• २ साउन २०८२, शुक्रबार

पश्चिम नवलपरासीमा लम्पीस्किन सङ्क्रमण फैलिँदै

blog

नवलपरासी,  साउन १ गते ।  बर्दघाट सुस्ता पश्चिम नवलपरासीमा ३४ पशुचौपायामा लम्पीस्किनको सङ्क्रमण देखिएको छ । पछिल्लो समय खोप नलगाएका पशुमा सङ्क्रमण देखिन थालेकामे हो । 

खोप नलगाएका पाडापाडी, बाच्छाबाच्छीमा लम्पीस्किनको सङ्क्रमण देखापरेकाले सङ्क्रमण फैलिने जोखिम बढेको नवलपरासी भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका कार्यालय प्रमुख श्रावणकुमार चौधरीले बताउनुभयो । उहाँका अनुसार सुनवल, बर्दघाट, सुस्ता, प्रतापपुर र रामग्राममा लम्पीस्किन फैलिएको हो ।

सङ्क्रमणग्रस्त क्षेत्रमा नियमित उपचार र निरीक्षण भइरहेको पशु सेवा विज्ञ केन्द्रका डा. विभूति सिंहले जानकारी दिनुभयो । यो रोगका कारण मर्ने पशुको सङ्ख्या कम भए पनि दूध उत्पादन घटेपछि किसान चिन्तित बनेकाे उहाँको भनाइ छ ।

लम्पीस्किनको सङ्क्रमण पछिल्लो समय मुलुकभर देखापरेको बताउँदै उहाँले नवलपरासीमा गत असारदेखि लम्पीस्किनको सङ्क्रमण देखापर्न थालेको जानकारी दिनुभयो । उहाँका अनुसार पहिलो पटक बर्दघाटमा देखिएको लम्पीस्किनको सङ्क्रमण अहिले जिल्लाका पाँच वटै स्थानीय तहमा फैलिएको छ ।

“लम्पीस्किन लागेका गाईभैँसीमा ज्वरो आउने र दानापानी कम खाने, दूध उत्पादन घट्ने, खुट्टा तथा जोर्नी सुन्निने, नाक, मुख वरपर घाउ हुने, छालामा सानो गोलो गिर्खा देखिन सक्ने र गिर्खा फुटेर घाउ बनेमा औँसा पर्नसक्ने हुन्छ”, प्रमुख डा. चौधरीले भन्नुभयो ।

विसं २०७७ असार १० गते मोरङको सुन्दरहरैंचा नगरपालिका–११ का गाईमा लम्पीस्किनको लक्षण देखापरेको थियो । केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशाला त्रिपुरेश्वरमा ‘मलिकुलर’ विधिबाट परीक्षण गर्दा २०७७ साउन १२ गते लम्पीस्किन पुष्टि भएको हो ।

केन्द्रीय रिफरल पशु चिकित्सालय त्रिपुरेश्वरको तथ्याङ्क अनुसार ७६ जिल्लामा लम्पीस्किन फैलिएको छ भने यस रोगबाट पाँच लाख ५५ हजार पशु सङ्क्रमित भएका छन् तीमध्ये २१ हजार पशुको मृत्यु भएको छ । रासस