मनहरी समाचारदाता
मनहरी (मकवानपुर), असार २२ गते । सीमान्तकृत चेपाङ जातिको जीवनशैलीलाई जीवन्त बनाइराख्नका लागि मकवानपुरको राक्सिराङ गाउँपालिकाले राष्ट्रिय चेपाङ सङ्ग्रहालय स्थापना गर्ने भएको छ । सङ्ग्रहालयका लागि गाउँपालिकाले आफ्नै लगानीमा भवन निर्माण कार्यलाई अन्तिम चरणमा पु-याएको जनाएको छ ।
भवन निर्माण सम्पन्न भएलगत्तै चेपाङ समुदायसँग समन्वय गरी राष्ट्रिय सङ्ग्रहालयका रूपमा सञ्चालन गर्ने तयारी रहेको गाउँपालिका अध्यक्ष राजकुमार मल्लले बताउनुभयो । यसअघि तत्कालीन जिल्ला विकास समितिले राक्सिराङ गाउँपालिका–५, चैनपुरमा सङ्ग्रहालय स्थापना गरे पनि प्रभावकारी भएको थिएन । पाँच करोड ३१ लाख २२ हजार ९५६ रुपियाँ लागत अनुमान गरी २०७८ साल असार १७ गते भवन निर्माणका लागि टेन्डर आह्वान गरी गाउँपालिकाले चेपाङ सङ्ग्रहालयको काम थालेको थियो । ठेक्का प्रव्रिmया सुरु भएको चार वर्षपछि भवन निर्माणको काम सम्पन्न हुन लागेको गाउँपालिकाका योजना प्रमुख चुननारायण श्रेष्ठले बताउनुभयो ।
ठेकेदार कम्पनी बानियाँ सुन्दर जेभीले तीन करोड ६९ लाख सात हजार ९४ रुपियाँमा ठेक्का सदर गरी भवन निर्माण थालेकामा चालु आर्थिक वर्षको असार मसान्तमा काम सम्पन्न हुने गरी काम अघि बढेको योजना प्रमुख श्रेष्ठले बताउनुभयो ।
भवन निर्माण कार्य सकिएपछि चेपाङ सङ्ग्रहालय स्थापनाका लागि चेपाङ जातिका लोप हुँदै गएका परम्परा, जीवनशैली र दैनिक जीविकोपार्जनका लागि उपयोग गरेका सामग्री राखिने गाउँपालिकाले जनाएको छ । गाउँपालिकाका अनुसार सङ्ग्रहालयलाई ‘हेर्ने, खाने र लाने’ मोडलमा विकास गर्न लागिएको छ ।
चेपाङका जाबी, एकपाखे ढ्याङ्ग्रो, माछा मार्ने जाल, जङ्गली जनावरको सिकार गर्दा प्रयोग गरिने हतियारलगायतका सामग्री हेर्नका लागि राखिने तयारी छ । त्यसै गरी चेपाङ समुदायले बाँच्नका लागि उपभोग गरेका गिट्ठा, भ्याकुर, तरुललगायतका खानेकुरासमेत राखेर रेस्टुरेन्ट सञ्चालन गर्ने गरी कार्यविधि निर्माण गरी सङ्ग्रहालय व्यवस्थित गरिने गाउँपालिका अध्यक्ष मल्लले बताउनुभयो ।
त्यसका अलावा चेपाङद्वारा उत्पादित सामग्री र खाद्यान्न बिक्री कक्षसमेत सञ्चालन गरी सङ्ग्रहालयलाई ‘हेर्ने, खाने र लाने’ मोडलमा विकास गर्न लागिएको उहाँको भनाइ छ । “हामी राक्सिराङलाई चेपाङ समुदायको बारेमा जान्ने, अध्ययन गर्ने र बुझ्ने स्रोत केन्द्रका रूपमा विकास गर्न गइरहेका छौँ,” अध्यक्ष मल्लले भन्नुभयो, “चेपाङसँग सम्बन्धित कैयौँ अध्ययन र अनुसन्धान गर्न बाँकी नै छ, ती काम अघि बढाउनुपर्ने छ ।”
सङ्ग्रहालय निर्माण भएपछि चेपाङ जातिका लोप हुँदै गइरहेका वेषभूषा, खानपान, सिकारका उपकरण र पौराणिक कथासमेत जीवित हुने अपेक्षा गरिएको नेपाल चेपाङ सङ्घका केन्द्रीय अध्यक्ष तथा संविधान सभा सदस्य गोविन्दराम चेपाङले बताउनुभयो । मकवानपुर, चितवन, धादिङ, गोरखा, तनहुँ र लमजुङमा विशेष गरी चेपाङ समुदायको बसोवास रहेको छ । जनगणना २०७८ अनुसार देशभर चेपाङको जनसङ्ख्या ८४ हजार ३६८ रहेको छ ।