• ६ जेठ २०८१, आइतबार

सिरहाका त्रिसट्ठी बस्ती जोखिममा

blog

सन्तोष सुवेदी 

सिरहा, असार ४ गते । मनसुन सक्रिय हुँदा वर्षा र बाढीले सिरहाका ६३ बस्ती जोखिममा पर्नसक्ने देखिएको छ ।  जिल्ला विपत् व्यवस्थापन समितिले तयार गरेको मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना प्रतिवेदनले कमला, बलान नदीका साथै स्थानीय खोलाबाट आउने बाढी र वर्षाको पानीका कारण सिरहाका ६३ स्थान डुबानको जोखिममा पर्न सक्ने आकलन गरिएको छ । 

समितिको प्रतिवेदनका अनुसार, जोखिममा पर्ने बस्तीहरूमा पटहेर्वा, खैरटोका, लचकाटोल, गम्हरिया, फूूलबरिया, खर्सलवा, मानपुर, रमौल, बसबिट्टा, कठकोलवा, महराटोल, पासमान टोल, सारस्वर, मुसहरीटोल, मन्दिरटोल, हटियाटोल, चतरी, दोनवारी, इटारी, प्रसाही, चिकना, निर्दना, भोक्राहा, टीकापुर, बन्दीपुर, खैराटोल, सुन्दरपुर छन् । 

यसैगरी बेतहा, मिर्चैया, भागलपुर, प्रेमनगर, मरेवा, वलवाटोल, लहान, सोनमती मझौरा, गाढा, सखुवानन्कारकट्टी, परवानीपुर, इटर्वा, सिमराहा, सखुवा, तिलेबोना, भगवानपुर, लालपुर, कल्याणपुर, सिनुरिया, मरिकटोल, हरकट्टी, कुण्डलपुर, मालटोल, बननियाँ, तुलसीपुर, औरही, करहर्वा, जमुवा, नवटोली इटाटार, कमलपुर, देउरीपट्टी, मुक्सार, लालपुर, असनपुर, चन्द्रलालपुर, चन्द्रउदयपुर सम्भावित जोखिममा छन् ।

डुबानमा पर्ने बस्तीहरूमा सिरहा नगरपालिकाका १६ स्थान, कल्याणपुर नगरपालिकाका सात स्थान, कर्जन्हा नगरपालिकाका १० स्थान, लहान नगरपालिकाका तीन स्थान, सखुवानन्कारकट्टी गाउँपालिकाका छ स्थान, भगवानपुर गाउँपालिकाका पाँच स्थान, औरही गाउँपालिकाका ११ स्थान र गोलबजार नगरपालिकाका पाँच स्थान रहेका छन् । सिरहा, कल्याणपुर र कर्जन्हा नगरपालिकाको बस्तीहरूलाई कमला नदीले, लहान नगरपालिका, सखुवानन्कारकट्टी र भगवानपुर गाउँपालिकालाई बलान नदीले र औरही गाउँपालिका तथा गोलबजार नगरपालिकालाई गागन खोलाले बर्सेनि दुःख दिने गरेका छन् ।

“जोखिममा परेका सबै गाउँको अवलोकन गरेर सम्भावित सबै उपायको खोजी गरी स्थानीय बासिन्दालाई बाढीको प्रकोपबाट जोगिन पूर्व सतर्कतासम्बन्धि सचेतना चलाइसकेका छांैँ,” जिल्ला विपत् व्यवस्थापन समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी लालबाबु कवारीले भन्नुभयो– यसका साथै परिआएको खण्डमा जल उत्पन्न प्रकोप व्यवस्थापन शाखा, कमला सिँचाइ, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा स्थानीय तह आफूसँग भएको जनशक्ति र सामग्रीका साथ उद्धारका लागि तयार छन् । 

उहाँले दैवी प्रकोप व्यवस्थापनका लागि क्रियाशील सरकारी तथा गैरसरकारी विभिन्न सरोकारवाला निकायमा प्रकोप भएको अवस्थामा त्यसको व्यवस्थापन तथा उद्धारका लागि विपत् व्यवस्थापन कोष गठन गर्ने निर्णय भएको जानकारी दिंँदै भन्नुभयो । अहिलेसम्म सिरहामा त्यस्तो अवस्था देखिएको छैन तर सम्भावित मनसुनी वर्षा र खोला, नदीमा बढ्ने पानीको बहावले खतरा उत्पन्न गराउन सक्दैन भन्ने ग्यारेन्टी छैन, त्यसको लागि हामी तयारी अवस्थामा रहने प्रयासमा छौँ ।

नेपाल रेडक्रस सोसाइटी सिरहाका सभापति राजदेव यादवका अनुसार जिल्लाका ४० वटा गाउँहरू डुबानमा पर्ने जोखिम क्षेत्रका रूपमा लिइएको छ । त्यसमध्ये सीमापारि लदनियादेखि दरहियासम्मको दुई किलोमिटरको तटबन्ध र कमला, मैनावती, गागन तथा बलान नदीमा भरपर्दो तटबन्ध नबनाइएकोले १९ वटा गाउँ उच्च जोखिममा रहेका छन् ।

रेडक्रस सभापति यादवका अनुसार, सिरहामा वर्षा र बाढीको कारण पछिल्लो पाँच वर्षमा २४ जनाको मृत्यु भइसकेको छ भने गत वर्ष मात्र बाढीको कारण १२ हजार ५२५ घरपरिवार विस्थापित भएका थिए ।