सिराज खान
नेपालगन्ज, असार २६ गते । बाँकेको कोहलपुरबाट हराएका बागेश्वरी इंग्लिस मिडियम स्कुलमा अध्ययनरत तीन जना बालक तीन दिनपछि बाँकेकै बैजनाथ गाउँपालिकाबाट भेटिएका छन् ।
ती बालकहरु भारतको हरिद्वार पुगेर फर्किएपछि बैजनाथ गौरीडाँडा भन्ने ठाउँमा भेटिएको बागेश्वरी इंग्लिस मिडियम स्कुलका प्रधानाध्यापक विष्णु केसीले बताउनुभयो ।
उहाँले ती बालकहरु विद्यालयबाट नहराएको जनाउँदै घर पुगेर पोशाक परिवर्तन गरी भागेको बताउनुभयो । कक्षा ८ मा अध्ययनरत १५ वर्षीय निरज थापा, १३ वर्षीय पवननाथ योगी र १२ वर्षीय रोबिन्द्र खड्का गत असार २२ गते अपराह्नदेखि बेपत्ता भएका थिए ।
पवननाथ योगी भन्ने बालकको साइकल भारतको रुपैडिहामा एक हजार रुपियाँमा बिक्री गरेर तीनै जना बालक हरिद्वार घुम्न गएको र त्यहाँबाट फर्किएर आएपछि उनिहरुको एक जना विकास भन्ने साथीको घर गौरीडाँडामा बसेको अवस्थामा फेला परेको विद्यालयका प्रधानाध्यापक केसीको भनाइ छ ।
उहाँले विद्यालयबाट हराएको भनि हल्ला फैलाईएपछि आफुहरु तनाव र चिन्तामा परेकोले निरन्तर खोजी गर्दा बालकहरु भेटिएको बताउनुभयो ।
बुधबार रातिकरिब साढे १२ बजे ती बालकहरुलाई कोहलपुर ईलाका प्रहरी कार्यालयमा पुर्याएर अभिभावक र प्रहरीको जिम्मामा लगाइएको बागेश्वरी इंग्लिस मिडियम स्कुलले जनाएको छ ।
उता, इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख, प्रहरी नायब उपरीक्षक लक्ष्मी खनालले पनि हराएका बालकहरु भेटिएको र अभिभावकको जिम्मा लगाइएको बताउनुभएको छ ।
उहाँले प्रहरीलाई जानकारी हुने वित्तिकै बालकहरुको खोजी कार्य सुरु गरिएको जनाउँदै आफन्त र विद्यालयका शिक्षकहरुले पनि निरन्तर खोजी गर्नुभएको बताउनुभयो ।