गोरखापत्र समाचारदाता
काठमाडौँ, असार २६ गते । प्रधानमन्त्री एवं त्रिभुवन विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीले बुधबार विश्वविद्यालयको उपकुलपतिमा प्राडा दीपक अर्याललाई नियुक्त गर्नुभएको छ ।
नवनियुक्त उपकुलपति प्राडा अर्यालले बुधबार नै पद तथा गोपनीयताको शपथ लिनुभएको छ । प्रधानमन्त्री निवास, बालुवाटारमा भएको शपथ कार्यक्रममा विश्वविद्यालयका कुलपति ओलीसमक्ष प्राडा अर्यालले पद तथा गोपनीयताको शपथ लिनुभएको हो । कार्यक्रममा विश्वविद्यालयका सहकुलपति एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तलगायत सहभागी हुनुहुन्थ्यो ।
काठमाडौँको गोकर्णेश्वर–५, जोरपाटी स्थायी घर भएका प्राडा अर्याल त्रिभुवन विश्वविद्यालय जल तथा मौसम विज्ञान केन्द्रीय विभागमा प्राध्यापक पदमा कार्यरत हुनुहुन्छ । उहाँ विभागको पूर्वप्रमुख पनि हुनुहुन्छ । विसं २०५२ देखि त्रिवि सेवामा रहनुभएका प्राडा अर्याल नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नास्ट) का प्राज्ञसमेत हुनुहुन्छ । उहाँले जलवायु विज्ञानमा स्नातकोत्तर तहमा सर्वोत्कृष्ट भई स्वर्णपदक प्राप्त गर्नुभएको थियो । उहाँले जापानको नागोया विश्वविद्यालयबाट पनि एमएस्सी तथा त्रिभुवन विश्वविद्यालयबाट जलवायु विज्ञानमा विद्यावारिधि उपाधि प्राप्त गर्नुभएको छ । उहाँ चर्चित हास्यव्यङ्ग्यकार भैरव अर्यालका सुपुत्र हुनुहुन्छ ।
यसअघि विश्वविद्यालयको उपकुलपतिका लागि विश्वविद्यालयका सहकुलपतिसमेत रहनुभएका शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्त संयोजक रहेको सिफारिस समितिले तीन जनाको नाम सिफारिस गरेको थियो । सिफारिस समितिले प्राडा अर्यालसहित निमित्त उपकुलपति खड्ग केसी र प्राडा विनिल अर्यालको नाम सिफारिस गरेको थियो । कुलपतिको हैसियतमा तीन जनामध्येबाट प्रधानमन्त्री ओलीले एक जनालाई उपकुलपति नियुक्त गर्नुभएको हो । तत्कालीन उपकुलपति केशरजङ्ग बरालले चैत १५ गते राजीनामा दिएपछि तत्कालीन शिक्षाध्यक्ष रहनुभएका केसीलाई उपकुलपतिको जिम्मेवारी दिइएको थियो ।