जन्मदिन मनाउने चलन अचेल गाउँ सहर सबैतिर देखिन्छ । वर्ष दिन पुगेका बाबुनानीदेखि वृद्ध हजुरबा हजुरआमाको समेत जन्मदिन मनाउने वा मनाइदिने गरिन्छ । पश्चिमाहरू सौर पात्रो अनुसार तारिखमा जन्मदिन मनाउँछन् । नेपाल र भारत जस्ता सनातन संस्कृति भएको समाजमा चन्द्रमाको पात्रो अनुसार तिथिमा मनाइन्छ । सौर पात्रो अनुसार गते वा तारिखमा मनाउने चलन पनि छ । नेपालमा विभिन्न संस्कृति अनुसार जन्मदिन मनाउने आफ्नै तरिका छन् । सनातन संस्कृतिमा अष्टचिरञ्जीवी र षष्ठिकादेवीको पूजा गरी दीर्घजीवनको कामना गर्ने परम्परा छ । यस क्रममा पूर्ण कलश र दीप स्थापना गरिन्छ । भगवान् गणेशको आराधना गरिन्छ ।
जीवनमा आउन सक्ने सबै विघ्न बाधा हटोस् भन्ने कामनाले गणेशजीको पूजा गरिन्छ । पूर्णकलश स्थापनाको अर्थ हो, जीवन सबै पक्षले पूर्ण होस्, अपूर्ण कतै नरहोस् । दीप प्रज्वलन गर्नु सधैँ उज्यालोतर्फ (तमसोमा ज्योतिर्गमय) लागिरहने कामना गर्नु हो ।
अष्टचिरञ्जीवीबाट सुकर्म गरी स्वस्थ र दीर्घजीवन पाउने प्रेरणा मिल्छ । षष्ठिकादेवीले सधैँ हाम्रो रक्षा गर्नुहुन्छ भन्ने मान्यता छ । जन्मदिनमा गुड र तिल मिसिएको दुध अष्टचिरञ्जीवी र षष्ठिकादेवीलाई अर्पण गर्ने र प्रसाद खाने विधि छ । यसैबेला आफ्नो जन्मका बेला रहेका तिथि, नक्षत्र, योग र करण आदिको पनि सम्झना गरिन्छ । विभिन्न जाति समुदायमा पनि जन्मदिन मनाउने छुट्टाछुट्टै विधि र चलन छन् । मुख्य रूपमा यो आमाबाबुप्रति कृतज्ञता दर्शाउने दिन हो । उहाँहरूबाट आशीर्वाद लिने, आफू अघिल्लो वर्षमा गरेका कामको समीक्षा गर्र्ने र भएका कमीकमजोरी हटाउने प्रतिबद्धता जनाउने जन्मदिनको मुख्य पक्ष हो ।
बढ्दो आधुनिकतासँगै अचेल जन्मदिन उत्सवकै रूपमा मनाउने क्रम बढेको छ । साथीभाइ जम्मा हुने, केक काट्ने, भोज (पार्टी) गर्ने क्रम बढ्दो छ । जन्मदिनमा दुःखी असहायलाई सहयोग गर्ने, मान्यजनबाट आशीर्वाद लिने, बोटबिरुवा रोप्ने जस्ता पक्ष भने हराउँदै गएको छ । सबैभन्दा चिन्ताको कुरा त अचेल जन्मोत्सवका नाममा तडकभडक देखाउने क्रम बढेको छ । पुगिसरी आएकाले त तडकभडक देखाउलान्, सीमित आम्दानी भएकाले के गर्ने ? त्यसैले भाइबहिनीले जन्मदिन मनाउँदै गर्दा आफ्ना अभिभावकको आर्थिक अवस्था कस्तो छ, त्यसको पनि विचार गर्नु पर्छ । धेरै आम्दानी हुने अभिभावकले पनि आफ्ना बाबुनानीलाई सामान्य किसिमले जन्मदिन मनाउन प्रेरणा दिनु पर्छ । तडकभडक र देखासिकीले समाजमा चोरीडकैती र भ्रष्टाचार जस्ता अनैतिक कार्यलाई समेत बढावा दिन्छ भन्ने पक्षलाई पनि ध्यान दिनु पर्छ ।
अर्को कुरा पश्चिमाको सिको गर्दै केक काट्ने चलनले हाम्रा मौलिक संस्कृति चपेटामा परेको छ । दीप बालेर उज्यालो पार्नुपर्ने संस्कृति भएका हाम्रा लागि निभाउने संस्कृति अनुकरणीय हुँदै होइनन् । संस्कृति मात्र नभई स्वास्थ्यका दृष्टिले समेत यो चलन उपयुक्त छैन । चिकित्सकका अनुसार केकमा प्रयोग हुने स्वस्थकर हुँदैनन् । उत्सव मनाउने क्रममा बालिने बत्ती र माथिबाट छरिने रसायनले केक अझै अस्वस्थकर बन्छ । त्यो तथ्यलाई बुझेर कतिपय पश्चिमा देशमा केक काटे पनि नखाने चलन आइसकेको छ । हामीले चाहिँ केकको साटो घरमै स्वस्थकर वस्तु बनाएर–खाएर–खुवाएर जन्मदिन मनाउन सकिन्छ । जन्मदिनलाई उत्सवका रूपमा मनाउनु नराम्रो त होइन तर उत्सव नै मनाउने गरी गएको वर्ष मैले के गरेँ र आगामी वर्ष के गर्दै छु भन्ने पक्षको अनुभूति चाहिँ हुनै पर्छ । जन्मेर परिवार, समाज र देशलाई के दिन सकेँ र अब के दिन सक्छु भन्ने भावना आउनु पर्छ तब मात्र जन्मदिन मनाउनुको सार्थकता हुन्छ ।