संवैधानिक यात्राको ऐतिहासिक क्षण हो, इतिहासमा पहिलो पटक यस्तो समितिले प्रहरी महानिरीक्षकलाई हटाउन सिफारिस गर्दै आफ्नो निष्कर्ष पेश गरेको छ”, उहाँले भन्नुभयो । महाभियोगको मतदान निर्धारण गरिनेछ र २२५ सदस्यीय संसदमा यो पारित हुने अपेक्षा गरिएको छ । संसदमा राष्ट्रपति अनुर कुमारा दिसानायकेको सरकारसँग दुई तिहाइ बहुमत छ ।
श्रीलङ्काको सर्वोच्च अदालतले हिरासतमा रहेका एक संदिग्धलाई पीडितको गुप्ताङ्गमा मेन्थल बाम लगाएर यातना दिएको फैसला गरे पनि तेन्नाकोनलाई सन् २०२३ नोभेम्बरमा प्रहरी प्रमुख नियुक्त गरिएको थियो । उहाँमाथि सन् २०२३ मा एउटा दुर्भाग्यपूर्ण छापा मारेको आरोप पनि लगाइएको छ । उक्त छापामा तटीय रिसोर्ट सहर वेलिगामामा प्रतिद्वन्द्वी प्रहरी एकाइहरूबीच बन्दुक युद्ध सुरु गरायो र एक अधिकारीको मृत्यु भयो ।
श्रीलङ्काको सर्वोच्च अदालतले सन् २०२४ जुलाईमा पूर्वराष्ट्रपति रनिल विक्रमसिङ्घेले तेन्नाकोनको नियुक्तिको वैधानिकतामाथि प्रश्न उठाउने छुट्टै मुद्दाको नतिजाको पर्खाइमा उहाँलाई निलम्बन गरेको थियो । राज्यका एक अभियोजकले यस वर्ष अदालतलाई तेन्नाकोन ‘आपराधिक सञ्जालको प्रमुख’ भएको बताएका थिए ।
तेन्नाकोनविरुद्धको यो पछिल्लो कदम स्वतन्त्र राष्ट्रिय प्रहरी आयोगले प्रहरी बलका दोस्रो नम्बरका अधिकारी वरिष्ठ उप महानिरीक्षक निलन्था जयवर्दनेलाई बर्खास्त गरेको केही दिनपछि आएको छ । सन् २०१९ को इस्टर सन्डेको बम विस्फोटमा २७९ जनाको ज्यान गएकोमा लापरवाही गरेको आरोपमा जयवर्दनेलाई बर्खास्त गरिएको थियो । रासस/एएफपी