बाबुराम कार्की
वराहक्षेत्र, साउन ५ गते । तराईको जिल्लामध्ये अन्नभण्डार मानिने सुनसरीमा साउनको पहिलो सातासम्म ६८ प्रतिशत धान रोपाइँ भएको छ । असार बित्दासमेत नियमित वर्षा नहुँदा पैनी र बोरिङ मेशिनको सहायताले ढिलो रोपाइँ भएको कृषि ज्ञानकेन्द्र सुनसरीले जनाएको छ । गत वर्ष साउनको पहिलो सातासम्म ८२ प्रतिशत रोपाइँ भएकोमा यस वर्ष तुलनात्मक कम भएको कृषि ज्ञानकेन्द्र सुनसरीले जनाएको छ ।
यस वर्ष वर्षामा पानी नपर्दा सुनसरीको धेरै स्थानमा बोरिङ मेशिन र नहरको पानीबाट रोपाइँ गरिएको जनाइएको छ । तराईको अन्नभण्डार भनेर चिनिने तराईका जिल्लामा यस वर्ष रोपाइँ ढिलो भएको हो ।
किसानहरुले बोरिङ मेशिनको सहायताले धान रोप्न सुरु गरे पनि गतवर्षको तुलनामा कम रोपाइँ भएको कृषि ज्ञान केन्द्र सुनसरीका सूचना अधिकृत प्रवीणलाल श्रेष्ठले बताउनुभयो ।
सुनसरी मोरङ सिँचाइ आयोजनाको चतरा मूल नहरबाट आवश्यकताअनुसार शाखा नहरमा पानी नआउँदा रोपाइँ हुन नसकेको वराहक्षेत्र १० का किसान गोपाल चापागाईकोे भनाइ छ ।
ज्ञान केन्द्र सुनसरीका सूचना अधिकृत श्रेष्ठका अनुसार साउनको पहिलो हप्तासम्म पानी नपर्दा कम रोपाइँ भएको छ । जिल्लाका अधिकांश स्थानमा आकाशे पानीको भरमा रोपाइँ हुने हुँदा समयमै पानी नपर्दा किसानले धान रोप्न नपाएको उहाँको बुझाइ छ ।
असारमा खडेरी परेपछि किसानले बोरिङ मेशिनबाट पानी पटाएर धान रोप्न थाले पनि आकाशबाट पानी नपर्दा रोपेको धान खेतमै धाँजा फाट्न थालेको रामधुनीका कृषक पुष्प विष्टले बताउनुभयो । उहाँले भन्नुभयो, “आकाशको पानी नआइ पटाएको पानीले मात्र नहुँदो रहेछ । जति पानी पटाए पनि जमिनले सोसिहाल्छ ।”
अन्नको भण्डार मानिने तराईमा यतिबेला किसानका ब्याडमै धानको बीउ छ । खाद्यान्नको प्रमुख बालीका रुपमा लिइने धान किसानले समयमा रोप्न नपाउँदा धानको जातअनुसार उत्पादनमा समेत कमी आउने किसानहरु बताउँछन् ।
पानी जम्ने गहिरा खेतमा किसानले जेठमै रोपाइँ गरे पनि पानी नहुँदा धान गाँजिन नसकेको प्रकाशपुरका कृषक केशव राईले बताउनुभयो । सुनसरीमा खेतीयोग्य क्षेत्रफल ८१ हजार ७५६ हेक्टर भए पनि ४८ हजार नौ हेक्टर क्षेत्रफलमा मात्र धान खेती हुँदैआएको छ ।
तराईको सिञ्चित क्षेत्रमा चैते २, हर्दिनाथ १ र तरहरा १ जातका बीउहरू सिफारिस गरिएको छ । यी बीउहरू छिटो पाक्ने र सुख्खा सहन नसक्ने भएकाले सिञ्चित क्षेत्रमा लगाउन सकिने बताइएको छ ।
त्यस्तै, डुबानमा पर्ने पूर्वी तराईका क्षेत्रमा स्वर्ण सब १, सावाँ मंसुली सब १, गंगासागर १, गंगासागर २, तेह्राङ सब १, लोकनाथ ५०५, गोरखनाथ ५०९ लगायतका बीउहरू लगाउने कृषि ज्ञान केन्द्र सुनसरीका सूचना अधिकृत श्रेष्ठको भनाइ छ । उहाँका अनुसार भित्री तराई र नदी क्षेत्रका फाँटहरूमा भने सुख्खा धान २, सुख्खा धान ३ राम धान, हर्दिनाथ ३ लगायतका धान सिफारिस गरिएको छ ।
पूर्वी तथा मध्य तराईमा ढिलो पाक्ने जातको लल्का बासमती जातको धान लगाउँदै आएका छन् ।