• २५ असार २०८२, बुधबार

नदी किनारका बासिन्दालाई अलर्ट माइकिङ

blog

नारायणी नदी किनारमा माइकिङ गर्दै जिल्ला प्रहरी कार्यालय चितवन । तस्बिरः शालिग्राम नेपाल

शालिग्राम नेपाल 

चितवन, असार २५ गते । त्रिशुली तथा कालिगण्डकीको शिरमा वर्षा भएर बाढीको जोखिम हुने भन्दै चितवनमा अलर्ट हुन सर्वसाधारणलाई अनुरोध गरेको छ । 

मङगलबार विहान रसुवा र साँझ मुस्ताङमा आएको बाढीको प्रभाव चितवनमा पर्ने भन्दै नदी तटीय क्षेत्रमा सचेतना फैलाइएको हो । गएराति भारी वर्षा भएको र पानीको मुहान तर्फ पनि वर्षात भएको भन्दै नारायणी नदी किनार तथा यसको आसपासमा माइकिङ गर्दै सर्वसाधारणलाई सचेत पारेको छ । 

जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता रविन्द्र खनालले हामीले हिजोदेखि आज पनि नदी वरपरका स्थानीय बासिन्दालाई सचेत रहन सूचना गरेको जानकारी दिनुभयो । नारायणगढ बजारनजिक रहेको नारायणी नदी किनारमा राखिएका ठेलाका व्यापार, मनोरञ्जनका लागि राखिएको मोटर वोर्ड सबैलाई हटाएर अहिले खाली बनाएको उहाले जानकारी दिनुभयो । 

सर्तकता आपनाएपछि सम्भावित दुर्घटनाबाट बच्न सकिन्छ भन्दै जानकारी गराएको उहाँले बताउनुभयो । जिल्ला प्रशासन कर्यालयले समेत सूचना प्रकाशित गरी सचेत रहन भनेको छ । 

भारी वर्षाका कारण हुन सक्ने बाढी पहिरो र अन्य क्षतिको जोखिम देखिएमा तुरून्त नजिकको सुरक्षा निकाय वा प्रहरी कन्ट्रोल १०० वा जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्रको फोन ९८४४२०८८८८ मा जानकारी गराउन आग्रह गरिएको छ ।

नवलपुरमा पनि सतर्कता

भोटेकोशीमा आएको बाढीको कारण यता नारायणी नदीमा पनि पानीको बहाब बढ्न सक्ने सम्भावना रहेको छ । नारायणी नदीमा पानीको सतह बढ्न सक्ने आशङ्का गरिएसँगै नारायणी नदी तटीय आसपासका बासिन्दालाई उच्च सतर्कता अपनाउन नवलपुर प्रहरीले सूचना प्रसारण तथा माइकिङ गरेर आग्रह गरिएको छ ।

नवलपुर जिल्लाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक यादव ढकालले नवलपुरका नारायणी नदी तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कतामा रहन आग्रह गर्दै गैँडाकोटदेखि त्रिवेणीसम्म माइकिङ गरिएको बताउनुभयो । साथै उहाँले उद्धार टोली तयारी अवस्थामा रहेको जानकारी दिनुभयो ।