• ७ जेठ २०८१, सोमबार

बाइसाइकल लेनसम्बन्धी कुनै कानुन छैन : चिरीबाबु महर्जन

blog

तस्बिर ः कविता थापा

गोरखापत्र अनलाइन

ललितपुर, असार ६ गते । ललितपुर महानगरपालिका प्रमुख चिरीबाबु महर्जनले साइकल लेन सञ्चालनसम्बन्धमा संघीय र प्रादेशिक सरकारसँग कुनै कानुन नभएको बताउनुभएको छ । 

सोमबार सवारी दुर्घटना न्यूनीकरण र ट्राफिक व्यवस्थापनमा महानगरको भूमिका विषयक आयोजित कार्यक्रममा उहाँले साइकल लेनसम्बन्धी स्थानीय कानुन बनाएको तर प्रचलित कुन कानुनमा टेकेर काम गर्ने भन्ने समस्या पैदा भएको बताउनुभयो ।

“नगरसभाबाट पारित गरेर कार्यान्वयन गर्नुपर्नेमा कुन प्रचलित कानुनमा टेकेर काम गर्ने भन्ने छ । साइकल लेन सम्बन्धी कुनै कानुन छैन । संघीय कानुनको दफाहरुमा बाँझिएको हकमा स्वतः खारेज हुन्छ ।”, महर्जनले भन्नुभयो ।

ट्राफिक जाम न्यूनीकरणका लागि महानगरले तत्काल गर्नसक्ने कामहरुबारे जानकारी दिनुहुँदै उहाँले बागमती पुलदेखि जावलाखेलसम्म २१ औं शताब्दीको पछिल्लो प्रविधिमा आधारित ट्राफिक लाइन राखिने बताउनुभयो । 

अस्पताल र विद्यालय क्षेत्रको जेब्रा क्रसिङ र संकेत बत्ती राखिने, सडक पेटीमा अवरोध हुने गरी निर्माण सामग्री राख्न नदिने, सडकमा फोहोर फाल्न नदिनेलगायतका कार्यक्रम अघि बढाइने उहाँले उल्लेख गर्नुभयो ।

फोहोर संकलन र सार्वजनिक यातायातका साधन सञ्चालनको निश्चित समय तोकिने उहाँको भनाइ छ । प्रमुख महर्जनले भन्नुभयो, “लगनखेल बसपार्क सानो भएकोले एउटा, दुइटा सवारी साधन हुने व्यवस्था मिलाइने, बिहान र बेलुका छुट्ने समय निश्चित गर्ने । कुनै बेला सातै बजे बस नहुने, कुनै बेला बेलुकासम्म पाउने यसकोे भरपर्दो व्यवस्थान हुनुपर्छ ।” 

दीगो विकासको लक्ष्यसहित सन् २०४० सम्ममा पेट्रोल, डिजेलबाट सञ्चालन हुने सवारी साधनलाई लगभग विस्थापित गर्ने योजनामा साथ रहेको भन्नुहँुदै उहाँले महानगरमा भूगोल नै थोरै र जनसङ्ख्या धेरै भएकाले पनि यो आवश्यक रहेको बताउनुभयो । “मुख्य–मुख्य सडकमा बत्ती जडानको काम त्यो भइरहेको छ, जिल्ला प्रहरी कार्यालय जवलाखेलसँग समझदारीपत्रमा हस्ताक्षर गरी सीसीटिभी जडानका लागि दुई करोड बजेटको व्यवस्थापनको कार्यान्वयन प्रक्रियामा छ ।”, उहाँले बताउनुभयो ।

विद्यालयहरुमा ट्राफिक शिक्षासम्बन्धी अभिमुखीकरण कार्यक्रमलाई थप तीव्रता दिइने उहाँको भनाइ छ ।